फागु परस्पर मेलमिलाप र सामाजिक सौहार्दको पर्व हो । यस पर्वले भाइचाराको सन्देश दिन्छ । फागुको दिन सबैले आफ्नो पुराना रिसराग बिर्सेर एकअर्कालाई अँगालो हालेर रङ लगाउँछन् । यो पर्वमा यस्तो शक्ति छ किवर्षौं पुरानो शत्रुता पनि आजको दिन मित्रतामा परिणत हुन्छ । त्यसैले फागुलाई सद्भावको पर्व पनि भनिन्छ ।
समय एउटा घटना र अर्को घटना बीचको भिन्नता बुझाउन प्रयोग गरिने विषय हो । युग, संवत्सर, संवत्, वर्ष, महिना, दिन, प्रहर, घन्टा आदि समयका एकाइ हुन् । पृथ्वीले सूर्यलाई एक फन्को मार्दा ३६५ दिन लाग्दछ, जसलाई वर्ष भनिन्छ । वर्षलाई १२ वटा महिनामा बाँडिएको छ । ती हुन्- चैत, वैशाख, जेठ, असार, साउन, भदौ, असोज, कात्तिक, मंसिर, पुस, माघ, फाल्गुन । मानिसले रहनसहन, आर्थिक क्रियाकलाप, चाडपर्व, संस्कारादि कार्यहरू ऋतु र महिनाको प्रकृति अनुसार सुनिश्चित र व्यवस्थित गरेका छन् । प्रत्येक महिनाको आफ्नै विशेषताहरू छन् । तथापि फाल्गुन महिना मानिसका लागि बढी पि्रय रहेको छ । यस महिनाको पूणिर्मा फाल्गुनी नक्षत्रमा पर्ने भएकोले यस महिनाको नाम फाल्गुन राखिएको हो ।
फाल्गुन महिना र ऋतुराज वसन्त प्रकृतिको वरदान हो । फाल्गुन महिनादेखि विस्तारै जाडो कम हुँदै र गर्मी बढ्दै जान थाल्छ । फाल्गुनको आगमन हुँदै फाल्गुनी हावाले मौसम परिवर्तनको अनुभूति गराउँछ । चिसोले छुन छाड्छ, गर्मीले छोएको हुँदैन । हावा, हुरी, वषर्ा आदिको भयले छुँदैन । पतझड सकिएर वृक्षहरू हरियो हुन थाल्छन् । आँप, लिची, जामुन, कटहर आदि फलका वृक्षहरूमा मञ्जर लाग्न थाल्छ । मन्द गतिको वायुले मञ्जरको सुगन्धलाई फैलाइरहेको हुन्छ । कोइलीको कुहु कुहु पनि सुनिन थाल्छ । मन आनन्दले भरिन्छ । जीवनमा नयाँ ऊर्जा, नयाँ उत्साह जागृत हुन्छ । वषर्ामा सकिएको वाषिर्क चाडपर्वको नयाँ सिलसिला पुनः प्रारम्भ भइरहेको हुन्छ । त्यसैले फाल्गुन महिनालाई हर्षोल्लासको महिना पनि भनिने गरिएको छ ।
फाल्गुन महिनामा श्रीहरि विष्णुले नृसिंह अवतार ग्रहण गरी भक्त प्रहृलादलाई हिरण्यकश्यपुबाट बचाएका थिए । यस महिनामा भगवान शिवले कामदेवलाई जलाएर खरानी बनाए भने रतिको अनुनयमा कामदेव पुनः भेटिने भनेर रतिलाई आशीर्वाद दिएका थिए । फाल्गुन महिनामा नै चन्ऽमाको जन्म भएको मानिन्छ । फाल्गुन शुक्लपूणिर्माको दिन ऋषि अत्रि र देवी अनसूयाको पुत्ररत्नको रूपमा चन्ऽमाको जन्म भएको विश्वास रहेको छ ।
