२०८१ जेष्ठ ६ आईतवार

कोभिड खोप विवाद : विश्वभर हानिभन्दा फाइदा नै बढी

काठमाडौँ । कोभिड महामारी, लकडाउन, आईसीयू र अक्सिजनको अभाव, पीसीआर परीक्षण, खोप । करिब चार वर्षअघि विश्वभर नै यही शब्दको हाहाकार सुनिन्थ्यो । पूरै मानव जगत्लाई नै ठप्प पार्ने गरी चीनको वुहान प्रान्तबाट डिसेम्बर, २०१९ मा कोरोना संक्रमण विश्वभर फैलन सुरु भएको थियो ।

एक समय पूरै विश्वमा लकडाउनको शृंखला नै सुरु गरेको कोभिड–१९ महामारीबाट बाहिर ल्याउने प्रमुख हतियार कोरोनाविरुद्धको खोप थियो । एक अध्ययनका अनुसार कोरोनाविरुद्धको खोपले विश्वभर गरेर करिब १४ करोड मानिसको ज्यान जोगाएको छ । तर, यो खोप लगाएका करोडौं जनसंख्याको तुलनामा केहीमा समस्या नदेखिएको भने होइन । यद्यपि, अहिले उक्त खोपले पार्ने नकारात्मक असरहरूबारे व्यापक रूपमा चर्चा चुलिएको छ ।

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा करिब दस लाख मानिसमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने १२ हजार २० जनाको मृत्यु भएको छ ।

कोरोनाको महामारीबाट पार पाउनका लागि नेपालको कुल जनसंख्याको करिब ७० प्रतिशत बढीले कोरोना भाइरसविरुद्धको खोप लगाए । नेपालमा सबैभन्दा अघि र सबैभन्दा धेरै लगाइएको खोपहरूमध्ये एस्ट्राजेनेकाको कोभिसिल्ड एक हो । स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार नेपालमा करिब ३१ लाख डोज कोभिसिल्ड खोप भित्रिएको थियो । पहिलो, दोस्रो र तेस्रो डोज गरेर यो करिब १३ लाख मानिसलाई दिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

एस्ट्राजेनेकाको खोपसँगै नेपालमा धेरै मात्रामा लगाइएको अर्को खोप चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल हो । यससँगै नेपालमा केही लाख मात्रा अमेरिकी खोप मोर्डना, जोनसन एन्ड जोनसन र फाइजर पनि भित्रिए ।

हाल विश्वमा मुख्य गरेर एस्ट्राजेनेका, फाइजर र मोर्डना खोप लगाएकाहरूमा देखिने गरेका गम्भीर असरहरूलाई लिएर ठूलै खैलाबैला भइरहेको छ । तर, के अहिले विभिन्न समाचार स्रोतहरूले दाबी गरेझैं कोरोनाविरुद्धको खोप लगाएकाहरू सबैमा नकारात्मक स्वास्थ्य समस्या देखिन्छ त ?

एस्ट्राजेनेकाको कोभिसिल्ड

एस्ट्राजेनेकाले कोभिसिल्ड, भ्याक्सजेभ्रिया लगायत विभिन्न नाममा उत्पादन गरेर विश्वभर बिक्री गरेको खोप लगाउँदा दुर्लभ प्रकारको नकारात्मक प्रभाव देखिन सक्छ भनेर गत फेब्रुअरीमा बेलायतको उच्च अदालतमा बुझाएको कानुनी कागजातमा स्वीकार गरेको थियो ।

एस्ट्राजेनेकाका अनुसार कोरोनाविरुद्धको खोप लगाएकाहरूमा ‘थ्रम्बोसिस विथ थ्रम्बोसाइटोपेनिया सिन्ड्रोम’ (टीटीएस) नामक दुर्लभ प्रकारको नकारात्मक समस्या देखिन सक्छ । यो समस्याका कारण अंगहरूमा रगत जम्नुका साथै रगतमा ‘प्लेटलेट्स’ को मात्रा कम हुन्छ, जसका कारण व्यक्तिको ज्यानसमेत जान सक्छ । यसको अर्थ कम्पनीले अदालती प्रक्रियाको क्रममा आफूले विकास गरेको कोरोनाविरुद्धको खोपले गर्दा अति नै दुर्लभ प्रकारको नकारात्मक प्रभाव देखिने स्वीकार गरेको सत्य हो ।

