२०८१ भाद्र २७ बिहीबार

बीएण्डसी अस्पतालका संस्थापक प्रसाईँको रहस्यमय मृत्यु, मैनालीविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को जाहेरी

बिर्तामोड । बिर्तामोडका व्यवसायी महेन्द्र प्रसाईँको रहस्यमय मृत्यु भएसँगै स्थानीय नरेन्द्र मैनालीविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को जाहेरी दर्ता भएको छ । इलाका प्रहरी कार्यालय अनारमनिमा प्रसाईँका छोरा अर्जुनले मैनालीविरुद्ध जाहेरी दर्ता गरेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

बिर्तामोड नगरपालिका-५ सगरमाथा टोल निवासी ६१ वर्षीय प्रसाईँ बिर्तामोड–१ सिने प्लाजा अगाडि मैनालीको घरमा शुक्रवार मृत फेला परेका थिए । मैनालीको घरको दोस्रो तलाको कोठामा प्रसाईँ झुन्डिएको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए । सिलिङको पङ्खा झुन्ड्याउने हुकमा नाइलनको हरियो डोरीले घाँटीमा पासो लगाई झुन्डिरहेको अवस्थामा प्रसाईँको शव फेला पारेको प्रहरी नायव उपरीक्षक विष्टको भनाई छ । उनको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल पठाइएको विष्टले जानकारी दिए ।

भ्रष्टाचार विरोधी अभियान समेत सञ्चालन गर्दै आएका प्रसाईँ जग्गाको समेत कारोबार गर्दै आएका थिए । प्रसाईँ र मैनालीले सहकार्य गर्दै हाइड्रोमा समेत लगानी गरेको बताइएको छ । प्रसाईँ मृत फेला परेको कोठा हाइड्रो पावर कम्पनीको अफिस रहेको बताइन्छ ।

युनिटेक हाइड्रोपावर कम्पनीले माथिल्लो फावा खोला जलविद्युत आयोजनाको काम गर्दै आएको बताइएको छ । सो कम्पनीको मैनाली अध्यक्ष हुन् ।

हाइड्रोपावर कम्पनीमा उनीहरू बीच साझेदारी रहेको र आर्थिक लेनदेन समेत उनीहरूमा भएको बताइन्छ । मैनालीले प्रसाईँको करोडौँ रुपैयाँ लगेको र सो रकम नदिएपछि मैनालीकै घरमा गएर प्रसाईँ झुन्डिएर आत्महत्या गरेको हुन नसक्ने बताइएको छ ।

प्रसाईँसहित बिर्तामोड र आसपासका व्यवसायीको दुई अर्ब रुपैयाँभन्दा बढी रकम लिएर मैनाली फरार भएको आरोप छ । मृतक प्रसाईँ बीएण्डसी मेडिकल कलेजका संस्थापक समेत हुन् । उनी, दुर्गा प्रसाईँ र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी मेडिकल कलेज स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाईँ केही समय पहिला नै हस्पिटलबाट बाहिरिएको बताइएको छ ।

२०८१ भाद्र ७, शुक्रबार प्रकाशित 1 Minute 433 Views

ताजा समाचार