ज्योतिषशास्त्रका अनुसार चन्ऽदेवद्वारा सबै प्राणीको मन नियन्त्रित भइरहेको हुन्छ । चन्द्रमाले मनमा विचार उत्पन्न गर्छ, तर चञ्चलताबाट पनि जोगाउँछ । चन्ऽदेवका आराध्य भगवान शिव हुन् र भगवान शिवले चन्ऽमालाई आफ्नो शिरमा धारण गरेका छन् । फाल्गुन महिनामा भगवान् श्रीकृष्ण, नृसिंह अवतार भगवान विष्णु, माता जानकी, भगवान शिव र चन्ऽदेवको पूजा-आराधनाको विशेष महत्व छ । फाल्गुन शुक्लअष्टमीका दिन देवी लक्ष्मी र देवी सीताको पूजा गर्ने चलन छ । महाशिवरात्रि र फागु पर्व फाल्गुन महिनाका विशेष चाडहरू हुन् । यो महिना होलिका दहन र वसन्तोत्सवसँगै समाप्त हुन्छ ।
फाल्गुन कृष्ण चतुर्दशीका दिन भगवान् शिवको आराधनाको महान् पर्व शिवरात्रि मनाइन्छ । यसै दिन भगवान् शिव यस लोकमा दृष्टिगोचर भएकाले यस दिन शिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रि शिव उपासनाको पर्व हो । उपवास, जागरण र शिवलिंगलाई बेलपत्रसहित जलाभिषेक गरी यस पर्वलाई सार्थक बनाइन्छ । महिलाका लागि शिवरात्रिको विशेष महत्व छ । अविवाहिता असल पतिको कामना गर्दै व्रत लिन्छन् भने विवाहिताले पति र परिवारको मंगल कामना गर्छन् । फाल्गुन कृष्णपक्षको विशिष्ट पर्व महाशिवरात्रि हो भने फाल्गुण शुक्लपक्षको विशिष्ट पर्व होली र फागु हो ।
होली र फागु सामान्यतया एउटै पर्वको दुईवटा नामको रूपमा प्रचलित छ । तर यी दुई नाम पर्वको दुई हिस्सा पनि हो । होली यस चाडको पूर्व हिस्सा हो भने फागु उत्तर हिस्सा । समग्रमा यो युद्ध र विजयोत्सवको पर्व हो । अघिल्लो भाग सत् र असत् बीचको युद्धको प्रतीक स्वरूप होलिका दहनको आयोजन हो भने पछिल्लो भाग सत् र असत्को युद्धमा सत्को सम्पूर्ण विजयोत्सव ।
होली पर्व विजयको प्रतीकको रूपमा मनाइन्छ । असत्यको अन्त्यको रूपमा होलिकाको दहन भएको पौराणिक आख्यानको प्रतिरूप होलिका दहन गर्ने परम्परा छ । होलिका दहन फाल्गुन शुक्लपक्षको पूणिर्माको रातमा गरिन्छ र त्यसको भोलिपल्ट फागु पर्व मनाइन्छ । पौराणिक कथा अनुसार हिरण्यकश्यपु नामक राजाले पृथ्वीमा शासन गरेका थिए, जो स्वयंलाई भगवान् मान्दथे । भगवान् विष्णुको अस्तित्वलाई अस्वीकार गर्दथे । उनले आफ्नो राज्यमा सबैलाई आदेश दिएका थिए कि कसैले पनि भगवान्को पूजा नगर्नू । तर उनको आफ्नै छोरा प्रहृलाद भने भगवान् विष्णुका परम भक्त थिए । जब हिरण्यकश्यपुले छोरा प्रहृलादलाई भगवान् विष्णुको पूजा गरेको देखे, उनले त्यो सहन गर्न सकेनन् । छोरालाई दण्ड दिने निर्णय गरे । हिरण्यकश्यपुले प्रहृलादलाई धेरै पटक कष्ट दिने प्रयास गरे तर भगवान् विष्णुले प्रहृलादलाई सधैं साथ दिए । पर्वतको टुप्पामा लगेर धक्का दिएर, हात्तीले कुल्चेर प्रहृलादलाई मार्ने अनेक उपाय गरे तर प्रत्येक पटक भगवान् विष्णुले भक्त प्रहृलादको रक्षा गरे ।
