२०८१ असार १ शुक्रबार

बिहे गर्न नमान्दा अर्जुनधारामा मायाको हत्या, बिर्तामोडका प्रसाई पक्राउ

झापा । बिहे गर्ने प्रस्ताव स्वीकार नगर्दा झापाको अर्जुनधारा ६ मा ५० वर्षीया माया पुलामी मगरको हत्या भएको खुलेको छ । मायाको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न बिर्तामोड ८ गरामनी स्थायी वतन भई बिर्तामोड ५ मा डेरा गरी बस्ने ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । त्यसक्रममा उनले विवाह गर्ने प्रस्ताव गर्दा मायाले नमानेपछि हत्या गरेको कुरा खुलेको हो ।

अविवाहित प्रसाई कामको सिलसिलामा भारतको आसाम डिब्लुगढमा १७ वर्ष काम गरी २०७२ सालमा बिर्तामोड फर्किएका थिए । उनी बिर्तामोड ५ हर्कलाल मार्गस्थित दिलु मुखियाको निर्माणाधीन घरमा कामको सिलसिलामा अस्थायी बस्ने गरेका थिए ।

प्रसाईको माघ ६ गते माया र उनको साथी एन राईसँग बिर्तामोड १ पश्चिम स्टेण्डमा भेट भएको थियो । एन राईले प्रसाई र मायाबीच शारीरिक सम्वन्ध राख्न सहमति गराई प्रसाईले आफ्नो कोठामा लगेर निर्माणाधीन घरको दोस्रो तलामा एक पटक शारीरिक सम्बन्ध राखेका थिए ।

सोही समयमा मायासँग माघ ७ गते राति भेटने सल्लाह भएको र प्रसाईले मायालाई खोज्दै उनी बस्ने ठाउँतिर जाँदा अर्जुनधारा ६ पुलचौकमा मायासँग भेटघाट भई गफगाफ गर्दै घटनास्थलतर्फ लगेको उनको बयानमा छ ।

केही समयपछि बीग ब्रदर लेखिएको व्याटमिन्टन खेल्ने हलको ढोका छेउमा बसी कुराकानी गर्ने क्रममा प्रसाईले मायासँग विवाह गर्ने प्रस्ताव गर्दा मायाले प्रसाईको दाहिने आँखामा हातले हानेकी थिइन् । आँखामा चोट लागेपछि प्रसाईले मार्ने नियत राखी सडकमा रहेको ढुङ्गा टिपी मायाको टाउकोमा पटक पटक प्रहार गरी हत्या गरेका थिए ।

ढुंगा शव रहेको ठाउँबाट उत्तरतर्फ बारीमा फ्याँकेको र फरार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डीएसपी सुरज कार्कीले बताए । प्रसाईलाई हिजो पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

२०८० माघ १४, आईतवार प्रकाशित 0 Minutes 221 Views

ताजा समाचार