सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामा राख्नुको कारण सोधेको छ। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रसाईँलाई रिहाइ गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सोधेको हो।
उनले आफूलाई गैरकानुनी ढंगले थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए। प्रसाईँको स्वास्थ्य अवस्थाको कारण देखाउँदै सोमबार उनका छोरा नीराजन प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए। निवेदनसँगै प्रसाईँले आफू क्यान्सरबाट पीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि बुझाएका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय , प्रहरी प्रधान कार्यालय साइबर ब्युरो र काठमाडौँ जिल्ला अदालतलाई निवेदनमा विपक्षी बनाइएको छ।
प्रहरीको साइबर ब्युरोले प्रसाईँलाई आइतबार भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। उनलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ। उनी हाल प्रहरी हिरासतमा छन्।
उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान सुरू भएको छ। झन्डै १५ दिन अगाडि उनीविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको थियो।