ज्यामिरगढी । मेचीनगर–१५ का वडाअध्यक्ष गुणराज भट्टराई(राजन) ले क्रमागतरुपमा आउनुपर्ने बजेटमा विलम्ब हुँदा झोलुङ्गे पुल निर्माणको गति तत्कालका लागि रोकिन पुगेको बताएका छन् ।
वडाको विकास निर्माणलगायत अन्य गतिविधिबारे अवगत गराउँदै बुधवार वडा कार्यालयमा सञ्चारकर्मीहरुसँग उनले सो कुरा बताएका हुन् । उक्त पुलको निर्माणकार्य रोकिएपछि स्थानीयवासी चिन्तित हुँदै निमार्ण सुचारु गर्न दबाव दिइरहँदा वडाध्यक्ष भट्टराईले सो विषय प्रस्ट पारिएको बताए ।
“हालसम्म ६० प्रतिशत काम भएको छ, पूरा हुन ४० प्रतिशत बाँकी छ” प्राविधिकको भनाई उदृध गर्दै उनले भने, “लठ्ठा आइसक्यो, जोड्न बाँकी छ ।” क्रमागत ढंगको बहुवर्षे योजनामा परेको सो पुलका लागि प्राविधिक कारणवशः बजेट विन्यास हुननसक्ता असारको पहिलो सातादेखि काम ठप्प भएको भट्टराईको भनाई थियो ।
“निर्माणाधीन पुलको सन्दर्भमा विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् ” उनले थपे, “यही वडामा परेको योजना र आफू पनि यसै वडाबाट निर्वाचित जनप्रतिनिधि हुनुका नाताले प्रष्ट्याउन सान्दर्भिक ठानेँ ।”
संघीय सरकारको कूल ४ करोड ३८ लाख रुपैयाँ बजेटको सो पुल निर्माणको ठेक्का मेचीनगर नगरपालिकाले थानी निर्माण सेवा प्रालि काठमाडौंलाई दिएको थियो ।
“करिब २ करोड रुपैयाँ खर्च भइसक्ता १ वर्षेअवधिको काम सम्पन्न भएको ठेकेदारको कुरा छ”, भट्टराई भन्छन्, “अढाई वर्षमा पूरा गर्नुपर्ने ठेक्का हो, बजेट आउँदै गर्छ, अधूरो काम फागुनदेखि अघि बढ्छ ।”
फाउण्डेशन जगको पिलर चर्केकै हो, १४ मिटर तलको कंक्रिट निकाल्दा जेसिभी लगाउँदा त्यस्तो भयो” सञ्चारकर्मीको जिज्ञासामा उनले भने, “स्तम्भमै समस्या होइन, त्यसलाई पुनर्निमाण गर्न मिल्छ ।”
३ सय ५० मिटर लम्बाई र १.५ मिटर चौडाईको पुलको निर्माण भएपछि विभिन्न कामकाजका लागि निन्दाखोला आउजाउ गर्न वर्षौंदेखि सास्ती खेप्न बाध्य खोला वारि र पारिका नागरिकले राहत महसुस गर्ने भट्टराईको विश्वास छ ।
वडाको हेल्दुबारी र बिचार्नी जोड्न मध्यभागमा रहेको निन्दा खोलामा निर्माण थालिएको उक्त पुल २०७९ कात्तिक १० गते शिलान्यास गरिएको थियो । प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा र प्रदेश सांसद गोपाल तामाङले निर्वाचित भएलगत्तै पहिलो कार्यक्रमका रुपमा सो पुलको शिलान्यास गरेका थिए ।
पुल बनेपछि निन्दा खोलापूर्व वडा नम्बर १५ को मेचीपारि( ग्वालबस्ती, सिसुबारी बस्ती र झारु बस्ती), बिचकामत, हेल्दुबारी, फँडानी, भिन्डीबारीलगायतका ४० प्रतिशत नागरिक प्रत्यक्ष लाभान्वित बन्ने उनी बताउँछन् ।
त्यस्तै, पुलको निर्माणकार्य पूरा भएसँगै निन्दा खोलापूर्वकै विशेषगरी मेचीनगर–७ का गोमनसरी, सतिघट्टा, गौचरनलगायतका स्थानीयले समेत सुविधा पाउनेछन् ।
‘संघीय सांसद विश्वप्रकाश शर्मा र नगरप्रमुख गोपाल बुढाथोकी हराएको’ भन्ने व्यंग्यात्मक प्रचारले वडाको ध्यानाकर्षण भएको छलफलका क्रममा भट्टराईले बताए ।
‘माननीय विश्वप्रकाश शर्मा ज्यू जनताको बीचमै हुनुहुन्छ, पुलको विषयमा उहाँ संवेदनशील हुनुहुन्छ, धेरैजसो यसै क्षेत्रमा हुनुहुन्छ, कुराकानी भइरहेकै छ, नगरप्रमुख ज्यू पनि यतै हुनुहुन्छ’, उनले भने ।
वडाध्यक्ष भट्टराईले सुदूरपूर्वको दूरदराजमा पर्ने भौगोलिकरुपमा विकट वडा मेचीनगर–१५ ले शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार र संरचना निर्माणमा क्रमशः फड्को मार्दै गरेको बताए ।
सिंचाईलाई प्राथमिकतामा राखेर वडा अघि बढेको जानकारी गराउँदै उनले बजेटको परिधिभित्र रहेर प्राथमिकीकरण गरिएका जनताका आवश्यकता कार्यान्वयन गरिँदै जाने बताए ।
राष्ट्रिय आवास कम्पनीको विषय अहिले ठूलो मुद्दाका रुपमा देखापरेको उल्लेख गर्दै भट्टराईले कम्पनी मातहतका जग्गाको स्वामित्व पालिकामा ल्याउन संघीय सांसद विश्वप्रकाश शर्माबाट विशेष पहल भएको बताए ।
वडा, पालिका, प्रदेश र संघको साझा प्रतिबद्धता र पहलबाट मात्र वडामा विकास निर्माणलगायत जनताका प्रत्यक्ष सरोकार राख्ने विषय कार्यान्वयन सम्भव हुने उनको बुझाई थियो ।
सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा वडा सचिव कमल थापा, वडा सदस्यहरु बिर्खलाल राजवंशी, राजु राजवंशी, सुशीला राजवंशी, सपना परियारलगायत सहभागी थिए ।