२०८१ माघ २८ सोमबार

मुलुककै ठुलो नेपाली कागज उद्योग बिर्तामोडमा

बिर्तामोड । झापाको बिर्तामोड–७ मा नेपालकै ठुलो नेपाली कागज उद्योग सञ्चालनमा रहेको छ । २३ विगा क्षेत्रफलमा रहेको उद्योगले ६० जनालाई रोजगारी दिइरहेको छ । मेची सिटौला हेण्डीक्राफ्ट प्रालिले पूर्वी पहाडमा पाइने वनस्पति लोक्ताबाट नेपाली कागज उत्पादन गरिरहेको छ ।
बिर्तामोडका तेजप्रसाद सिटौलाले साढे ४ करोड लगानीमा सञ्चालन गरिरहेको मेची सिटौला हेण्डीक्राफ्ट उद्योगले दैनिक १० हजार देखि १२ हजार सिट नेपाली कागज उत्पादन गर्दै आएको छ । इलाम, पाँचथर र ताप्लेजुङबाट उद्योगले लोक्ता संकलन गरी २१ वर्षदेखि कागज उत्पादन गरिरहेको सञ्चालक सिटौलाले जानकारी दिए । उनले नेपाली कागजको धेरै उपयोगिता हुन सक्ने बताएका छन् ।
सरकारले अधिकतम् ठाउँहरुमा उपयोग गर्न नीति बनाउनुपर्ने उनको भनाई छ । नेपाली कागजबाट ढाका टोपी, कोट, बालबालिकाका लागि शैक्षिक सामग्री लगायतका सामग्री निर्माण गर्न सकिने बताए ।
घरेलु उद्योगको रुपमा रहेको कागज उद्योगलाई सरकारले वेवास्ता गरिरहेको सञ्चालक सिटौलाको भनाई छ । उनले सरकारले घरेलु उद्योगलाई सहयोग गर्ने नीति लिए पनि कागज उद्योगहरुलाई कुनै पनि राहत दिन नसकेको बताए । सरकारले नै योजना निर्माण गरेर नेपाली कागज उद्योग संरक्षणमा चासो दिनुपर्ने उनको माग छ ।
कोरोना महामारी र आर्थिक मन्दीका कारण धेरै कागज उद्योगहरु बन्द भएको सिटौलाले जानकारी दिए । उनले सञ्चालनमा रहेका उद्योगहरु पनि धरासयी अवस्थामा पुगेको बताए । मन्दीका कारण व्यापार नहुने, मूल्य नपाउने जस्ता समस्याहरु भोग्नुपरेको उनले बताए ।
झापामा ३५ वटा कागज उद्योगहरु सञ्चालनमा थिए । साना उद्योगहरु धमाधाम बन्द भइरहेका छन् । इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा करिव १२ सय उद्योगहरु सञ्चालनमा रहेका छन् । पश्चिम नेपालमा समेत गरेर देशभर २५ सय हाराहारीमा नेपाली कागज उत्पादन गर्ने घरेलु उद्योगहरु सञ्चालनमा रहेको सिटौलाले जानकारी दिएका छन् ।

२०८१ जेष्ठ २४, बिहीबार प्रकाशित 0 Minutes 185 Views

ताजा समाचार