२०८१ बैशाख १३ बिहीबार

टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत र पुनःस्थापनाका लागि नेपाल सरकारले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने

 

टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत र पुनःस्थापनाका लागि नेपाल सरकारले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले सहयोग पठाउने निर्णय गरेको हो ।

बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताएका छन ।

नेपालमा भुकम्प जाँदा टर्कीले सहयोग गरेको सम्झना गर्दै दाहालले टर्कीको दुःखमा पनि सहयोग गर्नुपर्ने उल्लेख गरे । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित उपस्थित थिए ।

यसैविच परराष्ट्र मन्त्री विमला राई पौड्यालले आज टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी त्यहाँ गएको शक्तिशाली भुकम्पमा परी ज्यान गुमाउनेप्रति समवेदना प्रकट गरेकी छन । दिउँसो भएको टेलिफोन वार्तामा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएकी हुन ।

टेलिफोन वार्तामा परराष्ट्र मन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीहरूलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रह गरेको मन्त्रालयले जनाएको छ । नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तिमा नेपाल सरकारको सदैव साथ रहने प्रतिबद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले व्यक्त गरेकी छन् ।।

 

२०७९ माघ २५, बुधबार प्रकाशित 1 Minute 256 Views

ताजा समाचार