२०८१ मंसिर २५ मंगलवार

लगानी सम्मेलनमा भारतीय पक्षको प्रशंसा

झापा । नेपाल-भारत उद्योग वाणिज्य संघ र भारतको मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्री (एमआईसीसीआईए) बीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपालस्थित भारतीय दूतावासले नेपाल लगानी बोर्ड र नेपाल-भारत उद्योग वाणिज्य संघसँगको सहकार्यमा आयोजना गरेको ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया-नेपाल बीटूबी मिट’ कार्यक्रममा सो सम्झौता भएको हो ।

तेस्रो लगानी सम्मेलन सम्पन्नपछि दूतावासले एमआईसीसीआईए र नेपाल-भारत उद्योग वाणिज्य संघका प्रतिनिधि सहभागी गराएर सो कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानुनलगायतको विषयमा छलफल भएको भारतीय दूतावासले जनाएको छ ।

लगानी बोर्डका उपसचिव रमेश अधिकारीले तेस्रो लगानी सम्मेलनमा भारतीय लगानीकर्ताले देखाएको सक्रियताको बारेमा चर्चा गरेका थिए । लगानी सम्मेलनको छलफलमा सहभागी भएका कयौं निजी क्षेत्रका व्यवसायी संस्थाहरु फेडेरेसन अफ इन्डिया चेम्बर अफ कमर्स इण्डस्ट्री (एफआईसीसीआई), भारतीय उद्योग परिसंघ (सीआईआई), भारतीय गैर आवासीय संघ (आईसीसी) र मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स इण्डष्ट्री (एमआईसीसीआईए) का ५० भन्दा बढी प्रतिनिधि सहभागी रहेको जनाउँदै उनीहरूको क्रियाशीलता र सहभागिता तारिफयोग्य रहेको बताए ।

नेपाल-भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणाले भारत र नेपालबीच सहकार्यका लागि जलविद्युत, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रूपमा रहेको बताइन् ।

मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री (एमआईसीसीआईए) का अध्यक्ष अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत-नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बीटूबी कनेक्सनको महत्व रहेको बताए ।

वैशाख १६-१७ गतेसम्म बसेको तेस्रो नेपाल लगानी सम्मेलनमा सहभागी भएका कैयौँ व्यक्तिगत व्यवसायका साथै एफआईसीसीआई, सीआईआई, आईसीसी र एमआईसीसीआईएका बलियो भारतीय प्रतिनिधिमण्डलको प्रशंसा गरिएको हो ।

उक्त बीटूबी बैठकमा नेपाल-भारत उद्योग वाणिज्य संघ र एमआईसीसीआईएबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताहरुका लागि लगानी सम्मेलनको एकदिन अघि अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि भारतीय प्रतिनिधिलाई उपलब्ध समेत गराइएको छ ।

छलफलमा पानी र उर्जामा नेपाल र भारतले गर्न सक्ने सम्भावनाको खोजी गरिएको छ । साउथ एसियामा पहिलो पटक क्रसबोर्डर पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आयात निर्यात भएको छ, यस्तो प्रकार अरु सम्भावना अझै भएकाले साझा रोडम्याप बनाउनु पर्ने बताइएको छ ।

अहिले विश्वमा ब्लू इकोनोमीको चर्चा पनि भइरहेको छ, भारत र नेपालका लागि पनि यो एउटा महत्वपूणर् विषय हो, उर्जामा गम्भीर भएर सोच्नुपर्ने र लगानी गर्नुपर्ने विषय छलफलमा उठेको छ ।

२०८१ बैशाख २१, शुक्रबार प्रकाशित 1 Minute 392 Views

ताजा समाचार