२०८१ आश्विन २८ सोमबार

झापामा आत्महत्या दुरुत्साहनको आरोपमा न्यौपाने पक्राउ

झापामा आत्महत्या दुरुत्साहन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले बिर्तामोड- १ का होम न्यौपानेलाई आज पक्राउ गरेको हो । गत जेठ ३० गते हराएर भोलिपल्ट शिवसताक्षी १० स्थित जङ्गलभित्र झुन्डिएको अवस्थामा फेला परेकी बिर्तामोड १ की ३६ वर्षीया भगवती प्रसाईँलाई मृतक परिवारले आत्महत्या दुरुत्साहनको आरोपमा उजुरी दिएपछि प्रहरीले  उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ । मृतक परिवारले प्रमाणसहित उजुरी दिएपछि त्यसको आधारमा बोलाइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनीश बुढाथोकीले बताए ।

दोषीमाथि कारबाहीको माग गर्दै मृतकका आफन्तहरू आज ठुलो सङ्ख्यामा इलाका प्रहरी कार्यालय झिलझिले गएका थिए । उनीहरूले हिजो पनि इप्रका झिलझिले घेराउ गरेका थिए । मृतक परिवारले प्रमाणको रुपमा अडियो बुझाएको छ । सो अडियोलाई प्रमाणित गराउनका लागि झापा जिल्ला अदालत पठाएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । दोषीमाथि कारबाहीको माग गर्दै आफूहरूले प्रहरीलाई उजुरी दिएको मृतकका जेठानी गङ्गा प्रसाईँले बताइन् । यसअघि आफन्तहरूले हत्याको आशङ्का गरेका थिए ।

गत जेठ ३० गते भगवती घरबाट हराएकी थिइन् भने त्यसको भोलिपल्ट जेठ ३१ गते दिउँसो करिब ३ बजे शिवसताक्षी १० स्थित जङ्गलमा उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । सुनसरी प्रकाशपुर माइत घर भएकी भगवतीका श्रीमान् खड्ग प्रसाईँ वैदेशिक रोजगारीका लागि कतारमा रहेका थिए । उनीहरूका १७ र १२ वर्षका दुई छोराहरू रहेका छन् । आरोपित न्यौपाने र भगवती एकै ठाउँमा बस्दथे । न्यौपानेले ज्यान मार्ने धम्की दिएको अडियो प्रहरीलाई बुझाएको मृतकका आफन्तले जनाएका छन् ।

२०८१ असार ११, मंगलवार प्रकाशित 1 Minute 162 Views

ताजा समाचार