काँकरभिट्टा । ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवशको अवसर पारेर सरोकारवाला पक्षबीच बिहीवार अन्तक्र्रिया भएको छ ।
मेची भन्सार कार्यालय र मेची उद्योग वाणिज्य संघले कार्यालयको सभा कक्षमा संयुक्तरुपमा अन्तक्र्रिया आयोजना गरेका हुन् । नेपाल प्लाइउड संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो ।
सो अवसरमा प्रमुख अतिथि घिमिरेले वैध वस्तुको आयातमा बढेको करका कारण उद्योगी एवं व्यवसायी मारमा परेको बताए । भन्सारले लिएको लक्ष्य हासिल गर्ने क्रममा थपिएको करले उद्योगी/व्यवसायी संकटमा परेका उनको भनाई थियो ।
त्यसक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै मेची भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले कर प्रणाली सुधारबारे उपयुक्त सुझावको अपेक्षा गरे ।
सो अवसरमा प्रमुख भन्सार अधिकृत रेग्मीले सीमा क्षेत्रमा जाँचको प्रक्रिया परम्परागत र स्वाभाविक भएको प्रस्ट्याउँदै झन्झटिला विषय सहजीकरण गर्ने पाटो छुट्टै भएको बताए ।
नाका पूर्णरुपमा नखुल्नुलगायत विविध कारणले राजस्व संकलनमा भन्सारले लिएको प्रगति सन्तोषजनक नरहेको उनको भनाई थियो । अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले भन्सारसँग सम्बन्धित विविध विषयमा जिज्ञासा र सुझावसहितको धारणा राखेका थिए ।
कार्यक्रममा मेची उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैनले निर्यात गरिएका नेपाली वस्तु तथा उत्पादनलाई भारतीय पक्षले गुणस्तर प्रमाणपत्र नदिने गरेको समस्या राखे । व्यवसायी सूर्यप्रकाश उप्रेतीले सेवाग्राहीले सरल र सहजरुपमा शीघ्र सेवा पाउन झन्झटिला प्रक्रिया अन्त्य गर्न माग गरे ।
अर्का व्यवसायी नारायण बस्नेतले कोभिडपछि भारतीय पक्षबाट नेपालीलाई सहज आवतजावतमा समस्या उत्पन्न भएकाले सहजीकरण गर्न अनुरोध गरे । व्यवसायी गणेश खरेलले मेची भन्सारको एक्सरे मेशिनलाई पुनः सञ्चालनमा ल्याई जाँच प्रक्रिया सहज बनाउन माग गरे ।
नाइट चेस क्लवका अध्यक्ष विश्वविजय घिमिरेले उत्पादन घटेर आयात गर्नुपर्ने परिस्थितिले नेपालीको भान्सा महँगो भएको बताए । दैनिक उपभोग्य वस्तुमा भारतकै भर पर्नुपरेकाले महँगी बढेको उनको भनाई थियो ।
मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नविन कोइरालाले भारतीय आयल निगमले पठाएको पेट्रोलियम पदार्थ चारआली डिपोमा आइपुग्न ढिलाई भइरहेको बताए । चेम्बर अफ कमर्स मेचीनगरकी अध्यक्ष रुक्मिणि पोखरेलले दैनिक उपभोग्य वस्तुमा भन्सारले लिँदै आएको करको दर घटे सर्वसाधारणलाई राहत मिल्ने बताइन् ।
नेपाल भेनियर उत्पादक संघका वरिष्ठ उपाध्यक्ष श्याम न्यौपानेले उत्पादीत भेनियर स्वदेशमा ४० प्रतिशत मात्रै खपत भई ६० प्रतिशत खेर गइरहेको बताए ।
खपत भई बाँकी रहेको उत्पादन निर्वाध निर्यात गर्न सकिए व्यापार घाटा कम गर्न सहज हुने बताए ।
अन्तक्र्रियामा आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्ले, मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला, माइती नेपाल काँकरभिट्टाका प्रमुख गोविन्द घिमिरे, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपक भारती, सशस्त्र प्रहरी प्रस्तावित गुल्म काँकरभिट्टाका प्रमुख एवं सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र खनाल, ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका इञ्चार्ज एवं ट्राफिक प्रहरी नायव निरीक्षक मनमोहन पौडेललगायतको उपस्थिति थियो ।
मेची उद्योग वाणिज्य संघका सदस्य सन्तोष खवासले आयात निर्यातमा देखिएका समस्या समाधानका लागि उचित पहल गर्न आग्रह गरे । आयोजक संघका अध्यक्ष खेमराज प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।
संघका कार्यकारी प्रमुख गोपाल बस्नेतले छलफलबाट प्राप्त सुझाव उद्योग तथा व्यवसायमा देखापरेका समस्या निराकरण गर्न सहयोगी बन्ने विश्वास व्यक्त गरे ।
मेची भन्सार कार्यालयले सामाजिक दायित्व अन्तर्गत ७२ अन्तर्राष्ट्रिय भन्सार दिवशको अवसर पारेर शिक्षा, स्वास्थ्य, खेलकुद, सरसफाई, वक्तृत्वकला, रक्तदान, अन्तक्र्रियालगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रवार हुने समापन कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन र प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।