२०८१ बैशाख २१ शुक्रबार

प्यारिभिट्टा बसपार्क : पुनः सञ्चालनमा, देशकै सुविधासम्पन्न बनाउने लक्ष्य

काँकरभिट्टा । निर्माणकार्य पूरा भएर पनि विविध कारणले सञ्चालन हुन नसकेको प्यारिभिट्टा बसपार्क अब सञ्चालनमा आएको छ ।

सञ्चालन भएसँगै बसपार्कका लागि जग्गा उपलब्ध गराउने दाताहरु एवं सरोकारवालाहरुको धोको २ दशकपछि बल्ल पूरा भएको छ । मेचीनगर–७ स्थित पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको जग्गामा बसपार्क निर्माण गर्ने शर्तमा २०५९ सालमा केही दाताहरुले करीब ३ बिघा जग्गा निःशुल्क दिएका थिए ।

त्यसबेला ध्रुव शिवाकोटी, खगेन्द्र उप्रेती, तेज शिवाकोटीलगायतका दाताले बसपार्क बनाउन जग्गा दिएका हुन् ।

त्यसपछि मेचीनगर नगरपालिकाले बसपार्कको डिपिआर तयार गर्ने क्रममा जग्गा अपुग हुने भएपछि थप जग्गा प्राप्तिका लागि पहल गर्नेगरी काँकरभिट्टा गाविसका तत्कालीन उपाध्यक्ष बन्धनकुमार मुण्डाको संयोजकत्वमा माधव अर्याल सचिव, नारद निरौला कोषाध्यक्षलगायत रहेको समिति बन्यो ।

जग्गाको जोहो गर्न उक्त समितिले लिएको पहलकदमीसँगै थापा परिवारबाट थप ३ बिघा १० कठ्ठा जग्गा प्राप्त भयो र, डिपिआर तयार भई निर्माणकार्य प्रारम्भ भएको थियो ।

त्यससँगै नगर विकास कोषको करीब ७ करोड ९२ लाख रुपैयाँ ऋण सहयोगमा प्यारिभिट्टा बस पार्कको पहिलो चरणको कार्य र काँकरभिट्टा बस टर्मिनलको काम पूरा भयो ।

बढ्दो शहरीकरण, जनघनत्व, साँघुरिँदो सडकसँगै सवारीसाधनको चापलाई समेत मध्यनजर गर्दै स्थानीय सरकार देशकै सुविधासम्पन्न बसपार्क बनाउने अभियानमा लागीपरेको मेचीनगर ७ का वडा अध्यक्ष प्रल्हादमणि ओलीले बताए ।

काँकरभिट्टा गाविसका तत्कालीन अध्यक्ष डिल्लीराम घिमिरेको संयोजकत्वमा गठित सदस्यसचिव माधव अर्याल, उपाध्यक्ष सुरेन्द्र बुढाथोकीलगायत रहेको बस टर्मिनल, बस पार्क तथा यातायात व्यवस्थापन समिति मेचीनगरले निर्माण कार्य पूरा गर्यो ।

समितिका संयोजक घिमिरेका अनुसार दोस्रो चरणमा जगेडा कोषको अढाई करोड रुपैयाँ थप लगानी गरी प्यारिभिट्टामा वर्कसप, सर्भिसिङ सेन्टर, सटरहरु र शौचालय निर्माण कार्य पूरा गरी पुनः करीब २५ लाख रुपैयाँ बराबरको सोलार बत्ती जडान गरिएको छ ।

२०७४ सालमा तत्कालीन नगरप्रमुख विमल आचार्यको नेतृत्वमा थप आधारभूत विषयको तयारीसहित २०७४ असोजमा बस पार्क उद्घाटन भए पनि तत्कालीन व्यवस्थापन समितिले पानी, बिजुलीजस्ता आधारभूत आवश्यकता पूरा गर्न नसक्ता सञ्चालन अवरुद्ध बन्न पुगेको थियो ।

