झापा । झापामा करिब एक साताअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । हल्दिबारीका गाउँपालिका-२ का अन्दाजी २१ वर्षीय सुमन मर्डीको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गत कात्तिक १८ गते भाइटीकाको साँझ ७:१५ बजे भद्रपुर नगरपालिका- १० त्रिवेणी टोलमा धनुषमोडबाट केन्द्रमोडतर्फ आउँदै गरेको मे ६ प ३०७७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक मर्डी घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।
घाइतेको अवस्था गम्भीर हुँदै गएपछि सोही दिन राति ९ः३० बजे बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । त्यहाँबाट कात्तिक २३ गते थप उपचारको लागि भारत पुर्याएको थियो । उनको त्यहाँ पनि उपचार सम्भव नभएपछि घरमा ल्याई राखेको थियो । कात्तिक २५ गते न्युरो अस्पताल विराटनगर लगेर सामान्य उपचारपश्चात् पुनः घरैमा ल्याएको र गएराति साढे १२ बजे उनको घरैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।