तर, त्यसको मतलब खोप लगाएका सबैमा यही समस्या देखिन्छ भन्नेचाहिँ होइन । यो खोप सार्वजनिक रूपमा लगाउन सुरु गर्नु अगावै नै दुर्लभ नकारात्मक प्रभावका बारेमा बताइएको दाबी सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनको विचारमा कोभिडविरुद्धको खोपको विकास द्रुत गतिमा भएकै कारणले धेरैको ज्यान जोगिएको थियो । ‘नेपालीले अधिकांश अरू अल्पविकसित देशका नागरिकले भन्दा चाँडो त्यो खोप पाएका थियौं र दसौं हजारको ज्यान जोगियो,’ उनले लेखेका छन्, ‘खेदको कुरा, आजका पत्रपत्रिकाका समाचारमा यो बिग पिक्चर आएन र मान्छेहरू पछाडि फर्केर नचाहिने कुराका बारेमा मुर्मुरिँदै छन् ।’

उनको भनाइमा कोभिसिल्ड सस्तो र कारगर भएकै कारणले संसारभर लाखौं करोडौंको ज्यान जोगिएको थियो । ‘अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले सस्तोमा त्यति प्रभावकारी खोप बनाउने प्रविधिको विकास गरिदिएको र भारतमा विशाल स्केलमा त्यो खोपको उत्पादन हुन सकेकोले नेपालीले सुरुमै खोप लगाउन पाए,’ उनले भनेका छन् ।

डा. अनुप सुवेदीको भनाइसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता सहमत छन् । उनका अनुसार विदेशमा अदालती प्रक्रियाका दौरान खासगरी कोभिसिल्ड खोप विकास तथा उत्पादन गर्ने कम्पनीले दस लाख जनाले लगाउँदा १/२ जनामा दुर्लभ प्रकारको नकारात्मक प्रभाव देखिन सक्ने औपचारिक रूपमा स्वीकार गरेको देखिए मात्रै हो । ‘कोभिसिल्ड खोप लगाउँदा अत्यन्तै न्यून संख्यामा दुर्लभ प्रकारको समस्या देखिन सक्छ भनेर खोप विकास भएर लगाउन सुरु गर्दा नै थाहा भएको विषय हो,’ उनले भने, ‘नेपालमा करिब ३० लाख खोप लगाउँदा कसैमा पनि ज्यानै जाने समस्या देखिएको छैन । त्यसैले यो आत्तिनुपर्ने अवस्था होइन ।’

उनका अनुसार विश्वभर नै अहिले एस्ट्राजेनेकाको खोपलाई लिएर प्रश्नहरू उठेका कारण मन्त्रालयले खोप सल्लाहकार समितिलाई यस विषयलाई कसरी सम्बोधन गर्ने भनेर अध्ययन गर्न र सुझाव दिन निर्देशन दिएको छ । ‘अहिले बाहिर आएको विषय नौलो होइन । तैपनि हामीले खोप सल्लाहकार समितिलाई अध्ययन गर्न भनेका छौं । समितिले के सुझाव दिन्छ अनि हामी ठोस निर्णय लिन्छौं,’ उनले भने, ‘तर, समग्रमा भन्दा खोप लगाएका नेपालीहरू आत्तिनुपर्दैन ।’

डा. सुवेदीका अनुसार नेपालमा कोभिडको खोप लगाउन थालेपछि आफू कहाँ उपचारका लागि आएका हजारौं बिरामीमा एक जनामा पनि त्यसको दुर्लभ प्रकारको नकारात्मक प्रभाव उनले देखेनन् । तर, कोरोना संक्रमणका कारण भने ‘पल्मोनरी इम्बोलिज्म’ (फोक्सोको नसामा रगत जम्ने समस्या) भएका बिरामी भने उनले दर्जनौं देखेको बताए ।

यस्तै अर्का सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारीका अनुसार पनि सबै खोपको केही न केही नकारात्मक प्रभाव हुने भए पनि कोभिड–१९ संक्रमणका कारण देखिने अंगहरूमा रगत जम्ने समस्याको तुलनामा खोपको नकारात्मक प्रभाव कम थियो । त्यसकारण अहिले चर्चामा आएको विषयलाई लिएर आत्तिनुपर्ने अवस्था भने छैन ।

