कुनै न कुनै समयमा शरीरको कुनै अंगको एक्स-रे हामीमध्ये धेरैले गराएकै हुन्छौं । यो जाँचबारे सबैजसो मानिसले बाल्यकालदेखि नै सुनेकै हुन्छन् ।
एक्स-रे भन्नेबित्तिकै हाम्रो दिमागमा एउटा कालो तस्वीर अगाडि आउँछ, जसमा हड्डीको तस्वीर देखिन्छ । तर यसको काम तस्वीर देखाउने मात्र होइन, अन्य धेरै छन् । जसको वास्तविक जानकारी कमैलाई थाहा होला ।
एक्स-रे के हो ?
एक्स-रे एक प्रकारको इमेजिङ परीक्षण हो । जसले तपाईंको हड्डी र त्यससँग जोडिएको अन्य अंगको तस्वीर बनाउँछ । एक्स-रे मेसिन यो चित्र बनाउन सुरक्षित मात्रामा विकिरणको उपयोग गरिन्छ । एक्स-रे मार्फत तयार भएको तस्वीरबाट चिकित्सकले उपचार गर्ने र कस्तो उपचार लाग्छ त्यसबारे योजना बनाउँछन् ।
प्राय: हड्डी भाँचिएको अवस्थामा, कुनै आकस्मिक दुर्घटनामा परेर शरीरको कुनै पनि भागको हड्डी भाँचिएको छ कि छैन र यसमा लाग्ने रोगबारे जाँच गरिन्छ । हड्डीको स्वास्थ्य मूल्यांकन गर्न एक्स-रे सुरक्षित र प्रभावकारी तरिका हो ।
एक्स-रे किन गर्ने ?
-भाँचिएको हड्डीको पहिचान गर्न
-दुखाइ र सुन्निएको लक्षणको कारण पत्ता लगाउन
-शरीरमा अन्य बाह्य वस्तुको पहिचान गर्न
-हड्डी, जोर्नी वा जोर्नीसँग टाँसिएको नरम मासुको संरचनात्मक समस्यालाई पत्ता लगाउन
-र, क्यान्सर र अन्य रोगको लागि पनि नियमित परीक्षँण आवश्यक हुनसक्छ ।
एक्स-रेका प्रकार
एक्स-रे शरीरको एक ठाउँको मात्र हुँदैन । धेरै भागको हुन्छ । जसअनुसार एक्स-रेको परीक्षणका प्रकारका छन् ।
पेटको एक्स-रे : यो एक्स-रेले मिर्गौला, पेट, कलेजो र मूत्राशयको तस्वीर लिन्छ । जसले मिर्गौला र मूत्राशयमा हुने पत्थरीको पहिचान गर्न मद्दत गर्छ । यसमा एक विशेष प्रकारको पेटको एक्स-रे हुन्छ । जसलाई बेरियम इनेमा भनिन्छ, जसले पाचन प्रणालीको उपयोग गर्न मद्दत गर्छ ।
हड्डीको एक्स–रे : हड्डी भाँच्चिएको, अव्यवस्थित जोर्नी र गोली गाँठोको अवस्था हेर्न पनि एक्स-रेको उपयोग हुन्छ । यसबाट पनि हड्डीमा भएको संक्रमण र क्यान्सरको पहिचान हुनसक्छ ।
छातीको एक्स–रे : यो परीक्षण निमोनिया, मुटु, फोक्सो र छातीको हड्डीमा देखिन सक्ने समस्या पत्ता लगाउन मद्दत गर्छ ।
डेन्टल एक्स-रे : दाँतको एक्स-रेले दाँत र गिजाको स्वास्थ्य अवस्था जाँच गर्न मद्दत गर्छ ।
फ्लोरोस्कोपी : फ्लोरोस्कोपीले अंगहरू र आन्द्रा जस्ता नरम तन्तुको तस्वीर देखाउँछ । सो एक्स-रेले फिल्म जस्तै स्क्रिनमा अंगहरूको गतिविधि समेत पत्ता लगाउँछ ।
पाचन प्रणालीको एक्स-रेमा प्रायः फ्लोरोस्कोपी प्रयोग गरिन्छ ।
सिटिस्क्यान
सिटिस्क्यान पनि एक रेडियोलोजी अध्ययन हो । जसले हड्डी, अंग र तन्तुहरूको अवस्थाको तस्वीर मोनिटरमार्फत देखाउँछ । यो मेसिन डोनट आकारको जस्तो देखिन्छ ।
मेमोग्राम : प्रदायकहरूले स्तनको तन्तुको एक्स–रे तस्वीर लिन, स्तन गाँठोहरूको मूल्यांकन गर्न र स्तन क्यान्सरको निदान गर्न मेमोग्राम प्रयोग गर्छन् । जसबाट स्तनमा पलाउने गाँठागुठी मूल्यांकन गर्न र स्तन क्यान्सरको पहिचान हुन्छ ।
एक्स–रेले कसरी काम गर्छ ?
