२०८१ बैशाख १६ आईतवार

महिनावारीमा कसरी संक्रमणबाट बच्ने ?

प्रजनन उमेरमा स्वस्थ महिलामा हुने प्राकृतिक चक्र नै महिनावारी हो। तर नेपाली समाजमा अझै पनि विभिन्न धार्मिक र सामाजिक परिवेशका कारणले यसलाई रोगकै रूपमा चित्रण गरिएको पाइन्छ। महिनावारी भएका महिलालाई फोहोरी महिलाको रूपमा विभेद गरेर विभिन्न काममा समावेश नगर्ने चलन पनि यहाँ अझै व्याप्त छ। ज्ञानको अभाव र अन्धविश्वासले जकडिएको मानसिकताले यस्तो भएको हो। आजको पुस्तामा यो सोच विस्तारै हराउँदै छ। महिनावारीलाई प्राकृतिक प्रक्रियाको रूपमा स्विकार्ने परिपाटी युवा पुस्तामा बढ्दै गएको छ।

महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरू

* व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ। सरसफाइको कमीले यौनांग र पाठेघरमा विभिन्न रोगको संक्रमण भई भोलिका दिनमा यो रोगको रूपमा परिवर्तन हुन सक्छ।

* महिनावारीको बेला यो फोहोर रगत हो भन्दै महिलालाई टाढा राखिन्छ। तर यस्तो मानसिकता त्याग्नुपर्छ। पाठेघरको भित्री पत्र (इन्डोमेट्रियम लेयर) मा हुने परिवर्तनले रक्तस्रावको रूपमा रगत बाहिर निस्कन्छ। यसलाई सामान्य रूपमा लिएर त्यसैअनुरूप आफ्नो दैनिक कार्यमा सक्रिय हुनुपर्छ।

* बजारमा धेरै किसिमका स्यानिटरी प्याड पाइए पनि महिलाका सामाजिक र आर्थिक कारणले गर्दा सबैले प्याड प्रयोग गर्दैनन्। केहीले आफ्नै घरमा भएका कपडा प्रयोग गर्छन्। कपडा सफा नभए रोगको संक्रमण हुन सक्छ।

* कपडा सकेसम्म कटनको सेतो र हल्का रंगका कपडा प्रयोग गर्नुपर्छ। यस्तो कपडामा रगतको दाग देखिने हुनाले राम्रोसँग धुनुपर्छ।

* घरका पुरुषले देख्लान् भनेर कपडालाई सकेसम्म कसैले नदेख्ने अँध्यारो ठाउँमा सुकाउने गरिन्छ, यसो गर्नु हुँदैन। कपडालाई सधैं घाममा सुकाए रोगका कीटाणु मरेर संक्रमण हुनबाट जोगाउँछ।

* स्यानिटरी प्याड प्रयोग गरेर यसलाई धेरै लामो समयसम्म लगाइराख्नु हुँदैन। स्कुल, कलेज, अफिसमा महिलामैत्री शौचालय छ भने करिब ४ घन्टाको अन्तरालमा प्याड परिवर्तन गरिरहनुपर्छ। चिसो र भिजेको प्याड लगाइरहँदा यसले हाम्रो ध्यान त्यसैतर्फ केन्द्रित गरिरहने हुनाले काममा ध्यान दिन सकिँदैन। अर्कोतर्फ लामो समय भिजेको प्याड लगाउँदा त्यसमा कीटाणुले सप्रने मौका पाउँछ।

* पहिले विदेशतिर मात्रै पाइने मेन्स्ट्रयल कप अहिले नेपालमा पनि उपलब्ध छ। तर हाम्रो देशको परिप्रेक्ष्यमा अहिले नै यसको प्रयोग गर्नु त्यति सुरक्षित नदेखिएला। योनीभित्र नै प्रयोग गरिने यो कपलाई राख्न र निकाल्न सफा हातको प्रयोग गर्नुपर्ने हुनाले यसको प्रयोग त्यति सुरक्षित मानिन्न। त्यसमा पनि अविवाहित युवतीले त्यसलाई राख्दा योनीमा संक्रमण भई रोग निम्त्याउने खतरा बढ्छ।

