२०८१ माघ २६ शनिबार

भन्सार दिवश समापन समारोह : राजस्व चुहावट नियन्त्रणमा खुल्ला सीमा मुख्य चूनौति : प्रजिअ बाँस्तोला

काँकरभिट्टा । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले राजस्व चुहावट नियन्त्रणमा सम्बन्धित पक्षबाट अथक प्रयास भइरहँदासमेत खुल्ला सीमा नै मुख्य चूनौति देखिएको बताएका छन् ।

मेची भन्सार कार्यालयद्वारा शुक्रवार आयोजित ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवश समापन समारोहमा प्रमुख अतिथि रहेका उनले यस्तो बताएका हुन् ।

“राजस्व गुम्न नदिन भन्सारमा अत्याधुनिक प्रणाली लागू भई कार्यान्वयनमा आएको छ” राजस्व चुहावट नियन्त्रण समितिका जिल्ला अध्यक्षसमेत रहेका बाँस्तोलाले भने, “तर, जिल्लाको करिब १ सय ४४ किलोमिटर खुल्ला सीमाले नियन्त्रण प्रयास प्रभावकारी भएको छैन ।”

परम्परागत आयातमा आधारित अर्थतन्त्रमा अहिलेसम्म राजस्वको मूल स्रोत नै भन्सारलाई मानिएको उल्लेख गर्दै उनले मेची भन्सार आयातभन्दा निर्यातमुखी बनेको बताए ।

प्रजिअ बाँस्तोलाले राजस्व छरिन नदिन र व्यवसायीको पनि हित हुने वातावरण बनाउनतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिँदै मुलुकको राजस्व प्रवद्र्धनका लागि सबैपक्ष जिम्मेवार बन्नुको विकल्प नरहेको बताए ।

समारोहमा विशिष्ट अतिथि रहेकी भारत नक्सलबाडी कस्टम डिभिजनकी असिस्टेन्ट कमिस्नर निमा ल्हामू शेर्पाले दुई देशबीचको आयात–निर्यातका उल्झन सुल्झाउन, दुवैतर्फको राजस्वमा बढोत्तरीलगायतका विषयमा सघन छलफलको आवश्यकता औंल्याइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य केशवराज पाण्डेले नेपालका भन्सार आधुनिक ढंगले विकास गरिरहँदा सरोकारवाला सबैपक्षको आचारण पनि सुध्रिँदै जानुपर्ने धारणा राखे ।

“भन्सार तिर्दासमेत सामानको मूल्य भारतमा भन्दा नेपालमा ३० प्रतिशत सस्तो पर्न जान्छ” नेपाली कांग्रेस झापाका कार्यवाहक सभापतिसमेत रहेका पाण्डेले भने, “तर, पनि गलत बाटोबाट ल्याउने परिस्थिति छँदैछ, अपेक्षाकृत राजस्व नउठ्नुको एउटा कारण यो पनि हो ।”

महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले सान्दर्भिक मूल्य नीतिका कारण राजस्व संकलनमा ह्रास आएको तर्क गर्दै यो नीति हटाउँदै बिलविजकलाई मान्यता दिइनुपर्नेमा जोड दिए ।

चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष ओमकृष्ण विमलीले केही नीतिगत समस्याका कारण राजस्व घटेर भन्सार मारमा परेको बताउँदै स्वदेशी उत्पादनको प्रवद्र्धनबाट राजस्व वृद्धिमा योगदान पुग्ने बताए ।

सो अवसरमा मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले भन्सार दिवशमा मेची भन्सारले सामाजिक दायित्व अन्तर्गत समाजका विभिन्न क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गर्दै उक्त कार्यको प्रशंसा गरे ।

समापन समारोहको सन्दर्भ पारेर भन्सारले सीमाक्षेत्र र भन्सारसँग सम्बन्धित विषयमा कलम चलाएबापत पत्रकारहरु मुक्ति पौडेल, लक्ष्मी उप्रेती र अम्बिका भण्डारीलाई सम्मान गरेको छ ।

