२०८१ बैशाख १२ बुधबार

पेरुमा प्रदर्शन जारी, राष्ट्रपतिले राजीनामा नदिने

लिमा । एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन् ।

पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच देशका विभिन्न भागमा भएका झडपमा एक प्रहरीसहित ४२ जना सर्वसाधारणको मृत्यु भइसकेको छ ।

राष्ट्रव्यापी रूपमा भइरहेका विरोध प्रदर्शनका क्रममा भएका दोहोरो झडपमा ५३१ जना घाइते भएका तथा ३२९ जनालाई पक्राउ गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

गएको मंसिर २१ गते वामपन्थी राष्ट्रपति कास्टिलोका महाअभियोगसँगै गिरफ्तारीमा परेपछि उपराष्ट्रपति डिना बोलुअर्टेले राष्ट्रपतिका रूपमा शपथ लिएकी थिइन् । सोही दिनदेखि देशभर हिंसात्मक प्रदर्शन प्रारम्भ भएको हो ।

पूर्वराष्ट्रपति कास्टिलोका समर्थकहरूले बोलुअर्टेलाई राजीनामा तथा आफ्ना नेताको रिहाइसँगै आम निर्वाचनको घोषणा हुनुपर्ने माग गरेका छन् । आफू राष्ट्रपति बनेको एक सातापछि देशमा भड्किएको हिंसा रोक्ने प्रयासस्वरूप उनले एक महिनासम्म देशमा आपत्काल लागु गरिएको घोषणा गरेकी थिइन् । तर, आन्दोलन मत्थर भएन ।

आन्दोलनबाट सबैभन्दा बढी प्रभावित क्षेत्र अयाकुचोमा राजनीतिक प्रभाव भएको अयाकुचो पिपल्स डिफेन्स फ्रन्टका अध्यक्ष रोसियो लिआन्ड्रो मेलगरलाई पक्राउ गरिएपछि हिंसात्मक गतिविधि बढेका छन् ।

हिंसा भड्किन नदिन सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने त्यसको अनुसन्धान पनि भइरहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । उक्त कार्यालयले मानव हताहतीका जिम्मेवारी निर्धारण गर्न आठ शिराबाट अनुसन्धान सुरु गरेको जनाएको छ ।

यसैबीच, राष्ट्रपति बोलुअर्टेले पदबाट राजीनामा नगर्ने बताएकी छन् । राज्यसञ्चालित टेलिभिजन प्रसारणमा शुक्रबार उनले देशका निम्ति आफ्नो दायित्व भएकाले राजीनामा नगर्ने दृढता व्यक्त गरिन् । देशमा बढिरहेका हिंसात्मक गतिविधिप्रति उनले चिन्ता व्यक्त गरेकी छन् ।

देशको पछिल्लो स्थिति तथा आन्दोलनकारीले एक प्रहरी अधिकारीलाई जिउँदै जलाएर मारेको घटनाप्रति राष्ट्रपतिले पेरुका जनतासँग क्षमायाचना गरेकी छन् । रासस/सिन्ह्वा/एएफपी

२०७९ पुष ३०, शनिबार प्रकाशित 0 Minutes 223 Views

ताजा समाचार