बेलायतकै युनिभर्सिटी कलेज लन्डनकी क्लिनिकल अप्रेसनल रिसर्च युनिटमा कार्यरत प्राध्यापक क्रिस्टिना पेगलका अनुसार पनि कोरोना महामारीको समयमा मान्छेलाई लगाउन अनुमति प्राप्त गर्ने पहिलो र सस्तो खोप एस्ट्रेजेनेकै थियो । ‘यो खोप फाइजरभन्दा सस्तो थियो, लगाउन सजिलो थियो र भण्डारण गर्नका लागि अत्यन्तै न्यून तापक्रमको आवश्यकता पनि थिएन,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘धेरैजसो देशमा यो पहिलो वयस्कहरूलाई लगाइएको थियो र पछि युवाहरूलाई दिन थालिएको थियो । सोही क्रममा यो लगाएपछि देखिन सक्ने नकारात्मक प्रभावका बारेमा चर्चा हुन थाल्यो र त्यसका बारेमा अध्ययन पनि भयो । तर यो खोप लगाउनु कोभिड लाग्नुभन्दा सुरक्षित थियो ।’

उनका भनाइमा खोपको प्रकारका आधारमा गरिएको अध्ययनअनुसार अनुमानित रूपमा २०२१ को अन्त्यसम्ममा एस्ट्राजेनेकाको खोपले गर्दा लाखौंको ज्यान जोगाउन सम्भव भएको थियो । ‘अहिले कोरोना भाइरसको विकासक्रमअनुसार अन्य एमआरएनए खोपहरू जस्तै मोडर्ना र फाइजरको तुलनामा एस्ट्राजेनेका खोपलाई परिमार्जित गर्न कठिन छ । त्यसैले कोभिड महामारीको तीन वर्षपछि बजारमा अझ बढी राम्रा खोपहरू आएका छन् । ती सस्तो, सुरक्षित र अपडेट गर्न सहज हुने प्रकारका छन्,’ उनले लेखेकी छन्, ‘त्यसैले अहिले अब एस्ट्राजेनेका खोप आवश्यक छैन । तर, यसो भन्दैमा यसले २०२१ मा दिएको योगदानलाई बिर्सन हुँदैन ।’

एस्ट्राजेनेकाका अनुसार पनि विश्व बजारबाट कम्पनीले आफ्नो खोप फिर्ता लिनुको प्रमुख कारण हाल बजारमा कोरोना भाइरसका नयाँ भेरियन्टलाई लक्षित गरेर उत्पादन भएका विकसित खोपहरूको संख्या धेरै भएकाले हो । ‘कोभिड–१९ विरुद्धको विकसित खोपहरू बजारमा अत्यधिक मात्रामा उपलब्ध रहेकाले हामीले बजारबाट हाम्रो खोप फिर्ता लिने निर्णय गरेका छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनेको छ । यस्तै भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले डिसेम्बर २०२१ देखि नै कोभिसिल्डको उत्पादन बन्द गरिसकेको छ ।

फाइजर र मोडर्ना

अमेरिकी फार्मा कम्पनीले विकास र उत्पादन गरेका फाइजर तथा मोडर्ना खोप विश्वमा कोरोना रोकथामका लागि अत्याधिक रूपमा प्रयोग गरिएका खोपहरूमध्येका हुन् । यी दुई खोप पनि नेपालका लाखौं मानिसका साथै विश्वका करोडौं मानिसमा लगाइएको थियो । एमआरएनए प्रविधिमा विकसित गरिएको यो खोप हाल विकसित कोरोनाका नयाँ भेरियन्टलाई पनि लक्षित गरेर उत्पादन भइरहेका छन् ।

एस्ट्राजेनेकाको खोपझैं फाइजरको खोप पनि विवादरहित छैन । तर, चर्चा गरिएझैं फाइजरको खोपले पनि व्यक्तिलाई समस्याभन्दा धेरै समाधान नै दिएको विज्ञहरू दाबी गर्छन् । एमआरएनए प्रविधिमा आधारित खोप लगाएका व्यक्तिमा क्यान्सरको जोखिम बढ्नुका साथै क्यान्सर निको भएकाहरूमा फर्किने जोखिम रहेको दाबी खोप विरोधीहरूले गरेका छन् । तर, उनीहरूको दाबीलाई पूर्ण रुपमा प्रमाणित गर्ने आधार भने हालसम्म नदेखिएको खोप विज्ञहरू बताउँछन् ।

