२०८० फाल्गुन १८ शुक्रबार

बिर्तामोडमा नक्कलीसँग सक्कली सुन साटेपछि…

झापाको बिर्तामोड- ५ स्थित हनुमान सेन्टर नजिकै एक समूहले एक वृद्धा महिलालाई नक्कली सुन दिएर सक्कली सुन लिएर फरार भएका छन् ।

आइतबार अपराह्न बिर्तामोड ५ स्थित ७१ वर्षीया विष्णुमाया सुवेदीले लगाएको सुनको डेढ तोलाको ब्रासलेट र औँठी लिएर तीन/चार जनाको समूह फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार ३/४ जनाको सङ्ख्यामा रहेका व्यक्तिले नक्कली सुन देखाएर वृद्ध महिलाले लगाएको सक्कली सुन लिएर फरार भएका छन् । वृद्धा महिलालाई सुन जस्तो देखिने नक्कली सुनको ढिक्का दिई उनले लगाएको सुन लिएर फरार भएको प्रहरीले जनाएको छ ।

सुन लिएर फरार भएपछि वृद्धा महिलाले आफू ठगिएको महसुस गर्दै इलाका प्रहरी कार्यालयमा जानकारी गराएसँगै घटनामा संलग्नहरूको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । ठगी गर्ने समूहले बिस्कुट जस्तो देखिने ढिक्का सुन देखाएर महिलाले लगाएका गर गहनाहरू लिएर भागेको बताइएको छ ।

२०८० माघ १४, आईतवार प्रकाशित 1 Minute 144 Views

ताजा समाचार