२०८१ माघ २७ आईतवार

झापाका ५४ हजार नौ सय ९९ छात्रा तथा किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने

मेचीनगर ।

झापाका छात्रा तथा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । आगामी माघ २२ देखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय झापाले मंगलबार अभिमुखीकरण कार्यक्रमको आयोजना गरी खोप कार्यक्रमबारे जानकारी दिएको छ । खोप अभियानअन्तर्गत झापाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालयबाहिर रहेका ५४ हजार नौ सय ९९ छात्रा तथा किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाका कक्षा ६ देखि १० मा अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्षसम्मका छात्रालाई यो खोप लगाइने भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्कोटीले जानकारी दिनुभयो ।
झापामा एचपीभी खोप अभियानका लागि सात सय ५५ खोप केन्द्र, सात सय ८१ जना स्वास्थ्यकर्मी र एक हजार पाँच सय १५ जना स्वयंसेविका परिचालन हुनेछन् । सात सय ५५ खोप केन्द्रमध्ये पाँच सय ५७ विद्यालय एक सय ४० स्वास्थ्य संस्था र ४० वटा बाह्य केन्द्र रहनेछन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्यूएचओ)ले सन् २०३० सम्ममा यो रोग निवारणका लागि एकीकृत रूपमा तीन तहको उपाय अवलम्बन गर्न सिफारिस गरेअनुसार नेपाल सरकारले १० देखि १४ वर्षसम्मको किशोरीलाई खोप लगाउने भएको हो ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा सातवटै प्रदेशका १० हजार बालिकालाई एचपीभी खोप लगाइएको थियो । विश्व स्वास्थ्य संगठनकाअनुसार महिलामा हुने क्यान्सरमध्येमा पाठेघरको मुखमा हुने क्यान्सर चौथो मुख्य क्यान्सरको रूपमा देखिएको छ । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चारजनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । नेपालमा बर्सेनि दुई हजार एक सय ६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिनुभयो । तीमध्ये ६१ प्रतिशत अर्थात् एक हजार तीन सय १३ जनाको बर्सेनि मृत्यु हुने गरेको बताइएको छ ।

२०८१ माघ १५, मंगलवार प्रकाशित 0 Minutes 49 Views

ताजा समाचार