२०८१ आश्विन २८ सोमबार

नेपालकै तेस्रो लामो झोलुङ्गे पुल शिलान्यास

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकामा नेपालकै तेश्रो लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ । बुद्धशान्ति वडा नं. ६ र ७ जोड्ने झोलुङ्गे पुलको सोमबार एक कार्यक्रमका बीच नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले शिलान्यास गरेका थिए ।

बुद्धशान्ति-७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथी निर्माण हुने ४७६ मिटर लम्बाईको झोलुङ्गे पुलको धार्मिक विधि अनुसार पुजा गरेर महामन्त्री शर्माले शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यो पुल सञ्चालनमा आएपछि बुद्धशान्ति गाउँपालिकाका दुईवटा वडाहरुलाई मात्रै जोड्ने नभई यसले इलाम र झापाका गाउँहरुलाई पनि जोड्ने बताए । यो पुल सञ्चालन भए पश्चात बुद्धशान्ति ६ सहित इलामको रोङ गाउँपालिको वडा नं. ५ र ६ का स्थानीयहरुले उत्पादन गरेको कृषि उपजलाई बजारी गर्न सहयोग पुग्ने शर्माले बताए । “यो पुलले पर्यटन प्रवद्र्धन गर्न पनि सहयोग गर्छ, शर्माले भने, नयाँ पर्यटकीय गन्तव्य बन्ने सम्भावना पनि उत्तिकै छ ।”

थानी जगदम्बा जेभी काठमाण्डौले निर्माण गर्ने झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैया ३५ पैसा रहेको छ । २०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । निर्माणको कामलाई तिब्रता दिएर २०८३ वैशाख मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको निर्माण कम्पनीका प्रतिनिधि लोकबहादुर बस्नेतले जानकारी दिए ।

बुद्धशान्ति वडा नं. ७ का वडा अध्यक्ष चन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न शिलान्यासको औपचारीक कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष शिवाराज पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

उक्त अवसरमा प्रदेश सांसद गोपाल तामाङ, निर्मला तावा, गाउँपालिका अध्यक्ष मनोज प्रसाई, नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवे, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, नेपाली काँग्रेस क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकी, मेचीनगरका निवर्तमान मेयर विमल आचार्य, काँग्रेस नेता राम कट्टेललगायतको उपस्थिति रहेको थियो ।

कोलबुंगे गौंडा रमिते झोलुङ्गे पुल कोशी प्रदेशकै सबैभन्दा लामो र नेपालको तेस्रो लामो पुल हुने बताइएको छ । यस अघि सुदुरपश्चिमको दोधारा चाँदनी झोलुङ्गे पुल र पर्वत जिल्लाको कुश्मामा रहेको झोलुङ्गे पुल यो भन्दा लामो रहेको छ ।

२०८१ असार २४, सोमबार प्रकाशित 1 Minute 183 Views

ताजा समाचार