२०८१ आश्विन १९ शनिबार

मेचीनगरको मेजस माविको खेल मैदान अलपत्र

मेचीनगर । झापाको मेचीनगर-२ स्थित मेची जनसाधारण माध्यमिक विद्यालयको खेल मैदान निर्माणमा नीतिगत भ्रष्टाचार भएको आशंका गरिएको छ ।

स्थानीय सरोकारवाला निकायले खेल मैदान निर्माण कार्य सम्पन्न गर्ने नाममा कीर्ते बिल भरपाई तयार गरी योजनाको बजेट पास गरेको आरोप लगाएका छन् । आर्थिक वर्ष २०८०/२०८१ को बजेटमार्फत वडा नम्बर २ ले खेल मैदान निर्माणका लागि १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियोे । खेल मैदान निर्माण बजेट अनुसार गर्न २०८१ जेठ २५ गते सम्झौता र सम्पन्न मिति असार १० गते रहेको थियो ।

तर, निर्माण व्यवसायी नयन बरालले जेसिभी लगाएर ८ घण्टा काम गरी खेल मैदान अलपत्र बनाएको स्थानीयले आरोप लगाएका छन् । स्टिमेट अनुसारको काम नगरी खेल मैदान अलपत्र पारिएको स्थानीय विकास ओझाले बताए । उनले खेल मैदान बनाउने नाममा झारो टार्ने काम भएको दाबी गरे ।

यस बिषयमा वडा नम्बर-२ का वडाध्यक्ष दिपक बराललाई ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको स्थानीय तुलसी ढुंगानाले बताए । वडाध्यक्ष बरालले बजेटअनुसारको चित्तबुझ्दो काम नभएकोले बजेट थप गर्ने आश्वासन दिएका थिए । तर, अहिले उनी आफै पन्छिने गरेको स्थानीयले आरोप लगाएका छन् ।

सोही बिषयलाई लिएर स्थानीय सरोकारवालाले मेचीनगर नगरपालिकाको कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका छन् । स्थानीय ४३ जना बढीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा खेल मैदानमा भएको नीतिगत भ्रष्टाचार अन्त्य गरी खेल मैदानलाई पूणर्ता दिन माग गरिएको छ ।

सोही प्रकृतिको ध्यानाकर्षण पत्र मेचीनगरको नगर शिक्षा कार्यालयलाई समेत बुझाएको छ । अलपत्र बनाइएको खेल मैदानको विषयलाई लिएर स्थानीय युवाहरुले मेजस माविको सभाहल कक्षमा तालाबन्दीसमेत गरेका थिए ।

२०८१ आश्विन ७, सोमबार प्रकाशित 1 Minute 73 Views

ताजा समाचार