२०८१ बैशाख ८ शनिबार

प्रदेश १ : मन्त्रालय नतोक्दा कार्यकक्षदेखि निवाससम्म समस्या

विराटनगर ।  प्रदेश १ सरकार गठन भएको साता दिन बितिसक्दा पनि अहिलेसम्म विना विभागीय मन्त्रीहरूको मन्त्रालय तोकिएको छैन। मन्त्रालय नतोक्दा उनीहरूले कार्यालयदेखि निवाससम्मै कठिनाइ बेहोर्नु परिरहेको छ ।

त्यसो त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  पुस २५ गते शपथग्रहण गरेको पहिलो दिनमै यसअघि मुख्यमन्त्री कार्यालयबाहेक १२ वटा मन्त्रालय रहेको प्रदेश १ मा नयाँ सरकारले मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरिसकेको छ ।

प्रदेश १ स्थापना भएको पहिलो कार्यकालमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ७ वटा मन्त्रालय रहेका थिए तर संघमा भएको राजनीतिक उत्तरचढावले निम्त्याएको परिस्थितिअनुसार तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको संख्या बढाएर  १३ वटा बनाएका थिए।

केन्द्रीय सत्ता समीकरणअुनसार प्रदेशमा पनि भागबण्डाको टुंगो लगाउन र मन्त्रालयको संरचनामा सहमति कायम गर्न केही दिन लाग्न सक्ने मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ।

यद्यपि कुन मन्त्रालयमा कुन गाभ्ने भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको श्रोतले बतायो। मुख्यमन्त्री कार्कीले  शपथग्रहण गरेसँगै ६ जना मन्त्री नियुक्ति गरेका थिए।

हालसम्म तिलकुमार मेन्याङ्बो, दुर्गाप्रसाद चापागाईं, भक्तिप्रसाद सिटौला, जीवन आचार्य, बुद्धिकुमार राजभण्डारी र निर्मला लिम्बू विना विभागीय मन्त्री नियुक्त भएका छन्।

कुन मन्त्रालय कुनमा गाभिन्छ?

मुख्यमन्त्री कार्की नेतृत्व सरकारले मन्त्रालय संरचना  घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ९ वटामा झार्ने तयारी गरेको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ।

श्रोतका अनुसार जसमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय रहने गरी तयारी भइरहेको छ।

कार्यकक्षदेखि निवाससम्म समस्या

मन्त्रालय टुंगो नलाग्दा यति वेला मन्त्रीहरूका लागि कार्यकक्ष व्यवस्थापन गर्न कर्मचारीलाई समस्या भएको छ।

मुख्यमन्त्रीसहित ६ जना मन्त्रीको कार्यकक्ष मुख्यमन्त्री कार्यालयमै व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ। मन्त्रालयको टुंगो नहुँदा मन्त्रीलाई निवासको समेत समस्या झेल्नु परेकाले उनीहरू होटलमै बसिरहेका छन्।

मन्त्रीहरू तिलकुमार मेन्याङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बू विराटनगरस्थित होटल बिगमा बस्दै आएका छन् भने मन्त्री द्वय दुर्गाप्रसाद चापागाईं र बुद्धिकुमार राजभण्डारी विराटनगरमै आफन्तकोमा बस्दै आएका छन्।

यता, मन्त्री जीवन आचार्य भने विराटनगरस्थित आफ्नै घरमा बस्दै आएका छन्। सभामुख बाबुराम गौतम पनि सरकारी निवास नहुँदा होटलमा नै बस्नुपर्ने बाध्यता रहेको छ । थाहा खबरबाट

२०७९ माघ २, सोमबार प्रकाशित 0 Minutes 204 Views

ताजा समाचार