२०८१ मंसिर २९ शनिबार

किन टिक्दैनन् पालिकामा प्रमुख प्रशासकीय अधिकृत ?

झापाको बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिका यतिखेर प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । बिर्तामोड नगरपालिकामा करिब डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत छैनन् भने कचनकवल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतले छोडेर हिँडेको करिब तीन साता हुन लाग्यो ।

बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले गत असोज १७ गते सरुवा लिएर जिल्ला समन्वय समिति भक्तपुर गएपछि उनको ठाउँ रिक्त छ । करिब डेढ महिना भइसक्दा पनि अब नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने भनेर टुङ्गो लागेको छैन । मिलन भट्टराई , कृष्ण सुवेदी , सागर मिश्रलगायतको नाम चर्चामा रहेपनि कसैको पनि टुङ्गो लागि नसकेको नगरपालिका स्रोतले बताएको छ ।

उता कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद पौडेल कात्तिकको दोस्रो साता छोडेर हिँडेका हुन् । उनले कचनकवलमा करिब एक महिना मात्र काम गर्न सके । सुवासचन्द्र सुमनपछि उनी प्रमुख प्रशासकीय अधिकृत भएर आएका थिए । सुमनले करिब १० महिना काम गरेका थिए । त्यसअघिका हिराकुमारी यादव र कुमार बस्नेतले पनि लामो समय काम गर्न सकेनन् ।

बिर्तामोडमा विनोदकुमार न्यौपाने गएपछि राधाकृष्ण खतिवडा आएका थिए । उनले ६ महिनामै सरुवा लिएर गए । बिर्तामोड नगरपालिकामा यसअघिका प्रमुख प्रशासकीय अधिकृतहरू पशुपति खतिवडा र विनोद न्यौपानेले मात्र टिकेर काम गर्न सकेका थिए । राधाकृष्ण खतिवडाजस्तै गणेश दाहालले पनि टिकेर काम गर्न सकेनन् । दुवै पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत भएर आउने खासै चाहना नराखेको बुझिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतले टिकेर काम गर्न नसकेको समस्या बिर्तामोड र कचनकवलमा मात्र होइन । जिल्लाका अन्य पालिकाहरू पनि यो समस्याबाट प्रभावित छन् । एक पटक मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिक्न नसक्ने स्थानीय तहको रूपमा बदनाम भइसकेको थियो । कार्यालय प्रमुख सबैभन्दा धेरै परिवर्तन भइरहने स्थानीय तहमध्ये मेचीनगर सबैभन्दा अग्रस्थानमा रहेको थियो । प्रमुख प्रशासकीय अधिकृतका रूपमा टेककुमार रेग्मी आएपछि पनि मेचीनगर नगरपालिका कार्यालयको हालत उही थियो ।

रेग्मीअघि राजकपुर चम्लागाईं मेचीनगरको प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका थिए। तर आएको केही महिना पनि नहुँदै नगरपालिकाका जनप्रतिनिधिहरूले नै उनलाई खेदाए। चम्लागाईंअघि मेचीनगरमा सुरेश दाहाल प्रमुख प्रशासकीय अधिकृतका रूपमा आए। उनी पनि धेरै समय टिक्न सकेनन्। उनले पनि पाँच महिनामै सरुवा लिएर अन्यत्र गएका थिए।

दाहालपछि लामो समय मेचीनगर प्रमुख प्रशासकीय अधिकृतविहीन बन्यो । जसोतसो गरेर आँट गरेर भए पनि आएका प्रमुख प्रशासकीय अधिकृत टिक्नै सकेनन् । प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका सहदेव रायमाझी, दिनानाथ लम्साललगायतको पनि छोटो समयमा नै सरुवा भएको थियो।
अलि समय टिकेका प्रमुख प्रशासकीय अधिकृत भने खेमराज ओझा र महेन्द्र खाम्याहाङ मात्र हुन्।अहिले अग्निप्रसाद अधिकारी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । अहिले केही सहज भएको बताइन्छ ।

प्रमुख प्रशासकीय अधिकृतको समस्या शिवसताक्षी नगरपालिकामा पनि देखियो । त्यहाँका जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईलाई फिर्ता पठाए । उनीपछि सुनिता तुम्बाहाम्फे प्रमुख प्रशासकीय अधिकृत भएर आएकी छन् ।

हल्दिवारी गाउँपालिका पनि लामो समय यो समस्याबाट प्रभावित बन्यो । तत्कालीन( हाल पनि) गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन र उपाध्यक्ष डम्बर गिरीबीचको द्वन्द्वका कारण काम गर्ने वातावरण नहुँदा अघिल्लो कार्यकालमा हल्दिवारी गाउँपालिकामा धेरै प्रमुख प्रशासकीय अधिकृतहरूले काम छोड्नु परेको थियो । यस कार्यकालमा त्यस्तो नरहेको बताइन्छ ।

त्यस्तै भद्रपुर नगरपालिकामा पनि जनप्रतिनिधि र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीवीच मनमुटाब हुँदा उनले सोचे अनुसार पूरा कार्यकाल काम गर्न सकेनन् । जनप्रतिनिधिहरूले नीति नियम नबुझेर त्यस विपरीत काम गर्न दबाब दिन खोज्दा प्रमुख प्रशासकीय अधिकृतहरू नटिकेका हुन् । आफ्नो अनुकूलमा काम गराउने गरी प्रमुख प्रशासकीय अधिकृत ल्याएर जनप्रतिनिधिहरूले स्वार्थ पूरा गर्न खोजेको गुनासो व्याप्त छ । त्यही भएर प्रमुख प्रशासकीय अधिकृतहरू नटिकेको र नयाँ पनि आउन नखोजेको कचनकवलका एक जनप्रतिनिधिले बताए ।

२०८१ मंसिर ५, बुधबार प्रकाशित 0 Minutes 42 Views

ताजा समाचार