२०८१ बैशाख २० बिहीबार

बुद्ध, अम्बेडकर र साम्यवाद

मेखराज उदय

ब्रह्माण्ड वा संसारको उत्पत्तिबारे विश्वमा दुईखाले दृष्टिकोण विद्यमान छन् । पहिलो, ईश्वरवादीहरू यो ब्रह्माण्ड ईश्वरले सृष्टि गरेको मान्यता राख्दछन् । ब्राह्मण (हिन्दु) धर्ममा यो ब्रह्माण्डको सृष्टि ब्रह्माले गरेको मान्छन् भने अन्य इसाई, इस्लाम आदि धर्ममा पनि ईश्वर, प्रभु, अल्लाह आदिले सृष्टि गरेको मान्छन् ।

दोस्रो, बुद्धले ब्रह्माण्डको कसैले सृष्टि गरेको भन्ने मान्यता नै अस्वीकार गर्दछन् । तथागत बुद्ध भन्छन्, ‘यो ब्रह्माण्डको उद्विकास (डेभलपमेन्ट) भएको हो, कोही कसैले सृष्टि गरेको होइन ।’

आधुनिक विज्ञानले पनि पृथ्वी तथा सारा संसारको विकास भएको तथ्य नै प्रमाणित गर्दछ । बुद्धले ईश्वर वा सृष्टिकर्ताको अस्तित्वलाई नै अस्वीकार गरेका छन् । मानिसहरूले ईश्वरबारे कुरा र कल्पना गरेका छन्, तथापि अहिलेसम्म कसैले पनि ईश्वरलाई देखेका छैनन् । अर्थात् ईश्वर अज्ञात छ । त्यस्तै कसैले पनि ईश्वरको अस्तित्व एवं ईश्वरले संसार सृष्टि गरेको भनी प्रमाण दिन सक्दैन किनकि, संसारको उद्विकास भएको हो, कसैले सृष्टि गरेको होइन ।

बौद्ध दर्शनको मूल सिद्धान्त

ईश्वरमा आस्था राखेर मानवलाई कुनै फाइदा छैन । बुद्ध भन्छन्, ‘ईश्वरमा आधारित धर्म अनुमानमा आधारित हो । यसर्थ ईश्वरमा आधारित धर्म अपनाउन योग्य छैन ।’ बुद्धले ईश्वरको अस्तित्वको सिद्धान्त अस्वीकार गर्नुका मुख्यतः ८ आधार दिएका छन् । ब्राह्मणद्वय वासेठ्ठ र भारद्वाजसँगको संवादमा उनले यसबारे स्पष्ट व्याख्या गरेका छन् ।

एकपटक मोक्षको सत्मार्ग कुन हो र कुन मार्ग गलत हो भन्ने विषयमा वासेठ्ठ र भारद्वाजबीच विवाद भयो । संयोगवश तथागत बुद्ध त्यही समयमा भिक्षुहरूको साथमा कोसलको बाटो हुँदै यात्रारत थिए । बुद्धले ती ब्राह्मणद्वयलाई सम्बोधन गर्दै ईश्वर वा सृष्टिकर्ता कोही नभएको ८ आधार बताए । जसमध्ये पहिलो, वेदहरूमा वर्णित ऋचाहरूमा कुनै ब्राह्मणले आफ्नै आँखाले ब्रह्मा (कथित सृष्टिकर्ता) को दर्शन गरेको उल्लेख छ ? तीनै वेदमा कुनै गुरुले साक्षात् ब्रह्माको दर्शन गरेको उल्लेख छ ? जवाफ हो, छैन । न त सबैभन्दा अगाडिकोले नै देखेको छ, न त बीचमा हुनेले, न त सबैभन्दा पछाडि हुनेले देखेको छ । सृष्टिकर्ता छ भन्नु अर्थहीन शब्दजाल मात्रै हो ।

