
काँकरभिट्टा । काँकरभिट्टा माविको ५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवश समारोह आइतवार सम्पन्न भएको छ ।
कोशी प्रदेशका सांसद गोपाल तामाङको प्रमुख आतिथ्य एवं विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष होमबहादुर विष्टको अध्यक्षतामा समारोह सम्पन्न भएको हो ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा वार्षिकउत्सव विशेष खेलकुद सप्ताहमा आयोजित विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरियो ।
मेचीनगर नगरपालिकाकी शिक्षा अधिकृत पवित्रा ढकालको आतिथ्यता रहेको कार्यक्रममा विद्यालयले बिवश दाहाललाई २०८० को सर्वोत्कृष्ट विद्यार्थी र वर्ष उत्कृष्ट विद्यार्थीका रुपमा तपश निरौलालाई प्रशंसापत्रसहित पुरस्कृत गरेको थियो ।
त्यस्तै, शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षामा सहभागी भएका कक्षा ६, ७ र ९ का विद्यार्थीहरुमध्ये कक्षा ९ को परीक्षामा सम्मिलित भई छात्रतर्फ कूल ३.८५ जीपीएसहित सर्वोत्कृष्ट स्थान हासिल गर्ने बिवश दाहाललाई नगदराशी ३६ सय रुपैयाँसहित प्रशंसापत्र प्रदान गरियो ।
समारोहको सन्दर्भ पारेर विद्यालयले शिक्षिका भिमादेवी भेटवाललाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेको थियो भने स्व. देवीमाया भट्टराईलाई (मरणोपरान्त) दाताको रुपमा सम्मान गर्यो ।
त्यस्तै, वर्ष उत्कृष्ट अभिभावकका रुपमा विष्णुमाया गहतेलाई नगद ३ हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरियो भने चित्रकला प्रशिक्षक अनिल विष्ट सम्मानित भएका थिए ।
सोही अवसरमा विद्यालयको बाल क्लबद्वारा सम्पादित तथा प्रकाशित चौमासिक पत्रिका काँकरभिट्टा मावि दर्पण सार्वजनिक गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष होमबहादुर विष्टद्वारा अध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको समारोहमा विद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले स्वागतसहित औचित्यबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पूर्वअध्यक्षहरु, पूर्वप्रधानाध्यापकहरु, पूर्व विद्यार्थी समाजका अध्यक्ष एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सञ्चालन शिक्षक मदन अधिकारीले गरेका थिए ।