२०८१ आश्विन १९ शनिबार

झापामा डुबेर बेपत्ता भएकामध्ये एक मृत फेला, दुईजना अझै बेपत्ता

अविरल वर्षाका कारण हिजो झापामा डुबेर बेपत्ता भएकामध्ये एकजना मृत अवस्थामा फेला परेका छन् भने दुईजना अझै हराइरहेका छन् । हिजो बेलुका गौरीगंज गाउँपालिका वडा नं. २ बागहाचौधरी र वडा नं. ४ को बेलडाँगी बीच सिमानामा रहेको किस्ने खोलाको पुलबाट हामफालेका केमालाल ताजुरियाको शव आज साँझ ६.४० बजे भेटिएको हो । उनको शव पुलको दक्षिणपट्टि काशघारीमा अड्किएको अवस्थामा रहेको स्थानीयले बताएका छन् ।

हिजो दिउँसो ३.३० बजे कचनकवल– १ चमरभित्तास्थित जमुना खोलामा बेपत्ता भएकी १४ वर्षीया निहारिका राजवंशी अझै भेटिएकी छैनन् । चमरभित्ताबाट झकुवा टोलतर्फ आउँदै गरेकी पन्चु राजवंशीकी छोरी निहारिकालाई जमुवा खोलाको कज्वेबाट बगाएको थियो । हिजोदेखि सशस्त्र प्रहरी ,नेपाल प्रहरीसहित खोजी भइरहेपनि अझै नभेटिएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । उनले छिमेकी भारतका स्थानीय सुरक्षा संयन्त्रसँग समन्वय गर्ने काम भएको जानकारी दिए ।

त्यस्तै हिजो साँझ किस्ने खोलामा बेपत्ता भएका कमल गाउँपालिका वडा न. १ बस्ने मुसे भन्ने ३५ वर्षीय टिकाराम चौधरी अझै भेटिएका छैनन् । हिजोदेखि प्रहरी टोली खटिएर चौधरीको खोजी गरिए पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०८१ आश्विन १३, आईतवार प्रकाशित 0 Minutes 69 Views

ताजा समाचार