२०८१ आश्विन १९ शनिबार

इलाममा विद्यार्थीहरु भकाभक बेहोस भएपछि विद्यालय भयभित

इलामको सूर्योदय नगरपालिका-१ गोर्खेमा रहेको हिमालय माध्यमिक विद्यालयका विद्यार्थीहरू एकपछि अर्को गर्दै बेहोस हुन थालेपछि भय उत्पन्न भएको छ ।

केही दिनदेखि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूमा एक्कासि चिच्याउने, बेहोस हुने, खिन्नता व्यक्त गर्ने जस्ता समस्या देखा परेको हो । विद्यालयका १० जना छात्रा र ३ जना छात्रमा उक्त समस्या देखिएको सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति सुदर्शन खतिवडाले जानकारी दिए । उनका अनुसार विगत एक महिनादेखि एक-दुई जनामा गर्दै समूहमै समस्या आउन थालेको छ । विद्यार्थीमा समस्या आएपछि सोमबार मनोपरामर्शदाता राजन श्रेष्ठ र स्रोत व्यक्ति खतिवडाले विद्यालयमा गई काउन्सिलिङ गरेका छन् ।

विद्यार्थीलाई अलग-अलग राखेर काउन्सिलिङ गरिएको स्रोत व्यक्ति खतिवडाले जानकारी दिए । मनोपरामर्शदाता श्रेष्ठले तनाव वा अन्य कुनै कारणले विद्यार्थीमा उक्त समस्या देखा परेको बताए ।

विद्यालयका प्रधानाध्यापक कुलबहादुर इम्सङले विद्यार्थीमा उक्त समस्या बढ्दै जाँदा अन्य विद्यार्थीमा समेत भय उत्पन्न भएको जानकारी दिए । गत वर्ष सूर्योदयकै करफोक विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरूमा लामो समयसम्म उक्त समस्या देखिएको थियो ।

२०८१ आश्विन ८, मंगलवार प्रकाशित 1 Minute 65 Views

ताजा समाचार