
टक्सार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले २०८४ को गीत गाउन आवश्यक नरहेको बताएका छन् । नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलन तथा प्रशिक्षणमा आज उनले अन्य दलहरूले ल्याएको ‘मिसन ८४’ बाट मुलुकमा केही पनि कायापलट नहुने भन्दै त्यसले कांग्रेसलाई कुनै असर नगर्ने स्पष्ट पारे ।
“लोकतन्त्रमा चुनाव हुन्छ । कांग्रेसले ८४ को गीत गाउन आवश्यक छैन, चुनावको चिन्ता नलिई काममा केन्द्रित अहिलेको आवश्यकता हो”, उनले भने । उनले राणाशासनको अन्त्य गर्दै मुलुकलाई यहाँसम्म ल्याउन नेपाली कांग्रेसको प्रमुख योगदान भएकाले सबै पक्षलाई समेटेर समाजमा देखिएको निराशा चिर्दै अगाडि बढ्नु कांग्रेसको प्रमुख दायित्व भएको बताए ।

“अरुले के गरेभन्दा पनि संयमतापूर्वक कांग्रेस अगाडि बढ्न आवश्यक रहेको छ”, महामन्त्री शर्माले भने, “नयाँ आएका ब्याण्डबाजामा सबैलाई नाचौनाचौ लागे पनि पुरानो नौमति बाजाको छुट्टै महत्व छ ।”