२०८३ असार १७ बुधबार

दुर्गा प्रसाईँले बोलाएका भारतीय प्रोफेसर रागीलाई कार्यक्रममा भाग लिन रोक

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको निमन्त्रणामा आएका दिल्ली युनिभर्सिटीका राजनीति शास्त्रका प्रोफेसर डा. संगीतकुमार रागीलाई प्रहरीले प्रसाईँको कार्यक्रममा भाग लिन रोक लगाएको छ ।

हिजो आएर बिर्तामोडको होटेल किंग्सबेरीमा बसेका रागीलाई प्रहरीले कूटनीतिक मर्यादाविपरित बिना अनुमति प्रसाईँको आन्दोलनको कार्यक्रममा भाग नलिन भनेर सम्झाएको हो । माथिको आदेश रागीलाई सुनाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । भारतीय प्रोफेसर आएर बसेको जानकारी आएपछि आफूले बुझ्न लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले बताए । उनले बिना अनुमति छिमेकी राष्ट्र नेताले आन्दोलनमा सघाउन आउन नमिल्ने भन्दै त्यसबारे केन्द्रसँग बुझ्ने काम भइरहेको जानकारी दिए ।

आफूले बोलाएको पाहुनालाई प्रहरी प्रशासनले अपमान गरेको बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईँले आरोप लगाए । राति रागी बसेको होटेलमा बिर्तामोडका डीएसपीको कमान्डमा प्रहरी पुगेर कार्यक्रममा गए भने पक्राउ गर्छु भनेर सरकारले आफ्नो अतिथिको अपमान गरेको उनले बताए । त्यसबारे अहिले बिहान ९ बजे उनले पत्रकार सम्मेलन आयोजन गर्दैछन् ।

भारतबाट परिचालित भएको आरोप लागेका प्रसाईँले आफ्नो कार्यक्रममा दिल्ली युनिभर्सिटीका राजनीति शास्त्रका प्रोफेसर रागीलाई बोलाएका हुन् । रागीले आज सुनसरीको इटहरीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।हिन्दुवादी चिन्तकको रुपमा परिचित रागी दिल्लीबाट बागडोक्रा हुँदै त्यहाँबाट स्थल मार्गबाट नेपाल आएका हुन् ।

२०८१ कार्तिक १२, सोमबार प्रकाशित 0 Minutes 321 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।