२०८१ जेष्ठ ६ आईतवार

कोशीको अध्यादेश : नेतालाई गाडी बाड्न ऐन संशाेधन, जिसस प्रमुखको अधिकार खोसियो

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सांसदका पदाधिकारी थप गर्ने गरी अध्यादेश जारी गरेका छन् । सत्ता पक्षका दलका नेताहरुलाई गाडी सुविधा दिन प्रदेशसभाको अधिवेशन अन्त्य गरेको १० दिनपछि मुख्यमन्त्री कार्कीले केही प्रदेश ऐनलाई संशाेधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हुन् ।

२६ पुसमा प्रदेशसभाको अधिवेशन अन्त्य गरेका मुख्यमन्त्री कार्कीले ६ माघमा अध्यादेश जारी गरेका थिए । नयाँ अध्यादेशले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सम्बन्धी ऐन २०७५ ऐन दफा २ को ‘ख’ संशाेधन गरी प्रदेश सभाका पदाधिकारीको संख्या थप गरेको छ । थप गरिएका पदाधिकारीलाई सरकारले प्रदेशसभा सचिवालय मार्फत गाडी, ड्राइभर र इन्धनलगायत अन्य सुविधा दिनेछ ।

यसअघिको ऐनमा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्षी दलको नेता, सत्ता पक्ष दलको सचेतक र प्रदेशसभा समितिका सभापतिलाई सेवा सुविधा दिने प्रावधान थियो । अध्यादेश जारी भएपछि प्रदेशसभा सदस्य रहेका पूर्व मुख्यमन्त्री, सत्ता पक्षका दलका नेताहरु, प्रमुख प्रतिपक्षी दल तथा प्रतिपक्षी दलका नेताहरुले समेत सुविधा पाउनेछन् ।

यो अध्यादेश जारी भएपछि सत्ता पक्षका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, काँग्रेस दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धब थापा, माओवादी केन्द्रका दलका नेता इन्द्रबहादुर आङ्बो, प्रतिपक्षी दल राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र एक मात्रै सांसद रहेको जसपाकी सांसद निर्मला लिम्बूले पनि गाडी सुविधा पाउनेछन् । उनीहरुको मासिक सुविधा पनि बढ्नेछ ।

यसअघि प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा ‘पदाधिकारी भन्नाले सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षका प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेत, प्रतिपक्षी दलको नेता, सत्ता पक्षको नेता, सत्ता पक्ष दलको सचेतक र प्रदेशसभा समितिका सभापति समेतलाई बुझ्नु पर्छ ।’ भन्ने उल्लेख थियो ।

अध्यादेशले संसोधन गरेको दफा २ को ख मा भनिएको छ ,‘ पदाधिकारी भन्नाले सभामुख, उपसभामुख, प्रदेश सभाको बहालवाला सदस्य रहेको पूर्व मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्षी दलको नेता, सरकारमा सहभागि रहेका दलहरुका संसदीय दलको नेता, सत्ता पक्षको समेतक र प्रदेशसभा समितिका सभापतिर्ला समेत सम्झनुपर्छ भन्ने उल्लेख छ ।’ उनीहरुले सोही ऐनको अनुसूची १ संसोधनपछि थप सुविधा पाउनेछन् ।

जिसस प्रमुखको अधिकार खोसियो

मुख्यमन्त्री केदार कार्कीले अध्यादेश मार्फत जिल्ला समन्वय समितिका प्रमुखहरुको अधिकार पनि खोसेका छन् । कोशी प्रदेश जनस्वास्थ्य ऐन २०७७ लाई अध्यादेश मार्फत संसोधन गर्दै मुख्यमन्त्री कार्कीले जिसस प्रमुखको अधिकार खोसेका हुन् । यसअघि ऐनमा प्रदेश मातहतका सरकारी अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष जिल्ला समन्वय समितिको प्रमुख हुने प्रावधान थियो । तर मुख्यमन्त्री कार्की सरकारी अस्पताल व्यवस्थापन समितिको अध्यक्ष प्रदेश सरकारले नियुक्त गर्ने गरी अध्यादेश मार्फत संसोधन गरेका छन् ।

ऐन संसोधन भएका कारण अब प्रदेशमा रहेका सरकारी अस्पतालको व्यवस्थापनका लागि प्रदेश सरकारले अध्यक्ष नियुक्त गर्नेछ । एक महिलासहित तीन जना सदस्य पनि सरकारले नै नियुक्त गर्नेछ । यसरी नियुक्त भएका अध्यक्ष र तीन जना सदस्यको कार्यकाल दुई वर्षको हुनेछ ।

यसअघिको ऐनमा भने जिसस प्रमुख अध्यक्ष हुने प्रावधान भएका कारण अध्यक्षको कार्यकाल तोकिएको थिएन् । ऐनमा स्थानीय समाजसेवी मध्येबाट पाँच जना सदस्य नियुक्त गर्ने र उनीहरुको पदावधी तीन वर्ष हुने उल्लेख थियो । अध्यक्ष आफै नियुक्त गर्नेगरी ऐन संसोधन गरेको सरकारले तीन जना सदस्य नियुक्त गर्ने र नियुक्त अध्यक्ष तथा सदस्यको पदावधी दुई वर्षको हुने व्यवस्था गरेको छ । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई प्रदेश सरकारको कार्य आपत्तिजनक रहेको बताए । अध्यादेश जारी भएपछि जिसस महासंघबाट विरोध भइरहेको बताउँदै उनले भने,‘यसमा हाम्रो आपत्ती छ, महासंघको तर्फबाट लडिरहेका छौं ।’

एमालेको पनि आपत्ति

जिसस प्रमुखको अधिकार कटौती गर्ने र प्रदेशसभा पदाधिकारी थप गर्नेगरी अध्यादेश जारी भएपछि नेकपा एमालेले आपत्ति जनाएको छ । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारले जारी गरेको अध्यादेश आपत्तिजनक रहेको बताए । ‘यो अध्यादेशका विषयमा हाम्रो गम्भीर आपत्ति छ,’ उनले भने, कोशीअनलाइन

 

२०८० माघ १५, सोमबार प्रकाशित 1 Minute 113 Views

ताजा समाचार