हिरण्यकश्यपुकी बहिनी थिइन् होलिका । होलिकालाई आगोले जलाउन नसक्ने शक्ति प्राप्त थियो । त्यसैले हिरण्यकश्यपुले बहिनी होलिकालाई प्रहृलादलाई काखमा लिएर आगोमा प्रवेश गर्न लगाए । तर परिणाम सोचे जस्तो नभएर उल्टो भयो । भगवान् विष्णुको कृपाले प्रहृलाद सकुशल आगोबाट निस्के तर होलिका आफैं आगोमा डढेर खरानी भइन् । त्यसै घटनाको प्रतीक हो होलिका दहन । कथा अनुसार, अन्ततः हिरण्यकश्यपु आफैंले छोरा प्रहृलादलाई मार्न आक्रमण गर्दा भगवान् विष्णु प्रकट भएर हिरण्यकश्यपुको बध गरेका थिए ।
भगवान् विष्णुले नृसिंह अवतार लिएको समय पनि यही भएकोले होलिका दहनको भोलिपल्ट फागु मनाउनुअघि भगवान् विष्णुको नृसिंह रूपको विशेष पूजा अर्चना एवं हवन गरिन्छ । नृसिंह अवतार भगवान् विष्णुको १० अवतारमध्येको चौथो अवतार हो । फागु पर्व नृसिंह भगवान्को अवतरण दिवसको रूपमा पनि मनाइन्छ ।
फागु पर्व चाडको रूपमा भए पनि एक सांस्कृतिक उत्सव हो । फागुलाई पूजा-अर्चनाको सन्दर्भले चाडको रूप दिएको छ भने खानपान, रंग-अबिर, नाचगान आदि कुराले यसलाई एक उत्सवको रूप प्रदान गर्दछ । खीर र मालपुवा फागुको विशेष पकवान हो । खीर र मालपुवा भगवान्लाई भोग लगाउनुका साथै खानपानको मुख्य परिकारको रूपमा प्रयोग गरिन्छ । फागुको दोस्रो प्रमुख परिकार मासु हो । यसो भन्दा मालपुवा र मासु नै फागुको मुख्य खाना हो भन्न सकिन्छ । मिथिला संस्कृतिका चाडपर्वहरूमा मासु स्वीकार्य मानिंदैन । तर नवरात्र र फागु विजय पर्व भएकोले यी पर्वमा मासु खानपानको चलन छ । फागुमा नशालु पदार्थको सेवन पनि पर्वकै एक हिस्साको रूपमा रहेको देखिन्छ ।
मिथिलामा मदिराको चलन धेरै पुरानो छैन । यहाँको पारम्परिक नशालु पदार्थ भाङ हो । भाङ भनेको गाँजा प्रजातिको एक प्रसिद्ध बिरुवा हो, जसको पात मादक हुन्छ र जसलाई मानिसहरू मादकताका लागि पिसेर पिउने गर्छन् । भारतको लगभग सबै स्थानमा र विशेषगरी उत्तर भारतमा र नेपालको तराईमा यसको पत्तीको लागि बिरुवा रोपिन्छ । केवल स्त्रीजाति भाङको बिरुवाको पात नशाको लागि प्रयोग गरिन्छ । यसमा दूध, चिनी, काजु, किसमिस, ल्वाङ, मरीच, बदाम आदि मिसाएर पिउने गरिन्छ । चिकित्साशास्त्रमा यसलाई कफनाशक, पाचननाशक, मिर्गौला, पित्त उत्प्रेरक, शक्तिवर्धक, बौद्धिक, रासायनिक, स्वादिष्ट, कब्जियत निवारक र निऽाजनक औषधिको रूपमा लिइन्छ ।
फागु एक रंगीन अर्थात् रंग र खुशीको पर्व हो । यस पर्वलाई रंगहरूको पर्व पनि भनिन्छ । हिन्दुहरू खानपान गरी एकअर्कामा रंग-अबिर हालाहाल गरी जब नाचगानमा झुम्मिन थाल्छन्, फागु तब झल्किन थाल्छ । रंग-अबिर खेल्दै र नाचगान गर्दै जाँदा जब जोगिरा सुरु हुन्छ, फागु यथार्थमा तब उत्कर्षमा पुगेको अनुभूत हुन्छ । फागुका एक से एक लोकपि्रय लोकगीतहरू छन्, जसले फागुलाई उल्लासमय बनाउँछ । केटाकेटी, युवायुवती, नरनारी र समवयी पुरुषहरू समूहबद्ध भएर एकअर्काको घरमा गएर रंग-अबिर लगाएर होलीको शुभकामना दिने क्रम जब सुरु हुन्छ तब होली र फागुले पूर्णता प्राप्त गर्दछ ।