यस्तै एमआरएनए प्रविधिमा आधारित कोरोनाविरुद्धको खोप लगाएकाहरूमा दुर्लभ प्रकारको मुटुसम्बन्धी समस्याहरू ‘मायोकारडाइटिस’ (मुटुको मांसपेसी सुन्निने समस्या) र ‘पेरिकारडाइटिस’ (मुटुलाई घेरेको पातलो झिल्ली सुन्निने समस्या) देखिन सक्छ । ‘मायोकारडाइटिस’ को समस्या मोडर्ना खोपको दोस्रो दोज लगाएकाहरूमा बढी देखिएको थियो । यो समस्या खासगरी युवा समूहमा देखिएको थियो । तर, अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) का अनुसार खोप लगाएपछि देखिने समस्याको तुलनामा खोपको प्रभावकारिता बढी थियो र छ । यद्यपि त्यस्ता समस्या देखिएका अधिकांश उपचारपछि ठीक भएका छन् ।

दुवै खोप लगाएपछि हुन सक्ने दुर्लभ प्रकारका समस्या करोडौं मानिसमा लगाएपछि नदेखिएको भने होइन । तर, त्यस्तो समस्या देखिन सक्नेबारे कम्पनीका साथै विज्ञहरू पहिले नै जानकार रहेको दाबी खोपका समर्थकहरूले गरेका छन् । तर, खोपका विरोधीहरूले भने खोप लगाएका करोडौंको तुलनामा केहीमा देखिएको समस्यालाई नै ठूलो बनाएको उनीहरू गर्छन् ।

यी दुवै खोपको प्रयोगका कारण विश्वमा करोडौं मानिसलाई कोरोना संक्रमणका कारण हुने जटिलता अनि मृत्युबाट जोगाउन सकिएको थियो भन्ने कुरामा कुनै दुई मत छैन । विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनअनुसार युरोप क्षेत्रमा मात्रै खोपको प्रयोगका कारण करिब एक करोड ४० लाख व्यक्तिको ज्यान जोगिएको छ । कोरोनाविरुद्धको खोप लगाएकै कारण ७० देखि ७९ वर्षको उमेर समूहमा कोरोनाका कारण हुन सक्ने मृत्यु ५७ प्रतिशतले घटेको छ । यस्तै ६० देखि ६९ वर्ष उमेर समूहमा ५४ प्रतिशतले र ५० देखि ५९ वर्ष उमेर समूहमा ५२ प्रतिशतले मृत्युको जोखिम घटेको छ ।

निष्कर्ष

के एस्ट्राजेनेकाको खोप लगाएकाहरूको अंगमा रगत जम्ने तथा रगतमा प्लेटलेट्सको मात्रा कम हुने समस्या देखिन्छ ?

देखिन सक्छ । विभिन्न वैज्ञानिक जर्नलमा प्रकाशित अध्ययन तथा खोप विकास र उत्पादन गरेको कम्पनीका अनुसार पनि यो अत्यन्तै दुर्लभ प्रकारको समस्या हो । यो खोप लगाएका १ लाख जनामध्ये केवल १ वा २ जनालाई मात्र यस प्रकारको समस्या देखिन सक्छ ।

के एस्ट्राजेनेकाले विश्व बजारमा भएका आफ्नो सम्पूर्ण खोप बजारबाट फिर्ता लिएको हो ?

हो । तर, सामाजिक सञ्जालहरूमा दाबी गरिएअनुसार खोपका कारण हुने दुर्लभ प्रकारको समस्याका कारण भने कम्पनीले खोप बजारबाट फिर्ता लिएको होइन । बरु हाल बजारमा कोरोना भाइरसका नयाँ भेरियन्टविरुद्ध अत्यन्तै सफल देखिएका अन्य धेरै खोपहरू सहज रूपमा उपलब्ध हुन थालेकाले एस्ट्राजेनेकाले आफूले उत्पादन गरेको खोप फिर्ता लिएको हो ।

के कोरोनाको खोप लगाएका कारण क्यान्सर हुन्छ ?

हालसम्मको अध्ययन र अनुसन्धानहरूमा कोरोनाको खोप लगाएकै कारण क्यान्सर हुने तथ्य फेला परेको छैन । यद्यपि यो खोपले दीर्घकालीन रूपमा पार्न सक्ने असरहरूका बारेमा भने विश्वभर नै अध्ययन अनुसन्धानहरू भइरहेका छन् र यो भइरहनु आवश्यक छ । इकान्तिपुर

(यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले गरेको फ्याक्ट चेक तथा वैज्ञानिक जर्नलमा प्रकाशित सामग्रीमा आधारित रहेर तयार पारिएको हो ।)

२०८१ बैशाख २८, शुक्रबार प्रकाशित 0 Minutes 63 Views

ताजा समाचार