२०८१ चैत्र ५ मंगलवार

झापाको काँकरभिट्टा हुने मेचीनगर गोल्डकपको तयारी अन्तिम तयारी

मेचीनगर । पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए ।

काँकरभिट्टा स्थित काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका अस्थायी प्यारापिट धमाधम बनाइँदैछ । पाँच हजार दर्शक क्षमताको प्यारापिट बनाइएको सेन्टरका सल्लाहकार तथा गोल्डकप मुल समितिका सदस्य शेरबहादुर बस्नेतले बताए ।

खेलमैदानको स्तरोन्नति पनि अन्तिम चरणमा पुगेको छ । रोलर लगाउने, घाँस मिलाउने, मैदान सम्याउने काम दुई दिनभित्र पूरा हुने सेन्टरका अध्यक्ष नवराज ओलीले जानकारी दिए ।

प्रतियोगितालाई स्थानीयसँग् प्रत्यक्ष जोड्ने उद्देश्यले सेन्टरले संस्थापक सदस्य बनाउने काम पनि धमाधम गरिरहेको छ । अहिलेसम्म १ सय जनाभन्दा बढी सदस्य बनिसकेको बस्नेतले बताए । गोल्डकपको सदस्य बन्न १० हजार रुपैयाँ तोकिएको छ ।

फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित ८ टोलीको सहभागिता रहनेछ । पोखरा गोल्डकपको विजेता उज्वेकिस्तानको टोलीलाई सहभागी गराउनेबारे कुरा भइरहेको बस्नेतले जनाए ।

उपाध्यक्ष राईका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, सशस्त्र प्रहरीको एपिएफ एफसी, धरान फुटबल क्लब, एनएसएल टिम झापा एफसी र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर तथा भारतको जर्जियन युनाइटेड दार्जिलिङ र ग्लोबल फुटबल क्लब आसाम सहभागी हुनसक्ने छन् ।

चैत २ गते हुने फाइनल खेलको विजेताले १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले पाँच लाख रुपैयाँ ,ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष ओलीले बताए । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले २५ हजार रुपैयाँ र ट्रफी पाउनेछ ।

उत्कृष्ट प्रशिक्षक र गोलकिपरले २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले ११ हजार रुपैयाँ र ट्रफी पाउनेछ । प्रत्येक दिनको प्लेयर अफ म्याचले ११ हजार रुपैयाँ र ट्रफी पाउनेछन् ।

२०८१ फाल्गुन १७, शनिबार प्रकाशित 0 Minutes 29 Views

ताजा समाचार