
काँकरभिट्टा । लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने १३ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्राफिक सप्ताहा कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड र ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको संयुक्त पहलमा सोमबार एसियन हाइवे अन्तरगत मेचीनगर-६ स्थित पुरानो मेची पुलमा सवारीसाधनको लापसे चेकजाँच गर्ने क्रममा लागु औषध सेवन गरी सवारी चलाउने १३ जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा पठाइको छ ।

लापसे चेकजाँचमा जिल्ला ट्राफिक, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टा, स्वास्थ्यकर्मीलगायत उपस्थिति रहेको थियो ।
ट्राफिक प्रहरीले मापसेमा कडाइ गरेपछि पछिल्लो समयमा झापाका विभिन्न स्थानमा लापसे चेकजाँच अभियानमा लागि परेको जिल्ला ट्राफिक कार्यालय बिर्तामोडका कार्यालय प्रमुख नवराज न्यौपानेले बताए ।
काँकरभिट्टामा सोमबार २६ सवारी साधनलाई चेक गर्दा १३ वटा सवारी साधनका चालकले लागुपदार्थ सेवन गरेको पाइएको पोष्ट काँकरभिट्टाका सहायक हवल्दार अनिल बस्नेतले जानकारी दिए ।
जिल्ला ट्राफिक कार्यालय बिर्तामोडका कार्यालय प्रमुख नवराज न्यौपाने, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रबनानि रुपेश राई, ट्राफिक पोष्ट काँकरभिट्टाका इञ्चार्ज मनमोहन पौडेललगायतको उपस्थित रहेको थियो ।