दोस्रो, ब्रह्मा, परब्रह्मा सर्वज्ञानी, अपराजित, सर्वजयी, सबैको रक्षक, संहारकर्ता, सबैको स्वामी, सृष्टिको रचनाकार, सर्जक, सबैको केन्द्र, ब्रह्मा हो भने उसकै रचना हामी किन यति कमजोर, अस्थायी र परिवर्तनशील छौं ? हाम्रो जीवन यति छोटो किन छ र हाम्रो मृत्यु किन अनिवार्य छ ? तेस्रो, ईश्वर सर्वव्यापी छ र उसकै चाहनामा सबै सृष्टि भएको हो भने, मानिसलाई सधैं केही गरिरहने इच्छाले नबाँध्नुपर्ने हो । न त केही गर्नुपर्ने आवश्यकता नै हुनुपर्ने हो । मानिस पूर्णतः निष्क्रिय रहनुपर्ने हो । यसरी बुद्धले क्रमशः अन्य तर्कहरू दिए ।

बौद्ध दर्शनका मुख्य तीन सिद्धान्त छन्, जसमध्ये पहिलो—अनीश्वरवाद हो भने दोस्रो, अनात्मवाद । त्यस्तै तेस्रो, क्षणिकवाद हो । बुद्ध ईश्वरीय सत्ता मान्दैनन् । संसार प्रतित्यसमुत्पाद अर्थात् कारण कार्यको शृङ्खलाको नियम अनुसार चल्दछ । अतः यो ब्रह्माण्डको सञ्चालन गर्ने कोही छैन ।

त्यस्तै दोस्रो, बुद्धका अनुसार मानिसहरू जसलाई आत्मा भन्दै आइरहेका छन्, त्यो चेतनाको अविच्छिन्न प्रवाह हो । विश्वमा चार देश छन्, जसको आधिकारिक धर्म बौद्ध हो । भुटान, कम्बोडिया, म्यानमार र श्रीलंका बौद्ध धार्मिक देश हुन्, जहाँको ७० प्रतिशत भन्दा बढी जनसंख्या बौद्ध धर्म मान्दछन् । थाइल्याण्ड र लाओसमा समेत बौद्ध धर्मलाई विशेष धर्मको रूपमा मान्यता दिइएको छ, जहाँ बहुसंख्यक जनता यो धर्म मान्दछन् ।

बुद्ध र मार्क्सको साम्यवाद 

चौथो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन १९५६, नोभेम्बर १५ मा नेपाल आएको बखत डा. भीमराव अम्बेडकर भन्थे, ‘कम्युनिस्ट जीवन पद्धतिले दिएको भन्दा अझ राम्रो पद्धति बुद्ध धम्म, धर्मले दिएको थियो । यो तथ्यलाई बुद्धमार्गी मुलुकका नयाँ पुस्ताले मूल्यांकन गर्न सकेनन् भने बुद्ध धर्मको पतन हुनेछ । साम्यवादको विकल्प बुद्ध धम्म र दर्शन हो । बुद्ध धर्मले साम्यवादसँग र भिक्षुहरूले कार्ल मार्क्ससँग प्रतिस्पर्धा गर्न सक्छन्, सक्नुपर्दछ ।’

अम्बेडकरको विचारमा साम्यवादकोे लक्ष्यमा पुग्न कम्युनिस्ट जीवन पद्धति भन्दा बुद्धवादी जीवन पद्धति टिकाउ एवं सही छ । समय लाग्ने, घुमाउरो, अप्ठ्यारो भए पनि सही बाटो प्रयोग गर्दा मात्रै गन्तव्यमा पुग्न सकिन्छ । किनभने त्यो दिगो बाटो होइन भने सो बाटो पहिल्याउनुको कुनै तुक हुँदैन ।

डा. अम्बेडकर थप भन्छन्– साम्यवादको सिद्धान्त के हो ? यो केबाट सुरु हुन्छ ? जवाफ हो, संसारमा शोषण छ, धनीले आफ्नो स्वामित्व कायम गरेको सम्पत्तिको कारणले गरिबलाई शोषण गर्दछ । उनीहरूले आम मानिसलाई दास बनाएका हुन्छन्, र त्यो दासत्वले पीडा, दुःख र गरिबी निम्त्याउँछ भन्ने सिद्धान्तबाट साम्यवाद सुरु हुन्छ । यो मार्क्सको प्रस्थान विन्दु हो ।

