
झापा । झुटा मुद्दा लगाउने वादीबाट प्रतिवादीलाई क्षतिपूर्ति उपलब्ध गराउने भनी झापा जिल्ला अदालतले फैसला गरेको छ ।अनुचित समृद्धिको मुद्दामा वादी बिन्द्र राजवंशीले प्रतिवादी वन्दना भारद्वाज उपर झुटा मुद्दा दर्ता गरेको भन्दै रु ७५ हजार क्षतिपूर्ति भराउन अदालतले फैसला सुनाएको जिल्ला अदालतका सुपरिवेक्षक शाखा अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए।
वादीले झुट्टा मुद्दा दिएको ठहर गर्दै सोमबार जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको इजलासबाट वादी बिन्द्र राजवंशीले प्रतिवादी वन्दना भारद्वाजलाई उक्त रकम क्षतिपूर्ति भराई दिने भनी फैसला सुनाएका थिए ।

‘कसैले कसैलाई दुःख दिने वा हानी नोक्सानी पुर्याउने नियतले झुट्टा उजुरी दिएको ठहर भएमा सम्बन्धित अदालतले त्यस्तो झुट्टा उजुरी दिने उजुरी कर्ताबाट प्रतिवादीलाई मनासिब क्षतिपूर्ति भराई दिनेछ’ भन्ने मुलुकी देवानी संहिता, २०७४ को दफा २८ मा कानुनी व्यवस्था छ ।
प्रतिवादीले प्रतिरक्षा गर्दा लागेको खर्च, अदालती दस्तुर, कानुन व्यवसायीको खर्च समावेश हुने गरी सो आधारमा क्षतिपूर्ति निर्धारण हुने कानुनी व्यवस्था रहेको शाखा अधिकृत बस्नेतले बताए ।
यस्तो छ घटना
वन्दना भारद्वाजले झापा जिल्ला अदालतमा आफूले बिन्द्र राजवंशीलाई रु तीन लाख नगद र रु ४५ लाख चेक मार्फत गरी रु ४८ लाख दिएको र सो रकम नदिई सो बापतको चेक गत २०७९ पुस ३० को चेक दिएको र सो चेक नसाटिए पछि चेक अनादरमा बिन्द्र राजवंशी उपर चेक अनादर मुद्दा दायर गरेकी थिइन ।
सो चेक अनादर मुद्दामा वन्दनाको दाबी पुग्ने ठहर गर्दै झापा जिल्ला अदालतका न्यायाधीश नगेन्द्र केशरी पोखरेलको इजलासले गत २०८० माघ १५ मा फैसला गरेको थियो ।
बिन्द्र राजवंशीले झापा जिल्ला अदालतमा फिरादीलाई नोक्सान पुर्याउने गरी चेक काट्न लगाएको भनेर २०८० असोज ११ मा वन्दना भारद्वाज उपर उजुरी दर्ता गराएकी थिइन्। अनुचित समृद्धिको मुद्दामा वादी बिन्द्र राजवंशीले झुट्टा मुद्दा दर्ता गरेकाले पीडित वन्दनालाई राजवंशीबाट क्षतिपूर्ति भराउन अदालतले फैसला सुनाएको हो ।