त्यसपछि नगरप्रमुख गोपाल बुढाथोकी नेतृत्वको कार्यपालिकाले २०८० वैशाखमा पुनः काँकरभिट्टा बस टर्मिनल, प्यारिभिट्टा बस पार्क र समग्र मेचीनगरको यातायात व्यवस्थापन गर्न घिमिरेको संयोजकत्वमा सर्वदलीय समिति गठन गरेको थियो ।

समितिलाई आवश्यक पर्ने ऐनकानून, कार्याविधि मापदण्डसमेत तयार पारी कामको जिम्मेवारी बाँडफाँड भएपछि समितिले थप केही तयारी गरेको थियो ।

विद्युत विस्तार, शौचालय र कम्पाउण्डवाल मर्मतसम्भार, खानेपानीलगायतको आवश्यक तयारी पूरा गरी गएको असोज ३० गतेबाट यातायात व्यवस्थापन समितिको नेतृत्व र नगरप्रमुख बुढाथोकीको प्रमुख आतिथ्यतामा पुनः प्यारिभिट्टा बस पार्क शुभारम्भ भयो ।

बस टर्मिनलको व्यवस्थापन र बस पार्कको पूर्ण सञ्चालनका लागि आगामी कार्ययोजना तयार गरी कार्यान्वयनको प्रक्रियामा अघि बढेको समितिका संयोजक घिमिरे बताउँछन् ।

समितिले काँकरभिट्टा बस टर्मिनललाई व्यवस्थित, अनुशासित र मर्यादीत ढंगले सञ्चालन गर्न समयसारिणी (टाइमकार्ड) निर्धारण गरी तोकिएको समयमा बस पार्कबाट टर्मिनल प्रवेश गर्ने र तोकिएको समयमा बस टर्मिनलबाट गन्तव्यतर्फ प्रस्थान गर्ने व्यवस्था मिलाउने भएको छ ।

सो कार्यका लागि काँकरभिट्टा बस टर्मिनलको व्यवस्थापन गर्न विभिन्न स्थानमा ढाट निर्माणकार्य अघि बढेकाले १० दिनभित्र उक्त काम पूरा भई टाइमकार्ड लागू हुने समितिका सदस्यसचिव अर्याल बताउँछन् ।

टर्मिनलको उत्तरपट्टिको भाग खाली गरी नेपाल–भारत चल्ने तीन पाङ्ग्रे सवारीसाधन (ई–रिक्सा) को स्टेण्ड निर्धारणपछि संख्या तोकेर आलोपालो पद्धतिबाट सञ्चालन गर्ने र मेची पुलको भीडभाड व्यवस्थापन गरिने उनको भनाई छ ।

समितिका उपाध्यक्ष सुरेन्द्र बुढाथोकीले अब सबै यात्रुवाहक सवारीसाधनहरुले बस टर्मिनलको उत्तरपट्टिबाट प्रवेश गरी उत्तरपश्चिमको विन्दूमा पुगी यात्रु ओराल्ने र गणतन्त्र मार्ग हुँदै सिधै प्यारिभिट्टा बसपार्कमा लगेर पार्किङ गर्ने व्यवस्था मिलाइएको बताए ।

उनका अनुसार आफ्नो पालो आएपछि पुनः टर्मिनलमा तोकिएको समयमा स्टेण्ड लगाउन आउने र आफ्नो टाइमकार्डका आधारमा गन्तव्यतर्फ प्रस्थान गर्ने व्यवस्था मिलाइनेछ ।

साना सवारी साधनहरुलाई अर्को व्यवस्था नहुञ्जेलसम्म अस्थायी पार्किङका लागि सुपारीलाइन र हनुमान मन्दिर अगाडिबाट हुलाक अगाडिसम्म एकतर्फी पार्किङको व्यवस्था गर्न लागिएको समितिले जनाएको छ ।

त्यसैगरी, तीन पाङ्ग्रे अटोहरुलाई सुर्योदय मार्गको ढाका होटल अगाडिबाट उत्तरतर्फ एकतर्फी अस्थायी पार्किङ व्यवस्थापन मिलाउने, छिमेकी मुलुकबाट नेपाल भित्रिएका पर्यटकहरुले प्रयोग गरेका सवारीसाधनहरुलाई सुर्योदय मार्गको पूर्वपट्टि र भन्सार उत्तरपट्टिको क्षेत्रमा पार्किङ व्यवस्थापन मिलाउने तयारी समितिले गरिरहेको छ ।