* पाठेघरको अण्डाशयबाट उत्पादन हुने हर्मनको समस्याले गर्दा रगत बगिरहने समस्या पर्न सक्छ। तर कतिपय युवतीले लाज र डरका कारणले आफ्ना अभिभावकलाई समेत यो भन्दैनन्। पछि डाक्टरकहाँ पुगुन्जेल रगतको निकै अभाव भएर एनिमियासम्म भइसकेको हुन सक्छ। बिरामीलाई रगत नै दिनुपर्ने अवस्था आउन सक्छ। त्यसैले थोरै रगत बगिरहेको छ भने पनि समस्यालाई लुकाउनु हुँदैन, चिकित्सकको सल्लाह लिएर उपचार गर्नुपर्छ।

* महिनावारी हुँदा सन्तुलित आहारमा विशेष ध्यान दिनुपर्छ। पोषणयुक्त खाना, मन तातो र झोलिलो खानेकुरा खानुपर्छ। पानी र फलफूल पनि प्रशस्तै खानुपर्छ।

* स्कुल, कलेज जान सक्दिनँ कि भन्ने मानसिकताले पनि सक्रिय जीवनशैलीमा बाधा पुग्न सक्छ। त्यसैले स्वस्थ आहार र सरसफाइमा ध्यान दिएर सक्रिय हुनु जरुरी हुन्छ।

* महिनावारी हुँदा हल्का पेट र कम्मर दुख्न सक्छ। यसो हुँदा तातोपानीले सेक्ने र मनतातो झोलिलो खानेकुरा खानुपर्छ। धेरै नै दु*खेको खण्डमा चिकित्सकको सल्लाहमा सामान्य नदुख्ने औषधि खान सकिन्छ।

* प्राय* महिनावारी २८ दिनको चक्र हुन्छ। कति दिनको फरकमा आफ्नो महिनावारी हुन्छ भन्ने याद गर्नुपर्छ। २१ देखि ३५ दिनसम्मको चक्रलाई ठीकै मानिन्छ। यो अगाडि वा पछाडि भएमा समस्या मानेर जँचाउनु जरुरी हुन्छ।

* अण्डाशयबाट हर्मन उत्पादन हुने कुरामा समस्या देखापर्ने, थाइराइडले गर्दा वा पाठेघरको समस्याका कारणले पनि महिनावारी गडबडी हुन सक्ने हुनाले यस्तो अवस्थामा पनि चिकित्सकलाई देखाइहाल्नु पर्छ।

पहिलो महिनावारीमा के गर्ने ?

* किशोरावस्थामा पुगेका छोरीहरूलाई विद्यालय र परिवारमा नै महिनावारी शिक्षा दिनु जरुरी हुन्छ।

* महिनावारी हुनु अगाडि नै महिनावारी चक्र यो हो, यो हुनु भनेको स्वस्थ महिलाको लक्षण हो भनेर घरका आमा र दिदीहरूले सिकाउने र यसै विषयमा छलफल गर्नुपर्छ।

* अपर्झट महिनावारीमा रगत देख्दा डराउने र आत्तिन सक्ने भएकाले यसमा पनि राम्रोसँग सम्झाउनु, बुझाउनु पर्छ।

* अण्डाशयको विकास नभएको अवस्थामा थोरै मात्रै रगत देखा पर्न सक्छ। यसमा चिन्ता लिनु पर्दैन।

* पहिलो महिनावारीपछि अर्को महिनावारी हुन दुई तीन महिनादेखि वर्ष दिनसम्म पनि लाग्न सक्छ। यसमा पनि आत्तिनु पर्दैन। तर वर्षौं महिनावारी भएन र शरीरमा अवस्थपनका केही लक्षण देखिन थाले चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।

* अरूले जस्तै सरसफाइ र खानपिनमा ध्यान पुर्‍याउनु आवश्यक छ। अन्नपुर्ण पोष्टबाट

(वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.शान्ति जोशीसँग रामकला खड्काले गरेको कुराकानीमा आधारित)

२०८० चैत्र २, शुक्रबार प्रकाशित 0 Minutes 60 Views

ताजा समाचार