२०८१ फाल्गुन ३ शनिबार

आजदेखि बिएण्डसी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू

बिर्तामोड । झापाको बिर्तामोडस्थित बिएण्डसी टिचिङ अस्पतालले आजदेखि नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । बिएण्डसीका प्रवक्ता प्रमिश गिरीले १० वटा दर्ता काउन्टरबाट बिरामीलाई सहजै सेवा दिने तयारी गरिएको छ । लामो समय लाइन बस्नुपर्ने बाध्यतालाई हटाएर सहजै सेवा दिने गिरीको भनाई छ । उपचारमा आउने बिरामीहरूको लागि कुरुवा कक्ष, प्रविधिमैत्री वातावरणमा उपचार प्रदान गरिनेछ । बिएण्डसीमा रेफर गरेर आएका बिमितहरुले उपचार पाउने छन्, उनले भने – इमरजेन्सीहरूको हकमा सोझै अस्पताल आए पनि स्वास्थ्य बीमाबाट उपचार गर्न पाइनेछ ।

नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड तथा बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर बिर्तामोड झापाबीच भएको सम्झौता बमोजिम साउन १ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा दिन लागेको उनले बताए ।स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवाग्राहीहरूलाई औषधी, स्वास्थ्य परीक्षणहरू, सर्जरी लगायतमा सुविधा उपलब्ध गराइनेछ ।

बिएण्डसी अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा सहित न्यूरोलोजी, अर्थोपेडिक्स, फिजिसियन, सर्जरी, स्त्रीरोग, बाल रोग, मुटु रोग, मानसिक रोग, चर्म रोग लगायतका सेवाहरू रहेका छन् । मोडुलर अपरेसन थिएटर, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड, क्याथ ल्याब, उच्चस्तरीय प्याथोलोजी परीक्षण सेवा रहेको अस्पतालमा जटिल प्रकारका सर्जरीहरू गरिँदै आइरहेको मेडिकल डाइरेक्टर डा.वीरेन्द्र यादवले जानकारी दिए । स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न यस अस्पतालमा, एमडी, एमसीएच, एमएस गरेका वरिष्ठ चिकित्सक, तालिम प्राप्त प्राविधिक तथा अन्य जनशक्तिहरूले सेवा दिने छन् ।

२०८१ श्रावण १, मंगलवार प्रकाशित 0 Minutes 131 Views

ताजा समाचार