यस्तै, गतवर्ष सर्वाधिक राजस्व दाखिला गर्ने नेपाल आयल निगम चारआली शाखाका प्रमुख शरणराज भट्टराई, गतवर्ष सर्वाधिक मूल्यको मालवस्तु निकासी गर्ने आरती स्ट्राइप्स प्रालि टंकिसिनुवारी मोरङका कार्यकारी प्रमुख विशाल गुप्ता र गतवर्ष सर्वाधिक मूल्यको कृषिजन्य मालवस्तु निकासी गर्ने नेपाल एभरेष्ट कार्डामम प्रडक्सन एण्ड प्रोसेसिङ प्रालिका ओमकृष्ण विमली सम्मानित भए ।

त्यस्तै, भन्सार विभागबाट पुरस्कृत भएका एभरग्रिन ट्रेड सेन्टरका प्रोपाइटर केशवराज पाण्डे र मेची भन्सारका कम्प्युटर अपरेटर श्याम रिजाललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरियो ।

सो अवसरमा मेची भन्सारका कर्मचारीतर्फ कम्प्युटर अधिकृत चन्द्रबहादुर क्षेत्री, नायब सुब्बा लक्ष्मण तामाङ र भद्रपुर भन्सारकी कार्यालय सहयोगी रिता खवास कार्कीलाई सम्मान गरियो ।

त्यसक्रममा दिवश लक्षित साताव्यापी कार्यक्रम अन्तर्गत मेचीनगरस्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिताको व्यवस्थापन तथा संयोजन गर्ने मेची सामुदायिक सेवा केन्द्र र पुरस्कार प्रयोजन गर्ने ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालिलाई प्रशंसापत्र प्रदान गरियो ।

यस्तै, रक्तदान कार्यक्रमको प्रायोजन तथा व्यवस्थापन गर्ने रोटरी क्लब अफ काँकरभिट्टा, सरोकारवालाबीचको अन्तक्र्रियाको संयोजन तथा प्रायोजन गर्ने मेची उद्योग वाणिज्य संघ, जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको व्यवस्थापन तथा संयोजन गर्ने मेची ब्याडमिन्टन क्लब र पुरस्कार प्रायोजन गर्ने मेची भन्सार एजेन्ट संघलाई प्रशंसापत्र दिइयो ।

कार्यक्रममा वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका सरस्वती बाल कल्याण माविका चिरञ्जीवी कोइराला, द्धितीय भएका बाल सुबोधिनी माविका रमेश नेपाल र तृतीय भएकी कविशिरोमणि माविकी उषा निरौलालाई जनही पुरस्कारराशी क्रमशः ५, ४ र ३ हजाररुपैयाँसहित प्रशंसापत्र प्रदान गरियो ।

यस्तै, ब्याडमिन्टन प्रतियोगितामा प्रथम भएका बिर्तामोडका चाणक्य पाठक र उत्सव उप्रेती, द्धितीय भएका मेचीनगरका दीपक घिमिरे र भिसन राई तथा तृतीय भएकाहरु दमकका प्रकाश राई र सुदेन राई एवं कुशल बस्नेत र जुनुन राईको जोडीलाई जनही पुरस्कारराशी क्रमशः २५, १५ र ५ हजाररुपैयाँसहित प्रशंसापत्र प्रदान गरियो ।

समापन कार्यक्रममा मेचीनगर नगरपालिकाका पूर्वप्रमुख विमल आचार्य, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी दीपक भारती, प्रस्तावित गण काँकरभिट्टाका सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र खनाल, राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझा, आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्ले, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल २ नं. गण हेड क्वाटर झापाका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौलालगायतको आतिथ्यता थियो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको अध्यक्षतामा भएको समारोहमा स्वागत भद्रपुर भन्सार कार्यालयका अधिकृत अमित तिवारी र सञ्चालन मेची भन्सारका नायब सुब्बा वीपी कोइरालाले गरेका थिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख भन्सार अधिकृत रेग्मीले साताव्यापी कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवादसहित आभार प्रकट गरेका थिए ।

 

२०८० माघ १२, शुक्रबार प्रकाशित 1 Minute 393 Views

ताजा समाचार