झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समर्थकहरूले झापामा दुई वटा भारतीय नम्बर प्लेट भएको ट्रकमा आगजनी गरेका छन् । बीएण्डसी अस्पतालका सञ्चालकसमेत रहेका प्रसाईँलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले आइतबार नै विज्ञप्ति निकाल्दै आज झापा जिल्ला भर यातायात बन्दको घोषणा गरेका थिए ।
सोही समूहले गएराति ११ः१० बजे कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र आज बिहान पौने ३ बजे बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका हुन् ।
बिर्तामोडबाट सुरुङ्गातर्फ प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेर जाँदै गरेको युपी ५७ एटी ४४९३ नम्बरको ट्रकलाई ६ वटा मोटरसाइकलमा आएका १०÷१२ जनाले रोकेर आगजनी गरी फरार भएका थिए । बिर्तामोडको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाको टोलीले राति ११ः५५ बजे ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको थियो । ट्रकमा भएको आगजनीबाट अगाडिको भागमा क्षति पुगेको छ । साथै ट्रकका चालक भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला सिलिगुडी बस्ने ४० वर्षीय कुमार महतो घाइते भएका छन् । दाहिना हातको पाखुरामा जलेर घाइते भएका उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै सुनसरीको दुहबीबाट काँकडभिट्टातर्फ जाँदै गरेको डब्लुबी ७३ इ ३०५६ नम्बरको खाली ट्रकलाई ५–६ जनाको समूहले आगजनी गरेका हुन् । ट्रकमा बिर्तामोडको दमकलको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको । साथै ट्रक चालक भारत इस्लामपुरका ४० वर्षीय पोदा राय घाइते भएका छन् । दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका उनको बीएण्डसी अस्पतालमा उपचार पश्चात् भारत घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रसाईँ पक्राउ परेसँगै झापा प्रहरीले आइतबार नै उनका दुईजना समर्थकलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन् ।