२०८१ बैशाख १४ शुक्रबार

‘सेन्ट्रल कन्ट्रयाक्ट’प्रति सन्तुष्ट छैनन् महिला खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानकोे महिला टिमको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट)मा खेलाडी कटौती गर्ने निर्णय आलोचित बनेको छ । बुधबार सम्पन्न क्यानको बैठकले महिला टिममा १२ जना खेलाडीलाई मात्र सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने निर्णय गरेको थियो ।

महिला खेलाडीका लागि बजेट नभएको तर्क गर्ने क्यानले क्रिकेट सेन्ट्रल कन्ट्रयाक्टमा ६ खेलाडी कटौती गरी महिला क्रिकेट आफ्नो प्राथमिकतामा नपरेको सन्देश दिन खोजेको छ । सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका खेलाडी भने क्यानले आफूहरुको भविष्य अन्योलमा पारेको भन्दै दुखेसो गर्छन् ।

राष्ट्रिय टिमका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरी महिला क्रिकेटबाट नतिजा निस्कन नसकेका कारण सेन्ट्रल कन्ट्र्याकमा रहने खेलाडीको संख्यामा कटौती गरिएको तर्क गर्छन् ।

सेन्ट्रल कन्ट्र्याक्ट सहज विषय नभएको भन्दै उनले थपे, ‘महिलाको प्रतियोगिता कम छ, नतिजा निस्किएको छैन । ‘महिलाहरुका लागि छुट्टै बजेट आउँदैन । केटाहरुका लागि आएको रकम छुट्याउने गरिएको छ,’ चौधरीले

अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शनका लागि खेलाडीलाई प्रोत्साहित गर्नुपर्ने आफ्नो जिम्मेवारी बिर्सेर क्यान खेलाडीको सुविधा कटौतीमा लागि परेको छ । पुरुषकै समान नतिजाको अपेक्षा गर्ने क्यानले महिला क्रिकेटमा गरेको लगानी तुलना नै गर्न मिल्दैन ।

‘हामीले पुरुष टिमकै सुविधा खोजेका होइनौं । तर, एउटा टिम पुग्ने गरी खेलाडी राख्नुपर्ने थियो,’ दशकदेखि राष्ट्रिय टिमबाट खेल्दै आएकी ब्याटर सरीता मगरले भनिन् ।

एपीएफकी सरीता यसपल्ट सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिरिएकी छन् । ‘२ वर्षदेखि मेरो प्रदर्शन राम्रो छैन । म करारमा परिनँ भनेर गुनासो पनि छैन । तर, प्रदर्शनका खेलाडीहरु पनि छुटेका छन्,’ उनले प्रतिप्रश्न गरिन्, ‘१४ वर्ष राष्ट्रिय टिममा खेलेर मैले के पाएँ त ? भविष्य नै नभएको करिअर भयो नेपालमा महिला क्रिकेटरको ।’

क्रिकेटमा भविष्य बनाउने लक्ष्यका साथ करिअरको सुरुवातमा रहेकाहरुलाई यस्तो व्यवहारले निरुत्साहित गर्ने उनको तर्क छ । सरीताको भनाइलाई पुष्टि गर्ने गरी एक युवा खेलाडीले क्यानको पछिल्लो ग्रेडिङबाट आफ दुरुत्साहित भएको बताइन् ।

‘हामीलाई एक प्रकारले दुरुत्साहन भएको छ । महिला रािष्ट्रय टिममा पर्छु भनेर खेल्ने हामीलाई करार संख्या घट्नु भनेको के देखेर क्रिकेट खेल्नु र कसरी भविष्य देख्नु,’ नाम नखुलाउने सर्तमा यू–१९ राष्ट्रिय टिमकी ती खेलाडीले भनिन् ।

खेल खेलेर केही गरौंला भन्ने आशा मर्दै गएको उनको भनाइ छ । भन्छन्, ‘प्राक्टिस पनि जान छाडिसकें ।’

क्यान भन्छ रिजल्ट खोइ ?

महिला क्रिकेटले एक्स्पोजर नै नपाइरहेको अवस्थामा क्यानले भने प्रदर्शन नभएपछि सम्झौता सीमित गरिएको बताएको छ । पछिल्लो एक वर्षमा राष्ट्रिय महिला क्रिकेट टिमले दुईवटा प्रतियोगिता खेलेको छ ।

गत मे महिनामा त्रिवि मैदानमा युगाण्डासँगको दुईदेशीय शृंखला र त्यसको एक महिनापछि मलेसियामा एसीसी टी-२० च्याम्पियनसिप खेलेको थियो । वर्षमा दुई महिना व्यस्त रहने टिम १० महिना चुपचाप बस्नुपर्ने स्थिति छ । वर्षमा एकपल्ट प्रधानमन्त्री कप र मेयर कप प्रतियोगिताबाहेक घरेलु क्रिकेटमा महिलाका लागि अन्य प्रतियोगिता छैनन् ।

‘हामीले केही मापदण्ड निर्धारण गरेका थियौं जसको कारण हामीले केन्द्रिय करारमा १२ जना राखेर अन्य खेलाडीलाई भने अन्य तवरका सुविधा दिने व्यवस्था गरेका छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक भन्छन् ।

प्रमुख छनोटकर्ता चौधरीले हरेक ६ महिनामा खेलाडीको प्रदर्शन र प्रतियोगिताको चापलाई हेरेर सम्झौतामा खेलाडी थपघट हुने बताए । उनले आफूभन्दा तल्लो वरीयताको युगाण्डासँग पराजित भएकोमा महिला टिमप्रति गुनासोसमेत गरे ।

चौधरीका अनुसार सेन्ट्रल कन्ट्र्याक्टमा रहने खेलाडीको ग्रेडिङका लागि मापदण्ड यस्तो छ । अनलाइन खबरबाट

ग्रेड सी : ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय वा ५ वटा टी–२० अन्तर्राष्ट्रिय म्याचको प्रदर्शन । (महिला खेलाडीको हकमा टी–२० मात्र)
ग्रेड बी : टिमले खेलेकामध्ये ७० प्रतिशत खेल खेलेको हुनुपर्ने । प्रदर्शन प्रमुख आधार
ग्रेड ए : धेरैभन्दा धेरै खेल खेल्दै नियमित र एकरुपमा उच्चस्तरको प्रदर्शन ।

२०७९ माघ २१, शनिबार प्रकाशित 1 Minute 311 Views

ताजा समाचार