
महेन्द्र विष्ट
विराटनगर, असार २२ गते । सुनसरी र मोरङको ६८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने सुनसरी–मोरङ सिँचाइ आयोजना बढ्दो सहरीकरणसँगै अतिक्रमित हुँदै आएको छ ।

नहरको सरसफाइ र रेखदेखका लागि निर्माण गरिएको सर्भिस रोडमा स्थानीयवासीले जथभाबीमा संरचना निर्माण गर्दा आयोजना नै अतिक्रमणमा परेको आयोजना प्रमुख मनोहरकुमार साहले बताउनुभयो ।
नहरको दुवैतर्फको सर्भिस रोड मिचेर कालोपत्रे गर्ने, नहर किनारमा वृक्षरोपण गर्ने, बिजुलीका पोल गाड्ने, ठाउँ ठाउँमा स्थानीयको आवश्यकता अनुसार पुल निर्माण गर्ने जस्ता कार्यले आयोजना बिस्तारै अतिक्रमण हुँदै गएको प्रमुख साहको भनाइ छ ।
“स्थानीय सरकारले नहरको सर्भिस रोडमा कालोपत्रे गर्ने र बिजुलीका पोल गाड्ने कामले सिँचाइ आयोजना बढी अतिक्रमण हुँदै गएको हो, यसले भविष्यमा समस्या आउँछ,” उहाँले भन्नुभयो । आयोजनाको विराटनगर शाखाको निमुवादेखि रानी आँखा अस्पतालसम्मको क्षेत्रमा विभिन्न स्थानमा नहरको दुवै साइडमा कालोपत्रे गर्ने, बिजुलीका पुल गड्ने र ठाउँ ठाउँमा पुल बनाउने काम भएको छ ।
नहर क्षेत्रमा गरिएका यस्ता विकासनिर्माणका कामले भविष्यमा नहरको सरसफाइमा समस्या आउने आयोजना प्राविधिक बताउँछन् । नहरको दुवै किनारमा कालोपत्रे गरेपछि नहरबाट निकालिएको सिल्ट (नहरभित्रको माटो) राख्ने ठाउँ नभएको आयोजनाका सूचना अधिकारी तथा सिनियर इन्जिनियर तेज रिजाल बताउनुहुन्छ ।
नहर क्षेत्रमा भएको अतिक्रमण रोक्ने पहिलो दायित्व आयोजनाकै भए पनि यसमा स्थानीय सरकार र स्थानीय जल उपभोक्ताको सहयोग नपाइएको आयोजना प्रमुख साहको गुनासो छ । धेरै ठाउँमा स्थानीय सरकारले बजेट नै विनियोजन गरेर नहरको सर्भिस रोडमा कालोपत्रे गरिरहेको छ । यस्तो अवस्था विराटनगर महानगरपालिका, ग्रामथान गाउँपालिका र सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का खण्डमा देखिएको छ ।
आयोजनाको विराटनगर शाखा अन्तर्गत नोबेल अस्पतालदेखि केसलियामार्गसम्मको नहरको पूर्वी खण्डको सर्भिस रोड केही वर्षअघि नै कालोपत्रे भइसकेको छ भने पश्चिम खण्डमा पनि ठाउँ ठाउँमा वडा कार्यालयको सक्रियतामा कालोपत्रे हुने क्रम बढ्दो छ । स्थानीयवासीबाट माग आएकाले कालोपत्रेका लागि बजेट विनियोजन गर्न आफूहरू बाध्य भएको विराटनगर महानगरपालिका–४ का अध्यक्ष जितन थापा बताउनुहुन्छ ।
अतिक्रमणसँगै नहरका सर्भिस रोडमा दैनिक रूपमा गड्ने मालवाहक सवारीसाधन, ढुङ्गा गिट्टी बोक्ने ठुला टिप्पर तथा नहर क्षेत्रमा निर्माण भएका उद्योगले पनि नहरको संरचनामा क्षति पु¥याइरहेका छन् । नहर आसपासका बजार क्षेत्रबाट निस्किएको फोहोर पानीको ढल मिसाउने, बजारबाट निस्किएको फोहोर नहरमा फ्याँक्ने जस्ता समस्या पनि बढ्दो छ ।
त्यस्तै बर्सेनि आउने बाढी नहरका संरचनामा पु¥याउने क्षति पनि आयोजनाको अर्को चुनौती रहेको छ । गत वर्षको बाढीले मात्र आयोजना अन्तर्गत नहरमा २२ करोडको क्षति पु¥याएको थियो ।
१९७० सालमा उक्त नहर निर्माण भएको हो । सुनसरी–मोरङ सिँचाइ आयोजनाले मोरङमा २८ हजार तथा सुनसरी जिल्लामा ४० हजार गरी ६८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउँदै आएको छ ।
५३ किलोमिटर मूल नहर चार सय किलोमिटर शाखा नहर, प्रशाखा नहर तथा कुलो कुलेसो गरी सो आयोजनाको नहरको लम्बाइ १५ सय किलोमिटरभन्दा बढी छ ।
सिँचाइका लागि नहरमा एक हजारभन्दा बढी संरचना रहेकोमा धेरै संरचना जीर्ण भएका छन् । सन् १९७० मा भारत सरकारले निर्माण गरेकोे आयोजना पाँच वर्ष परीक्षणका रूपमा सञ्चालनपछि सन् १९७५ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । त्योबेलाको प्रविधि अनुसार सबै संरचना इँटाको प्रयोग गरेर निर्माण गरिएको थियो । पानीमुनि इँटाको आयु ५० वर्ष हुने र हाल आयोजनाका संरचना जीर्ण भएको प्राविधिकहरू बताउँछन् ।गोरखापत्र अनलाइन