
१६ साउन, काँकरभिट्टा । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आपराधिक विश्वासघात कसुरमा १ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मेचीनगर—६ काँकरभिट्टाका रोशन मल्लिकलाई यो अपराधमा पक्राउ गरेको थियो ।
काँकरभिट्टा माविमा कार्यालय सहयोगीका रुपमा कार्यरत पक्राउ परेका मल्लिकले विद्यालयको नाममा रहेको खाताबाट विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको किर्ते हस्ताक्षर गरेर पटक पटक चारलाख १८ हजार रूपैयाँ निकालेको भेटिएपछि विद्यालयको उजुरीका आधारमा मल्लिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मल्लिक अहिले काँकरभिट्टा प्रहरी हिरासतमा छन् ।

पहिलो पटक २०८० चैत ७ गते रु.४० हजार प्रधानध्यापक न्यौपाने र लेखापाल पाण्डेको किर्ते हस्ताक्षर गरेर निकालेको खुलेको छ । त्यसपछि पछिल्लो पाँच महिनामा २० औँ पटकसम्ममा उक्त चार लाख १८ हजार रुपैयाँ किर्ते हस्ताक्षर गरी निकालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मल्लिकले नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखामा रहेको खाताबाट किर्ते हस्ताक्षर गरी रकम निकालेको विद्यालयले जनाएको छ । चैत ७ देखि साउन ७ गतेसम्म २० पटक चेक काटेर पैसा निकालेको विद्यालयले जनाएको छ । विद्यालय स्रोतका अनुसार पाँच हजारदेखि बढीमा ४३ हजारसम्म किर्ते हस्ताक्षर गरी चेकबाट पैसा निकालेका थिए ।
सामाजिक परीक्षण गराउनका लागि आर्थिक हिसाबकिताब समेत सार्वजनिक गर्नका लागि बैंकसँग हिसाब मिलान गर्दा २० वटा चेकको अद्र्धकट्टी हराएको र हराएका चेक नम्बरबाट रकम निकालिएको बैंक स्टेटमेन्टले देखाएपछि खोजी गर्ने क्रममा कार्यालय सहयोगी मल्लिकले खाली चेक चोरी गरी किर्ते हस्ताक्षर गरेर रकम निकालेको पाइएको थियो । मल्लिकबिरूद्ध साउन १३ गते आइतबार विद्यालयले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी दिए लगत्तै प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बैंकबाट चेक ल्याउने वा रकम जम्मा गर्ने काम उनै मल्लिकले गर्दै आएका थिए । प्रत्येक पटक चेकबुक ल्याउदा केही चेकको अर्धकट्टीसमेत निकालेर राख्ने गरेको र विभिन्न समयमा किर्ते हस्ताक्षर गरेर रकम निकाल्ने गरेको विद्यलायको लेखा शाखाले जनाएको छ । पक्राउ परेका मल्लिकले शिक्षक, विद्यालयले सामग्री खरिद गर्न र कार्यालय सहयोगी रोशन मल्लिकको नाममा चेक काटेर रकम निकाल्ने गरेको लेखापाल पाण्डेले जानकारी दिए । पक्राउ परेका मल्लिक हाल काँकरभिट्टा प्रहरी हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको बताइएको छ ।