२०८१ चैत्र ५ मंगलवार

काँकरभिट्टामा भोलिदेखि हुने मेचीनगर गोल्डकपको सम्पूर्ण तयारी पूरा

काँकरभिट्टा । काँकरभिट्टामा भोलि फागुन २४ गतेदेखि सुरु हुने पाँचौँ मेचीनगर गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै गोल्डकप मूल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले प्रतियोगिताको सबै तयारी पुरा भएको बताएका छन् ।

प्रतियोगिताका लागि करीब एक करोड खर्च हुने अनुमान गरिएको मूल आयोजक समितिका सहसंयोजक तथा आर्थिक समिति संयोजक विमल आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘हामीले स्थानीयस्तरमा नै खर्चको ब्यवस्थापन गर्न सफल भएका छौँ,’ आचार्यले भने, ‘कसैलाई पनि जबरजस्ती पैसा मागेका छैनौँ र माग्दैनाँै, सहयोगीहरुले आफैं सहयोग गरिरहनु भएको छ ।’


मूल आयोजक समितिका सदस्य तथा पूर्व राष्ट्रिय खेलाडी मीन बस्नेतले तेस्रो मुलुकको टिम खेलाउने कोशी प्रदेशकै पहिलो प्रतियोगिता मेचीनगर गोल्डकप भएको बताए । उज्वेकिस्तानको ब्लाक बुल्सको टोली मेचीनगर गोल्डकपमा प्रतिस्पर्धा गर्न काँकरभिट्टा आउँदैछ ।

पत्रकार सम्मेलनमा आयोजक काँकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओली, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापा, जिल्ला फुटबल संघ झापाका पूर्व अध्यक्ष बालाजित राई, प्राज्ञ सुभद्रा अर्याल लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण मूल आयोजक समितिका सचिव राजु कार्कीले गरेका थिए ।

काँकरभिट्टा फुटवल ट्रेनिङ सेन्टरको आयोजनामा हुने प्रतियोगिता अन्तर्गत उदघाटन खेल शनिबार आयोजकको काँकरभिट्टा फुटबल क्लव र जर्जियन फुटवल क्लब भारतबीच हुनेछ । उद्घाटनको दिन अन्तर्राष्ट्रिय नारी दिवस परेकाले सबै महिलालाई निःशुल्क प्रवेश गराउने आयोजकले जनाएको छ । गोल्डकपका फाइनलबाहेकका सबै खेलहरुको टिकट दर एक सय रुपैयाँ कायम गरिएको छ ।

काँकरभिट्टा खेल मैदानमा हुने गोल्डकपकोे दोस्रो खेल फागुन २५ गते चर्च ब्वाइज युनाइटेड ललितपुर झापा एफसीबीच खेल हुनेछ भने फागुन २६ गते उज्वेकिस्तानको ब्लाक बुल्स र धरान एफसी बीचको खेल हुनेछ । त्यसैगरी फागुन २७ गते एपिएफ क्लब र मच्छिन्द्र क्लब बीच प्रतिस्पर्धा हुनेछ ।
नकआउट प्रणालीमा खेलाइने प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २८ गते र फागुन २९ गते दोस्रो सेमिफाइनल हुनेछ । प्रतियोगिताको फाइनल चैत २ गते हुनेछ । मेचीनगर गोल्डकपको उपाधी विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख प्राप्त गर्नेछन् ।

२०८१ फाल्गुन २३, शुक्रबार प्रकाशित 0 Minutes 34 Views

ताजा समाचार