फागु ऋतुचर्या पर्व हो । फागु वसन्त ऋतुको प्रमुख पर्व हो । यसलाई वसन्तोत्सव पनि भनिन्छ । यस ऋतुमा चैते नवरात्रा, रामनवमी, सीता जयन्ती, हनुमान जयन्ती, नव वर्ष, सिरुवा जस्ता पर्वहरू मनाइन्छन् ।
फागु अध्यात्म एवं प्रेमको पनि पर्व हो । फागु एक धार्मिक, सांस्कृतिक र परम्परागत चाड हो । राजा हिरण्यकश्यपुले छोरालाई अनेक किसिमले सम्झाउने प्रयास गरेका थिए । म नै यस संसारको सर्वोपरि हुँ, म नै संसारको संरक्षक हुँ, म नै दण्डाधिकारी हुँ भनी बताएका थिए । तर प्रहृलाद भने बाबु हिरण्यकश्यपुको कथनसँग सहमत थिएनन् । उनले भनेका थिए कि- ईश्वर नै संसारको स्रष्टा र दण्डाधिकारी हुन् । संसारको पारलौकिक शक्ति हुन् । ईश्वर एक मात्र सत्य र शाश्वत छन् । अन्यथा सबै नाशवान् हुन् । ईश्वरको अस्तित्वलाई नकार्नु अज्ञानता हो । वसन्तोत्सव यसै आध्यात्मिक परम चेतनाको रूपमा मनाइन्छ ।
फागु परस्पर मेलमिलाप र सामाजिक सौहार्दको पर्व हो । यस पर्वले भाइचाराको सन्देश दिन्छ । फागुको दिन सबैले आफ्नो पुराना रिस बिर्सेर एकअर्कालाई अँगालो हालेर रङ लगाउँछन् । यो पर्वमा यस्तो शक्ति छ कि वर्षौं पुरानो शत्रुता पनि आजको दिन मित्रतामा परिणत हुन्छ । त्यसैले फागुलाई सद्भावको पर्व पनि भनिन्छ । फागु पूर्णताको पर्व हो । पर्वको उमंगले मानिसलाई लौकिक र पारलौकिक अनुभूति प्रदान गर्दछ । यो पर्व सबै वर्गका मानिसले मनाउने गर्छन् । सामाजिक विभेदबाट उन्मुक्त छ यो पर्व ।
विजयको प्रतीक पर्व होली संसारभर प्रसिद्ध छ । होली पर्व भारत, नेपालका साथै बंगलादेश, अमेरिका, अष्ट्रेलिया, क्यानडा जस्ता देशहरूमा पनि प्रसिद्ध छ । अन्य धर्मावलम्बीले पनि यो पर्वलाई हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
ज्योतिषीय गणना अनुसार विक्रम संवत् २०८० फाल्गुन ११ गते आइतबार बिहान ०९.५६ मिनेटमा चतुर्दशी सकिएपछि पूणिर्मा प्रारम्भ भएर सोमबार १२.०२ सम्म रहनेछ । होलिका दहन आइतबार साँझदेखि अबेर रातिसम्म गरिनेछ । मिथिलाञ्चलमा होलिका दहनलाई सांस्कृतिक पर्वको रूपमा आत्मसात् गरिएको छ । होलिका दहन गाउँ-टोल, समुदायमा सामूहिक रूपमा गरिन्छ । यसमा काठ, बाँस आदि थुपारेर ढिस्को बनाई त्यसलाई असुरराज हिरण्यकश्यपुकी बहिनी होलिकाको प्रतीक मानेर हाहाहुहु गर्दै जलाइन्छ । होलिका जलेपछि केही बेर होली गीत गाउने चलन छ ।