एक्स-रेले शरीरको माध्यमबाट विकिरण पठाउँछ । सो विकिरणको प्रकाश अदृश्य हुन्छ । जुन अनुभव गर्न सकिंदैन । त्यसमा बिम शरीरभित्रबाट पास गराई त्यस नजिक भएको एक्स-रे डिटेक्टरमा तस्वीर बन्छ । शरीरमा किरण पास हुँदै गर्दा हड्डी, कोष, तन्तु र अन्य संरचनाले सो विकिरणलाई अवशोषित गर्छ । जसकारण एक्स-रेमा चमकदार सेतो रंग जस्तो देखिन्छ । तर कोमल तन्तुमा भने विकिरण सहजै अवशोषित हुँदैन । जसकारण एक्स-रेमा खैरो रंग देखिन्छ ।
एक्स–रेको लागि कसरी तयारी हुने ?
-आफ्नो स्वास्थ्य सेवा प्रदायक वा परीक्षकलाई आफ्नो स्वास्थ्यको इतिहास, एलर्जी र लिइरहनुभएको कुनै पनि औषधिको बारेमा जानकारी दिनुपर्छ ।
-सामान्यतया हड्डीको एक्स–रेको लागि तयारी गर्न केही विशेष तयारी आवश्यक हुँदैन । अन्य प्रकारका एक्स–रेहरूको लागि परीक्षकले केही तयारी गर्न र्निदेशन दिन सक्छन् ।
-कुनै किसिमको एक्स रेको लागि तयार हुँदा लोसन, क्रिम वा परफ्युमको प्रयोग गर्नु हुँदैन ।
-धातुका वस्तुहरू जस्तै गहना, हेयरपिन वा श्रवण यन्त्रहरू पनि प्रयोग गर्न मिल्दैन । एक्स–रेअघि आरामदायक लुगा लगाउनुपर्ने हुन्छ ।
एक्स–रेको जोखिम
सामान्यतया एक्स–रेहरू सबै उमेरका मानिसका लागि सुरक्षित र प्रभावकारी हुन्छन् ।
यदि गर्भवती हुने सम्भावना छ भने एक्स-रे गर्नुपूर्व चिकित्सकलाई भन्नुपर्ने हुनसक्छ । किनकि, एक्स-रेबाट आउने विकिरणले भ्रूणलाई नोक्सान पुग्न सक्छ । गर्भवती भएमा कम हानि भएमा एमआरआई वा अल्ट्रासाउन्ड गर्न चिकित्सकले सुझाउँछन् ।
एक्स–रेको नतिजा कहिले पाइन्छ ?
हड्डी एक्स–रे परिणामहरू सामान्यतया तुरुन्तै तयार हुन्छन् । एक्स–रेपछि नतिजाबारे चिकित्सकले परामर्श दिनेछन् । त्यसबाहेकको एक्स-रेको परीक्षणको नतिजा आउन धेरै समय लाग्न सक्छ ।
एक्स–रेको साइड इफेक्ट
एक्स-रेपछि कतिपयलाई एलर्जी हुनसक्छ । एक्स–रेको एक-दुई दिनपछि लक्षण देखा पर्न सक्छन् । यदि टाउको दुखाइ, छाला दाग, चिलाउने, बान्ता वा वाकवाकी र सास फेर्न गाह्रो भएको अनुभव भएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । तर यी लक्षण कमैलाई मात्र देखिन्छ ।