मुक्ति पौडेल
मेचीनगर – जबजब चुनाव आउँछ चिया मजदुरका आँगनमा सबै थोक आउँछ , सपनाको उरुङ्ग आउँछ तर चुनाव सकिन्छ सबै सपना फुङ्ग उडेर विलाउँछ । यो समस्या आजको मात्र होइन जसरी उनीहरुको पसिना चियाका बुटामा बगेको छ उसरी नै सपनाहरु आउँछन् र जान्छन् । यो आम नेपाली जनताहरुकै एउटा प्रतिनिधि कथा पनि हो अझ दयनीय छ चिया मजदुरहरुको जिन्दगीमा । उनीहरुको जिन्दगीको यात्रा चियाका बुटाहरुसँगै बितेको छ । बिहानदेखि बेलुकी सम्म जे छन् आफ्ना मनका कथा चिया मजदुरहरुको सुनिदिने एउटा साथी जस्तै भएकाछन् तिनै चियाका बुटाहरु मात्र ।कति हिउँदा र वर्खाहरु उनीहरुले चियाका बुटासँग बिताए अब त हेक्का पनि हुन छाडेको छ तर सामान्य गास, बास र कपासको समस्याले भने उनीहरुलाई सधै चिथोरी रहेको छ । झापा जिल्ला चियाको उर्बर भूमीनै भएर होला यहाँ दर्जनौँ साना र ठूला चिया उद्योग र बगानहरुछन् । मजदुर नेता भरत राईका अनुसार झापामा साना र ठूला गरेर करिब पचास हजार श्रमिकहरु चियामा जोडिएकाछन् । हजारौँको हेक्टरमा चिया खेती गरिएको छ । राईका अनुसार झापामा टोकला, बर्ने , गिरीबन्धु, न्यूगिरी बन्धु, वंसल, बुधकरण, बाह्दशी लगायतका साना र ठूला चिया बगान र उद्योगहरु संचानलमाछन् तर चिया क्षेत्रमा कार्यरत मजदुरहरुको अवस्था भने हिजोदेखि आज सम्म पनि जस्ताको तस्तै रहेको देखिन्छ ।
लामो समयदेखि बगानमा कार्यरत मजदुरहरुका समस्याहरु उपर कसैले चासो नराखेको उनीहरुको दुःखेसो रहेको छ । चुनावका बेलामा मात्र भोट बैंक संझने दलका उम्मेद्वार र नेताहरु चुनाव पछि मजदुरलाई बिर्सने गरेको उनीहरु बताउँछन् ।
गास, बास, कपास , शिक्षा र स्वास्थ्यका विषयमा उनीहरु प्रति मालिक र सरकारले चासो नै नराखेको मजदुरहरु बताउँछन् । कृषिजन्य वस्तुको सूचिमा राखिएको चिया र चिया क्षेत्रमा काम गर्ने श्रमिकहरुका विषयमा राजनीतिकदल र राज्यले उपेक्षा गरेको मजदुर नेता भरत राईको कथन छ ।
झापामा मात्रै चिया क्षेत्रमा कार्यरत चिया श्रमिकहरुको संख्या पचास हजार छ उनीहरुको बाच्ने आधार भनेकै आफ्नो श्रम हो तर मालिक र राज्यले आफुहरुको पसिनाप्रति जसरी चासो राख्नु पर्ने हो त्यस्तो नभएको राई बताउँछन् ।