२०८१ आश्विन २६ शनिबार

पाँच दलको विज्ञप्ति : मेचीनगरको बेथिति अन्त्य गर्न माग

मेचीनगर । मेचीनगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको अन्तरद्वन्द , खिचातानी र हैकमवाद लगायतका कारण प्रशासनिक गतिविधिमा असर पर्ने भएकाले यस्ता घटनाहरुको समाधान खोज्न माग गर्दै यहाँका पाँच राजनीतिक दलका प्रमुखहरुले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर मेचीनगर नगरपालिकालाई ५ बुँदे मागसहित ध्यानाकर्षण गरेको हो ।

विज्ञप्तिको पहिलो बुँदामा मेचीनगर–४ का वडाअध्यक्ष अर्जुनकुमार कार्कीले स्थानीय एक रेडियोमा दिएको अन्तरवार्तामा नगरपालिकाको सामाजिक विकास शाखा प्रमुखलाई जोड्दै त्यहाँका केहि गलत विषय भएको दावी गर्दै तत्काल सत्य तथ्य नगरबासी समक्ष सार्वजनिक गर्न माग गरिएको छ ।

दोस्रो नगरपालिकाले नदिजन्य पदार्थको ठेक्काबाट नदिमा मापदण्ड विपरित उत्खनन् गरिएको खाल्डोमा जम्मा भएको पानीमा डुवेर मेचीनगर–३ का शिक्षक धनराज भण्डारीको निधन भएको विषयमा नगरपालिका गम्भिर नभएको र अनियन्त्रित उत्खनन्ले प्रभावकारी अनुगमन तथा राजश्व समेत अपचलन भएको विज्ञप्तिमा उल्लेख छ ।

तेस्रो विगतमा कार्यालय परिसरभित्रै सेवाग्राहीमाथि हातपात, अनुगमन नभएकै कारण धुलाबारीको एउटा विद्यालयको सेफ्टी ट्याङ्कीमा डुवेर विद्यार्थीको मृत्यु, कार्यकक्षभित्रै कर्मचारीमाथि हातपात, यस्ता घटनाहरुमा भएका छानविन समितिको रिपोर्ट सार्वजनिक गनै विज्ञप्तिमा माग गरिएको छ ।

चौँथोमा विगतमा थालनी गरिएका गौरवका योजनाहरु हल ओझेलमा रहेकाले ति योजनाहरु यही बजेटमा सञ्चालन गर्न माग गरिएको छ ।

र पाँचौ नम्बरको बुँदामा विगतमा मेचीनगरका राजनीतिक दलहरुले विभिन्न विषयमा दिएका ध्यानाकर्षण पत्र, विज्ञप्तिहरुको हालसम्म पनि कुनै सुनुवाई नभएकोले सो विषयमा गम्भिर बनि सम्बोधन गर्न विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा काँग्रेसका सुवेशकुमार पनेरु, जनता समाजवादी पार्टीका ओमप्रकाश खापुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका विशालकृष्ण बाँस्तोला, राष्ट्रिय स्वतन्त्र पार्टीका भिमबहादुर कुवँर र नेकपा एकीकृत समाजवादी पार्टीका हरि तिम्सिनाले हस्ताक्षर गरेका छन् ।

२०८१ असार १०, सोमबार प्रकाशित 0 Minutes 195 Views

ताजा समाचार