भोलिपल्ट एकाबिहानैदेखि केटाकेटीहरू रंग-अबिर हालाहाल गर्न थाल्छन् भने महिलाहरू होलीको पकवान पकाउने काममा लाग्दछन् । युवायुवती फागुको तयारीमा लाग्छन् भने प्रौढहरू गोसाइँपूजामा लाग्छन् । मिथिलाञ्चलमा घरघरमा आ-आफ्नो कुलदेवताको दैनिक पूजाअर्चना गर्ने परम्परा छ । फागुको दिन कुलदेवतालाई जल, फूल, धूप, दीपका साथै नेवैद्यमा खीर, मालपुवा, केरा, मिष्टान्नादि भोग लगाइन्छ ।
होली पर्वमा फागुको उत्सवमा प्रत्येक व्यक्ति व्यस्त रहन्छन् । दैनिक रोजगारी तथा यात्रा कार्यक्रम स्थगित रहन्छ भने फागुको किनमेल बाहेक अन्य प्रयोजनका लागि बजार बन्द रहन्छ । यस दिन यातायात व्यवसायीले पनि सवारी साधनलाई थन्क्याएका हुन्छन् । पर्वोत्सव बाहेक सम्पूर्ण सार्वजनिक गतिविधि बन्द रहन्छ । नेपाल सरकारले होलीको अवसरमा पहाडी र मधेशका जिल्लामा एक एक दिन गरी सार्वजनिक बिदा दिने गरेको छ । मधेश सरकारले फाल्गुन १३ गते बिदा दिएको छ । जनकपुरधाममा होलीको अवसरमा महारानी सीताको १५ दिने परिक्रमा डोला चल्ने भएको र सो डोला होलीको भोलिपल्ट फर्किने हुँदा यहाँ तेस्रो दिन होली मनाउने चलन छ । यसपल्ट तेस्रो दिन मंगलबार परेकोले यहाँ चौथो दिन फागु मनाइने हुन सक्छ र जनकपुरधाम उपमहानगरपालिकाले सम्भवतः चौथो दिन बिदा दिनसक्ने देखिन्छ ।
फागु पर्वको चर्चा फागु गीत विना अधुरो रहन्छ । हुनत माघ शुक्लपक्षको छैटौं दिन अर्थात् श्रीपञ्चमीको पूजा विसर्जनसँगै अर्थात् एक महिनाअघिदेखि नै फागु गीतको थालनी गरिन्छ । दिनहुँ साँझ परेपछि होलैया (होली गीत गाउने) हरू सार्वजनिक स्थलमा भेला भएर ढोल, मृदङ्ग, डम्फु, झ्याली वाद्यवादन लिएर होली र फागुनी गाउँछन् ।
होली अघिको आठ दिनलाई होलाष्टक भनिन्छ । होलाष्टकको अवधिमा होलिया गायन अनिवार्य रहन्छ । यही होलिया टोलीहरू फागुको दिन खानपान र रंगअबिर खेलिसकेपछि देउसीभैलो झैं घरघरमा गएर फागु गीत र जोगिरा गाउँछन् । होलिया टोलीहरूलाई पकवान र नगद दक्षिणा दिने चलन छ । दक्षिणामा जम्मा भएको रकम सामाजिक सम्पत्ति जगेर्ना गरी राखिने कार्यमा खर्च गरिन्छ ।
होलीमा अनेक किसिमका लोक गीत प्रचलित छन् । फिल्म र अडियो भिडियो प्रविधिको विकासले गर्दा होलीको गीतको संख्या निकै बढेको छ । होलीमा आपसमा हाँसो, ठट्टा, उपहास, जिस्क्याउने चलन छ । ‘बुरा नमानो होरी है’ एक प्रकारको नारा नै रहन्छ । आधुनिक होली गीतहरूमा अश्लीलताको अंश पनि बढ्दो छ । होलीका लोकगीत र जोगिराहरूमा पनि उपहासको छाप नपरेको होइन तर धार्मिकता यसको आधारको रूपमा रहेको देखिन्छ । होलीका गीतहरू अधिकांशतः भगवान् शिव-पार्वती, राम-सीता, गोपी-कृष्णसँग जोडेर गाइन्छ । अनलाइन खबरबाट