
पाँच वर्षसम्म प्रेम गरेर विवाह गरेको १३ दिनमै झापा बाह्रदशीका एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् । बाह्रदशी ३ कुटुबस्ती बस्ने भीष्म गणेशले आज बिहान झुन्डिएर आत्महत्या गरेका हुन् । बाह्रदशी २ माइत भएकी श्रीमती विनीता गणेश हिजो बेलुका मात्र माइत गएकी थिइन् । भीष्मले राति नै आत्महत्या गरेका हुन् । उनी झुन्डिएको आज बिहान अरूले देखेका थिए ।
यसरी प्रेम विवाह गरेर १३ दिनमै भीष्मले आत्महत्या गर्दा आफूहरू अचम्मित भएको बाह्रदशीकी कार्यपालिका सदस्य लक्ष्मी निरौला अधिकारीले बताइन् । वैदेशिक रोजगारीबाट फर्केका भीष्मले असार ३ गते विनीतासँग विवाह गरेका थिए । उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन ।
