२०८१ माघ १ मंगलवार

झापामा लागुऔषध कारोबार बढ्यो

झापा । जिल्ला प्रहरी कार्यालय झापाले प्रायः लागुऔषधको कारोबार गर्नेहरुलाई पक्राउ गरिएको तथ्यांकहरु सार्वजनिक गर्दै आएको छ ।

जिल्लाका सञ्चारमाध्यमहरुमा पनि सबैभन्दा धेरै ‘लागुऔषधसहित पक्राउ’ शीर्षकको समाचारले स्थान पाइरहेका हुन्छन् ।
पूर्व र दक्षिणको सीमा छिमेकी मुलुक भारतसँग जोडिएको कारण सीमावर्ती क्षेत्रमा लागुऔषध सहित पक्राउ पर्ने युवाहरुको तथ्यांक दिन प्रतिदिन बढिरहेको झापाका पालिका प्रमुुखहरुको भनाई छ ।

झापामा लागुऔषधको कारोबारी तथा प्रयोगकर्ताहरु अघिल्लो आर्थिक वर्षमा भन्दा यो वर्ष करिब ३५ प्रतिशत बृद्धि भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७९-८० मा झापामा दुई सय ८२ जना लागुऔषधका कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेका थिए भने त्यो तथ्यांक आर्थिक वर्ष २०८०-०८१ मा तीन सय ७८ पुगेको छ ।

यस आर्थिक वर्षमा पक्राउ पर्ने कुल संख्यामध्ये दुई सय ४७ जना पुरुष रहेका छन् भने ३१ जना महिलाहरु रहेका छन् । झापामा यो चालू आर्थिक वर्षमा २ दशमलव ८६ केजी हिरोइन, २८ दशमलव ६१ केजी गाँजा, ८५ एम्पुल लुपिजेसिक, १ सय ८ एम्पुल डाइजापाम, ८५ एम्पुल फेनरागन, १५ चक्की नाइट्रोस, १ सय ९३ चक्की नाइट्राजेपाम, २ सय ९८ चक्की नाइट्राभेट, ५ सय ५० चक्की स्पास्पेन ट्याब, ६ एम्पुल लेभल नभएको, ६ एम्पुल एभिल, ६ बोतल कोडिन फोस्फेट, ८७० ग्राम मेन्थमफेटामिन र २१ चक्की स्पासमेपियोविन बरामद गरेको छ ।

झापामा काँकरभिट्टा नाका र भद्रपुर नाकामा लागुऔषधको कारोबार धेरै रहेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्णबहादुर चन्दले बताएका छन् । जिल्लाका भित्री पालिकाहरुमध्ये बिर्तामोड नगरपालिका र दमक नगरपालिकामा लागुऔषधको प्रकोप धेरै रहेको उनको भनाई छ ।

२०८१ असार १३, बिहीबार प्रकाशित 1 Minute 187 Views

ताजा समाचार