
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दावी गरेका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने बताएका हुन । महामन्त्री थापाले विगतका राष्ट्रपतिहरुको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरु रहेको बताए ।

महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर काँग्रेसलाई भएकाले राष्ट्रपति आफूहरु पक्षको बनाउन सबै प्रयास गर्ने बताए । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भईरहेको टिप्पणी गरे ।
नेता पौडेलले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दावी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । नेकपा एकीकृत समाजवादी कि सचिव रामकुमारी झाँक्रीले प्रतिनिधिसभा बैठकमा ‘जात्रा’ चलिरहेको बताइन ।
सचिव झाक्रीले सत्तामा रहेका मन्त्रीहरूले नै वर्तमान व्यवस्था र संविधानमाथि विष वमन गरिरहेको गुनासो गरेकी हुन । राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरे पनि ‘डेलिभरी’मा खरो उत्रिन नसक्दा व्यवस्थामाथि विष वमन गर्ने ठाउँ भेटिएको उनको भनाइ छ ।