सिटी रिक्साको अस्तव्यस्ततालाई व्यवस्थापन गर्न बस पार्कको उत्तरपूर्वी भागमा स्टेण्ड बाहेकका अन्य सिटी रिक्सालाई विकेन्द्रीत गरी सुर्योदय मार्ग हुँदै बाहुनडाँगी जाने सिटी रिक्साका लागि अटोको उत्तरपट्टिको स्टेण्ड क्षेत्र एकतर्फी निर्धारण गर्ने, सतिघट्टा जाने रुटका लागि सतिघट्टा रोडमा एकतर्फी स्टेण्ड निर्धारण गर्ने तयारी भइरहेको समितिका सदस्य एवं पूर्व मेची बस व्यवसायी संघ प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ बताउँछन् ।

काँकरभिट्टाबाट इटाभट्टातर्फ जाने सिटी रिक्साहरुलाई पनि सोही स्थानमा स्टेण्ड निर्धारण गर्ने, मालवाहक पिकअप गाडीहरुलाई वारुणयन्त्रको जग्गामा अस्थायी पार्किङको व्यवस्था गर्ने, बाहुनडाँगी, गाडागल्ली हुँदै इलामको सलकपुरतर्फ जाने बसहरुको अस्थायी स्टेण्ड भट्टराई चोकलाई बनाउने तयारीमा समिति जुटेको छ ।

काँकरभिट्टाको यातायात सञ्चालनलाई अनुशासित, मर्यादित र व्यवस्थित गर्न सरोकारवालापक्षसँग परामर्श भइरहेकाले केही समयपछि संयुक्त बुकिङ काउण्टरमार्फत यातायात सञ्चालनको व्यवस्था मिलाइने समितिले जनाएको छ ।

बस टर्मिनल व्यवस्थित भएसँगै मेची पुल र बजारमा देखिएको अस्तव्यस्तता हट्ने, अव्यवस्थित पार्किङ व्यवस्थित भई यात्रु र सेवाग्राहीहरुले सुविधा महसुस गर्ने, बजार चलायमान र ट्राफिक जाम हट्ने समितिको विश्वास छ ।

बसपार्क सञ्चालन भएपछि दाताहरुबाट प्राप्त जग्गा प्रयोगमा आई दाताहरुले आत्मसम्मानको अनुभूति गर्दै आर्थिक गतिविधि बढ्ने र नगरपालिकाको आम्दानीको स्रोतको विकास हुने अपेक्षा लिइएको समिति संयोजक घिमिरेको बुझाई छ ।

बसपार्क सञ्चालन भएपछि आयआर्जन र रोजगारी वृद्धि भई स्थानीय जनताको जीवनस्तर माथि उठ्ने परिकल्पना गरिएको समितिका सदस्यसचिव अर्यालले बताए ।
मेचीनगरको समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा लिइएको बसपार्कका केही चूनौति अझै रहेकाले संयमतापूर्वक समाधान हुने उनी बताउँछन् ।

व्यवस्थापन समिति, नगरपालिका र आम नगरवासीहरुको साथ र सहयोगमा सबैखाले चूनौतिहरुलाई क्रमशः समाधान गर्दै जान सकिनेमा समिति विश्वस्त देखिएको छ । नेपालको पूर्वी सीमावर्ती शहर काँकरभिट्टाबाट देशका सबै जिल्लासम्म सवारीसाधन पुग्ने गरेका छन् ।

प्रमुख गन्तव्यका रुपमा रहेको काँकरभिट्टामा बनेको एशियन हाईवेबाट छिमेकी मुलुक भारत, भूटान, बंगलादेशलगायतका धेरै देशसँग स्थल मार्ग जोडिएको छ ।

२०८० फाल्गुन २९, मंगलवार प्रकाशित 0 Minutes 244 Views

ताजा समाचार