
मोरङको उर्लाबारी—५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर मनिषकुमार यादव आज बिहान मृत फेला परेका छन् ।अस्पताल पछाडि डेरामा बस्दै आएका यादव कोठामै मृत भेटिएका हुन् । बिहान अबेरसम्म कोठा नखुलेपछि अस्पताल, छरछिमेकी सबै भएर बोलाउँदासमेत नबोलेपछि प्रहरी बोलाइएको थियो । कोठा भित्रबाट चुकुल लगाएका कारण प्रहरीले आएर यादवको परिवारमा सम्पर्क गरेको थियो ।
यादवका भेना आएपछि बिहान ८ बजे ढोका फुटाएर हेर्दा यादव मृत अवस्थामा भेटिएको अरनिको अस्पतालका अध्यक्ष लोलिम पोमुले बताए । धनुषा औरही गाउँपालिका—१ का यादव डेढ वर्षयता अरनिको अस्पतालमा रेडियोलोजिस्टका रूपमा कार्यरत थिए। । मृतकको शव आफन्तले पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

मानसिक रोगको औषधि सेवन गर्दै आएका डा. यादव केही दिन अघिदेखि एक्लै बस्दै आएका थिए । अविवाहित यादवले झुक्किएर औषधि डबल खाएको हुनसक्ने आशङ्का गरिएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।