झापामा तेस्रो लिङ्गीको नाममा आतङ्क बढ्दै गएको छ । आफूले भनेजति रकम दिनुपर्ने ,नदिए धम्की दिने , गाली गर्ने , अश्लील शब्द प्रयोग गर्ने , शरीरका संवेदनशील अंग देखाउने कार्यले मानिसहरू आतङ्कित बनेका छन् । तेस्रो लिङ्गी आउँदा भाग्नुपर्ने अवस्था आएको सर्वसाधारणहरू बताउँछन् ।
आज साँझ बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थामा उनीहरूले जवर्जस्ती रकम असुल्न खोजेका थिए । पाँच हजार सहयोग मागेकोमा आफूहरूले त्यति दिन नसक्ने बताएपछि तथानाम शब्द प्रयोग गरी अश्लील हर्कत उनीहरूले देखाएको सहकारीका प्रबन्धक रुद्र सिटौलाले बताए । सम्झाइ बुझाई गर्दा नटेरेपछि प्रहरी बोलाएर उनीहरूलाई हटाउनु परेको सिटौलाले जानकारी दिए । विराट सहकारीसहित अन्य ठाउँमा पनि उनीहरूले थर्काउँदै सहयोग मागेको स्थानीयले बताएका छन् ।
बिर्तामोडमा केही महिनादेखि तेस्रो लिङ्गीको नाममा पसल–पसल र घर–घरमा गएर चन्दा माग्ने क्रम बढेको छ । त्यस विषयमा पीडितहरूले प्रहरीलाई जानकारी गराएका छन् । तर, उनीहरूलाई रोक्न सकिएको छैन । केही दिनअघि एक जना तेस्रो लिङ्गीलाई पक्राउ गर्दा उनीहरूले प्रहरी कार्यालय घेराउ गरेको बताइएको छ । बिर्तामोडमा नेपाल र भारतका गरी करिब सय जनाले तेस्रो लिङ्गीको नाममा सहयोग सङ्कलन गरिरहेको जनाइएको छ ।
त्यति मात्र नभएर उनीहरूले विवाह, छोराछोरी जन्मिएको घरमा समेत पुगेर मोटो रकम माग्ने गर्दै आइरहेको छ । उनीहरूले भने जस्तो रकम नदिए ती परिवारलाई जथाभाबी गालीगलौज गर्नुका साथै अभिशाप समेत दिएर हिँड्ने गरेको स्थानीयको गुनासो छ ।