झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका- १ नयाँ बस्तीका ४२ वर्षीय च्याङवा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गएराति ९ बजेको समयमा बाह्रदशी गाउँपालिका- २ जनता बजारस्थित भित्री सडक खण्डमा कुटिबाट राजगढतर्फ आउँदै गरेको मे ४ प ५१५६ नम्बरको मोटरसाइकलले पैदल यात्री तामाङलाई ठक्कर दिएको थियो । घाइते तामाङलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको थियो । उनको उपचारको क्रममा मंगलबार दिउँसो पौने ११ बजे सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार कचनकवल गाउँपालिका- १ का अन्दाजी १९ वर्षीय श्रवण राजवंशी समेत घाइते भएका थिए । उनको निधार र टाउकोमा चोट लागेकोले सोही अस्पतालमा उपचार भइरहेको छ । यता प्रहरीले मोटरसाइकल चालक कचनकवल गाउँपालिका -१ पिण्डलबारीका १९ वर्षीय देवराज राजवंशीलाई नियन्त्रणमा लिएको छ ।