
केशवराज पौडेल
काठमाडौँ, चैत १७ गते । गर्मी चढेपछि जाडोमा बेँसी झारिएका भेडा र चौँरी लेक चढाइन्छन् । चरन क्षेत्र खोज्दै भेडीगोठ अर्को ठाउँमा सारिन्छ । भेडा, च्याङ्ग्रा र चौँरीभन्दा फरक उडेर कैयौँ किलोमिटर टाढा पुग्ने मौरीलाई पनि एक ठाउँबाट अर्को ठाउँमा चरनका लागि लग्ने गरिन्छ । एक ठाउँमा फूल फुल्न छाडेपछि अर्को ठाउँमा लगेर मौरीलाई राखिन्छ ।

काभ्रेपलाञ्चोकका मौरी दाङसम्म र प्युठानका मौरी चितवनसम्म लगेर चराउने गरिन्छ । मौरीपालनको पहिलो आवश्यकता नै फूलबाट प्राप्त हुने पुष्परस तथा कुट अर्थात् चरनको उपलब्धता भएकाले मौरीलाई चरनमा लैजाने गरिएको हो । केही दिन लगाएर छ सय किलोमिटर टाढासम्म मौरी लिएर जाने गरिएको छ । सर्लाहीको मौरी सुर्खेत, रोल्पा, रुकुम, अर्घाखाँचीसम्म चराउन लगिन्छ । चितवनमा धेरै जिल्लाका मौरी चराउन ल्याइन्छ भने चितवनका मौरी पनि अन्य जिल्लामा चराउन लगिन्छ ।
व्यावसायिक मौरीपालन गरिरहेका काभ्रेपलाञ्चोक, बनेपाका सुवासचन्द्र सुनुवारले खाना उपलब्ध नहुने समयमा मौरीले गोला गृहत्याग गर्ने भएकाले मौरीलाई चरन क्षेत्रमा लैजान आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँका अनुसार बनेपाबाट मौरी चराउन दाङसम्म लैजाने गरिएको छ । खानाको उपलब्धताका आधारमा मौरीपालक किसानहरूले पात्रो नै बनाएर एक ठाउँबाट अर्को ठाउँमा मौरी चराउन लिएर जान्छन् । त्यस्तो पात्रोले कुन समयमा कुन क्षेत्रमा कुन बिरुबामा फूल फुल्छ भन्ने निर्धारण गर्ने गर्दछ । त्यसरी वर्षको आठदेखि नौ महिनासम्म नै एक ठाउँबाट अर्को ठाउँसम्म मौरीलाई चराउन लगिन्छ । सुनुवारले मौसम र ठाउँ अनुसार जति धेरै चरन उपलब्ध हुन्छ, त्यति नै धेरै मह उत्पादन हुने भएकाले व्यावसायिक मौरीपालनमा चरनको ठुलो महत्व हुने उल्लेख गर्नुभयो ।
गोरखामा व्यावसायिक रूपमा मौरीपालन गरिरहनुभएका सुमन खड्काले स्थानीय जातको मौरीलाई चरन क्षेत्र आवश्यक नभए पनि मेरिफेरा जातको मौरीलाई चरन क्षेत्र आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले व्यावसायिक रूपमा मौरी पाल्नेले पात्रो बनाउनुपर्ने र धेरै उत्पादन गर्न पनि चरन क्षेत्रको आवश्यकता पर्ने उल्लेख गर्नुभयो ।
मौरीपालक किसान हेमराज देवकोटाले मौरीका छाउरा हुर्काउन र मह उत्पादन वृद्धिका लागि चरन पात्रो आवश्यक रहेको बताउनुभयो । उहाँ कुनै स्थान विशेषमा वर्षभरि उपलब्ध हुने मौरी चरनको लेखाजोखा राख्ने र आहार व्यवस्था गर्नका लागि एउटा पात्रो तयार गर्न आवश्यक रहेको औँल्याउनुहुन्छ । पात्रोमा त्यस क्षेत्रमा कुन बोटबिरुवाबाट मौरीले खाना सङ्कलन गर्छ, कुन बोटबिरुवा कहिले फुल्छ र फूल फुल्ने अवधि कति समय रहन्छ, उक्त फूलबाट मौरीले पुष्परस वा पराग के सङ्कलन गर्छ भन्ने पूर्ण जानकारी आवश्यक पर्ने उहाँले उल्लेख गर्नुभयो ।
सरकारी वन, सामुदायिक वन, व्यक्तिगत वनबाट मौरीले प्राप्त गर्ने रस, कुट भएको वनस्पतिलाई जङ्गली चरन मानिने देवकोटाले स्पष्ट पार्नुभयो । यो चरन स्थायी प्रकृतिको, दीर्घकालसम्म रहने भएकाले चरनपात्रो बनाउँदा सोही अनुसार योजना बनाउनुपर्ने उहाँको भनाइ छ । तराईमा सिसौ, रुदिलो, मसला, कडिपत्ता, पड्के, जामुन, पहाडमा चिउरी, चिलाउने, अङ्गेरी, चौतारी, हाडेबयर, पैयुँका स्रोतबाट मौरीले रस सङ्कलन गर्छन् ।
खेतबारीमा उब्जाइने कृषिजन्य बालीनाली, फलफूल, तरकारीबाट पनि मौरीलाई पुष्परस, कुट उपलब्ध हुन्छ, जसलाई कृषिजन्य चरन भनिन्छ । कृषिजन्य चरन छोटो समयमा नै मौरीलाई उपलब्ध गराउन सकिन्छ । तोरी, सस्र्युं, मकै, फापर, सूर्यमुखीले तत्कालै रस र कुट उपलब्ध हुन्छ । नेपालको चरन क्षमता १० लाख गोलाका लागि पर्याप्त भएको बताइएको छ । कृषि तथ्याङ्क अनुसार यहाँ मौरीगोला सङ्ख्या तीन लाखको हाराहारीमा छ ।
मौरीगोला स्थानान्तरण गर्ने सन्दर्भमा र मौरीखर्क स्थापनाका लागि चरन नक्साङ्कन र चरन क्षमताको भूमिका धेरै महत्वपूर्ण हुन्छ । त्यसैले व्यावसायिक मौरी पालकले नेपालभरकै मौरी चरन नक्साङ्कन गरी रेकर्ड राख्न जरुरी रहेको मौरीपालक हेमराज देवकोटाले उल्लेख गर्नुभयो ।
त्यस क्षेत्रमा उपलब्ध चरनमा कति सङ्ख्यामा मौरी वा मौरीगोला राख्ने या मौरीखर्क स्थापना गर्ने वा कति दिन, हप्ता, या महिना मौरी राख्ने, सो कुरा त्यहाँको चरन क्षमतामा भर पर्छ ।गोरखापत्र दैनिकमा खबर छ ।