अब यसको मार्क्सले समाधान पनि बताएका छन् । पहिलो, मार्क्सले शोषित पीडित वर्गको गरिबी र पीडाको व्यवस्थापन गर्न निजी सम्पत्ति राख्ने अधिकार खारेज गरे । किनभने निजी सम्पत्तिका मालिकले श्रमिकले उत्पादन गरेको वस्तुको अतिरिक्त मूल्य हडप्छ, र श्रमिकले आफ्नो उत्पादनको अतिरिक्त मूल्य पाउँदैन ।

मार्क्स भन्छन्, ‘श्रमिकको आफ्नो उत्पादनको अतिरिक्त मूल्य किन मालिकले हडप्छ ? यसको जवाफ हो, राज्य नै एक मात्र मालिक हो ।’ त्यसैले उनले सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्त प्रतिपादन गरेका हुन् । मार्क्सको अर्काे मान्यता हो, शोषित वर्गले सत्ता चलाउनुपर्छ, शोषक वर्गले होइन । सर्वहारा वर्गको अधिनायकत्वको अर्थ यही हो । यही मार्क्सवादका आधारभूत मान्यता हुन् । यी मान्यताका बुँदाहरू थपिएका, विस्तार गरिएका समेत छन् ।

बुद्धले २५०० वर्षअघि यस्तै कुरा गर्दै भने, ‘संसारमा दुःख छ ।’ दुःखलाई बुद्धले गरिबीको अर्थमा प्रयोग गरेका छन् । ईश्वरवादीहरूले जस्तो दुःखलाई पुनर्जन्म, जीवन र मृत्युको चक्रको रूपमा बुद्धले प्रयोग गरेका होइनन् । दुःखको आधारसम्म समेत बुद्ध र मार्क्सको विचारमा समानता छन् । त्यो दुःखको आधार बुद्धले धेरै पहिले निर्माण गरिसकेका छन्, जो मार्क्सवादसम्म गइरहन जरूरी नै छैन । बुद्धले आफ्नो दीक्षाबारे दिएको पहिलो प्रवचन हो, ‘धर्म चक्र प्रवर्तन सुत्त ।’

बुद्ध–अम्बेडकरले मार्क्सले जस्तै साम्यवादको परिकल्पना गरेका छन् । साम्यवाद, समाजको मूल समस्या, पुग्ने गन्तव्यमा भारी समानता भएतापनि अवलम्बन गर्ने बाटो मात्रै भिन्न रहेको देखिन्छ ।

उक्त सुत्तमा साम्यवादबारे सम्पूर्ण समाधान प्राप्त गर्न सकिन्छ । बुद्धले आफ्नो धम्मको आधार कुनै ईश्वर वा आत्मा वा कुनै अलौकिक कुरामा अड्याएका होइनन् । बुद्धले सम्पत्तिमा उठाएका सवाल र मार्क्सले भनेका कुरामा सामीप्यता पाइन्छ । मार्क्सले भनेका छन्, शोषण रोक्न राज्यले उत्पादनका साधन, सम्पत्ति र स्वामित्व लिनुपर्दछ । जमिन, उद्योगधन्दा राज्यको हुनुपर्दछ ताकि श्रमिकको आफ्नो श्रमबाट पाउने मूल्यमाथि कुनै निजी सम्पत्तिका मालिकले हस्तक्षेप गरेर मजदुरबाट उसको मूल्य हडप्न नपाओस् ।

यता बुद्धले भनेका थिए, ‘कुनै पनि भिक्षुले निजी सम्पत्ति राख्न पाउँदैन ।’ हालसम्म पनि बहुसंख्यक देशका भिक्षुहरूको निजी सम्पत्ति छैन, कत्ति पनि छैन । विनयपिटकका अनुसार बुद्धको समयमा आर्यहरूबीच विभिन्न जाति एकआपसमा लडाईं गरिरहेका थिए । विभाजित बनेका केही जातिले आफ्नो भूमि गुमाए र भौंतारिंदै थिए । तिनै भौंतारिएका समूहलाई परिव्राजक भन्ने गरिन्थ्यो ।

