२०८३ असार १७ बुधबार

इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द

मङ्गलबारे । इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाई उडान बन्द भएको हो । यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो ।

जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ नै फर्केको थियो । त्यसयता उडान हुन नसकेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए । मौसममा सुधार नआउन्जेलसम्म हवाई उडान नहुने उनको भनाइ छ ।

नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि इलाम–काठमाडौँ उडान भर्दै आएको थियो । नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार गरी दुई दिन उडान भर्दै आएको थियो ।

नेपाल एयरलाइन्सको विमानले उडान सुरु गर्नुअघि सीता एयरलाइन्सको विमानले उडान भर्दै आएको इन्चार्ज सुन्दासले बताए । सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका–९ मा पर्छ । मौसम खुलेपछि नियमित उडान हुने उनले बताए ।

हवाई उडान बन्द भएपछि यहाँका यात्रुलाई समस्या भएको छ । हाल उनीहरू झापाको भद्रपुर विमानस्थलबाट हवाई यात्रा गर्दै आएका छन् ।

२०८१ श्रावण १४, सोमबार प्रकाशित 0 Minutes 292 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।