
बद्री अर्याल
चितवन- झारफुकको बहानामा महिलामाथि यौन शोषण गर्ने एक ५६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

रत्ननगर नगरपालिका–९ स्थित आफ्नै घरमा झारफुक गर्ने भन्दै आएका दुई महिलालाई यौन शोषण गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार, ती पुरुषविरुद्ध १७ वर्षीया बालिका र २९ वर्षीया महिलाले उजुरी दिएका थिए । विदेश जान उपयुक्त समयबारे बुझ्न गएकी कक्षा १२ मा अध्ययनरत किशोरीलाई ‘मसान लागेको छ, हटाउनुपर्छ’ भन्दै कोठाभित्र लगेका थिए । सोही क्रममा उनले यौन शोषण गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् ।
अर्को घटना अनुसार, श्रीमानसँग विवाद भइरहेकी २९ वर्षीया महिला झारफुक गराउन पुगेकी थिइन् । उनलाई पनि कोठामा लगी, गंगाजल छर्केझैं गर्दै मन्त्र वाचन गर्ने बहानामा ललाइफकाइ यौन शोषण गरेको उजुरी प्राप्त भएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पीडितहरूको उजुरीका आधारमा मुद्दा अगाडि बढाउने तयारी गरिरहेको छ ।नेपाल टिभी अनलाइनबाट ।