ती परिव्राजकहरूका लागि बुद्धले समूहमा संगठित गरे र जीवनका नियम दिए । बुद्धको नियम अनुसार भिक्षुले सातवटा मात्रै वस्तु आफूसँग राख्न पाउँछन् । जस्तैः छुरा, पानी पिउने लोटा, भिक्षा पात्र, तीनवटा चिवर र लुगा सिउने सियो । त्यसैले बुद्धको विनयपिटकको नियम बमोजिमको व्यवस्था भन्दा अन्य साम्यवादको मूलतत्व अन्त कहीं हुँदैन । मार्क्सले भनेको साम्यवादको मुख्य कुरा नै निजी सम्पत्तिको अन्त्य हो ।

अम्बेडकर भन्छन्, ‘निजी सम्पत्तिको बन्देजको यो नियमलाई कति हदसम्म सिंगै समाजमा लागू गर्न सकिन्छ । त्यो व्यावहारिक रूपमा लागू गर्न सकिन्छ कि सकिंदैन भन्ने कुरा समय, परिस्थिति र मानव समाजको विकासमा भर पर्दछ । जहाँसम्म सिद्धान्तको कुरा छ, के निजी सम्पत्तिको उन्मूलन गर्नु कुनै गल्ती होइन र कोही त्यस्तो गर्न चाहन्छ भने बुद्ध धम्म उसको बाटोमा तगारो भएर उभिंदैन, किनभने पहिल्यै बौद्ध धर्म संघको गठनबाट यस्तो छुट दिइसकेको छ ।’

अन्त्यमा

अब सबैभन्दा महत्वपूर्ण र मूल विषयमा जाऔं । साम्यवादसम्म पुग्न मार्क्स र कम्युनिस्टहरूले अवलम्बन गर्न चाहेको बाटो र साधन के हुन् ? यो महत्वपूर्ण प्रश्न हो । मार्क्सवादको साधन दुःखको स्वीकारोक्ति, निजी सम्पत्तिको उन्मूलन हो र यसको बाटो चाहिं हिंसा र विपक्षीहरूको हत्या हो । यहीं बुद्ध र मार्क्सबीचको आधारभूत भिन्नता छ । मानिसलाई आफ्नो सिद्धान्त अँगाल्न लगाउने बुद्धका तरिका भनेको उत्प्रेरणा, नैतिक शिक्षा र प्रेम हुन् । शक्ति होइन, प्रेमद्वारा सबै चीज जित्न सकिन्छ भन्ने मान्यताबाट आफ्ना शत्रुलाई जित्न चाहन्छन् ।

मार्क्सवादले राज्यसत्ता विरुद्ध बल प्रयोग वा हत्या, हिंसाको प्रयोगलाई अनिवार्य भनेका छन् । बुद्ध–अम्बेडकरले बल प्रयोगको सिद्धान्तलाई पूर्णतया निषेध गरेका छैनन् तथापि अन्य बाटो, विकल्प बाँकी नरहेको अवस्थामा मात्रै अनुमति दिन्छन् । किनभने बुद्धले आफ्नो जीवनकालमा समकालीन राज्य प्रमुखहरूलाई सेना, सुरक्षा बल विघटन गर्ने सुझाव कहिल्यै नदिनुले यही कुराको पुष्टि गर्दछ । बुद्ध–अम्बेडकरले मार्क्सले जस्तै साम्यवादको परिकल्पना गरेका छन् । साम्यवाद, समाजको मूल समस्या, पुग्ने गन्तव्यमा भारी समानता भएतापनि अवलम्बन गर्ने बाटो मात्रै भिन्न रहेको देखिन्छ । अनलाइन खबरबाट

२०८० फाल्गुन १९, शनिबार प्रकाशित 0 Minutes 79 Views

ताजा समाचार